संक्रमण रोक्न गम्भीर बनौं

प्रदेश नं. ५ मा ढिलो गरी आएको कोरोना संक्रमणले डरलाग्दो रुप धारण गरेको छ । नेपालगञ्जमा जुन रुपमा र संख्यामा कोरोना देखियो, त्यसले नेपालगञ्ज र आसपासका जिल्लाहरुमा एकप्रकारको त्रास देखिएको छ । नेपालगञ्ज बजारमा ‘चरो मुसो’ समेत देखिन छाडेको जानकारी त्यहाँरुाट गराइएको छ । दाङमा समेत एकप्रकारको त्रास र सतर्कताका उपायहरु देखिन थालेको छ । नेपालगञ्जबाट आएकाहरुको खोजिगरेर परीक्षणको सुरुवात नै भएको छ । यो सकारात्मक हो । तर ध्यान दिनुपर्ने कुरा के हो भने संक्रमणबाट जोगिन सतर्कता नै पर्याप्त छ । मनमा त्रास पालेर कुनै समाधान हुने छैन । मानिसको मनको त्रास फाल्नका लागि सतर्कतापूर्वक संक्रमण नियन्त्रणका लागि प्रभावकारी प्रयासहरु प्रारम्भ हुनु आवश्यक हुन्छ ।

यो प्रक्रियामा नागरिक पनि त्रास पालेर बस्नेभन्दा सतर्कताका साथ संक्रमणको सम्भावनालाई कम बनाउन सक्रिय बनाउनु पर्छ । नेपालगञ्जबाट आएका एकजना परीक्षण गराउन खोज्दा भागेको भन्ने खबर दिनभर फैलियो । यस्तो प्रवृत्ति सर्वथा गलत हो । यो प्रवृत्तिले कुनै पनि हालतमा कसैलाई सहयोग गर्दैन । यस्तो असहयोगी स्वभाव देखिनथाल्यो भने इमानदारीका साथ कोरोना संक्रमण विरुद्धको लडाईमा संलग्नहरु निराश हुने छन् । नागरिकबाट अपार सहयोग र सतर्कता प्रदर्शन हुनु जरुरी छ । त्यसैगरी स्थानीय प्रशासन पनि माथिको आदेश पर्खेर बस्ने होइन, यहाँको वस्तुगत अवस्थाका अधारमा ‘क्वीक डिसिजन’ गर्नसक्ने गरी प्रस्तुत हुन आवश्यक छ । यसका लागि सूचना प्रणालीलाई बलियो गराएर आफू सशक्त रुपमा उभिनु पर्दछ । दाङको सन्दर्भमा अहिलेसम्मको प्रशासनिक भूमिकामा प्रश्न उठाउने ठाउँ छैन, खतराको घण्टी जोडसँग बज्ने हो कि भनेर आशंका गर्दै गर्दा प्रशासनको थप सक्रिय भूमिका अपेक्षित हुनु भने स्वभाविक नै हो । यसैगरेर कोरोना परीक्षणका लागि योग्य मानिएको ल्याव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापित भइसकेको अवस्थामा पिसिआर परीक्षणको दायरा बढाउन अब कुनै विलम्ब गर्नु हुँदैन ।

कोरोना संक्रमण विरुद्धको लडाई साझा लडाई हो । यो लडाईमा सहकार्य हुन जरुरी छ । यसका लागि सबैभन्दा पहिले हरेक नागरिक जिम्मेवार हुन आवश्यक हुन्छ । सूचनाहरु सकेसम्म नगरिकलाई पु¥याउने सन्दर्भमा मिडियाहरुको भूमिका पनि असहज बेला बढी नै हुन्छ र मिडियालाई आवश्यक सूचना दिनका लागि सबै निकायहरु गम्भीर बन्नुपर्छ । यो अवस्थाको विश्लेषण गरेर सबैले आ–आफ्नो भूमिका निर्धारण गर्न सक्नु पर्छ । यसरी भूमिका निर्वाह गर्दै गर्दा त्यसको केन्द्रविन्दू कोरोना संक्रमण नियन्त्रणमा योगदान पुगोस् भन्ने नै हुनु पर्दछ । सहज ढङ्गले, छरितो रुपमा सही सूचना उपलब्ध गराउने कुरालाई सबैले ध्यान देऔँ । सामाजिक दूरी कायम गर्ने कुरा त छँदै छ ।