लमहीको सुनडबरीमा पशु उपशाखा केन्द्र उद्घाटन

प्रिया स्मृति गजमेर
देउखुरी, २१ जेठ । लमही नगरपालिका–१, २ र ३ का पशुपालक कृषकहरूका लागि अब पशु सेवा लिन लमही बजारसम्म धाउनुपर्ने झन्झट हटेको छ । सेवा गाउँमै उपलब्ध गराउने उद्देश्यले लमही नगरपालिकाले मङ्गलवार वडा नम्बर १ सुनडबरीमा पशु उपशाखा केन्द्रको औपचारिक रूपमा उद्घाटन गरेको हो ।

विशेष समारोहका बिच नगर प्रमुख जोगराज चौधरीले केन्द्रको उद्घाटन गर्दै स्थानीय स्तरमै सेवा उपलब्ध गराउनु नै जनमुखी शासनको उद्देश्य भएको बताए । ‘अब कृषकहरू लमहीसम्म आउनुपर्ने बाध्यताबाट मुक्त हुनेछन्’, नगर प्रमुख चौधरीले भने, ‘हामी नागरिकको घरदैलोमै सेवा पु¥याउने प्रतिबद्धताका साथ अघि बढिरहेका छौँ ।’

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले पनि यो पहललाई सेवा सन्तुष्टिको उत्कृष्ट नमुना भएको उल्लेख गरे । उनले भने, ‘सेवा जब आफ्नै वडामा उपलब्ध हुन्छ, यसबाट कृषकको आत्मबलमा सकारात्मक प्रभाव पर्छ । यो वास्तविक रूपमा नागरिक केन्द्रित प्रशासन हो ।’

लमही नगरपालिका वडा नं. १ का वडाध्यक्ष दामोदर पौडेलले सुनडबरीमा उपशाखा खुले यसकोे सेवा क्षेत्र व्यापक भएको बताए । उनले वडा नं. १, २ र ३ का कृषकलाई एक जना प्राविधिकले सम्हाल्न कठिन हुने बताउँदै सेवा प्रभावकारी बनाउन प्राविधिक सङ्ख्या बढाउनु पर्नेमा जोड दिए ।
त्यसैगरी लमही वडा नं. ३ का अध्यक्ष मनोजकुमार चौधरीले कृषकहरू पहिले ससाना समस्याका लागि लमही बजारसम्म जानुपर्ने बाध्यताबारे चर्चा गर्दै अब समय र खर्च दुवै बचत हुने उल्लेख गरे । लमही वडा नं. ५ का अध्यक्ष ओमप्रसाद सुवेदीले पशुपालन क्षेत्रलाई व्यवस्थित गर्न, आधुनिक सेवा पु¥याउन र स्थानीय उत्पादनमा वृद्धि ल्याउन उपशाखा केन्द्रहरू प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

पशु शाखा प्रमुख शिवराज न्यौपानेका अनुसार उपशाखा स्थापना गर्नु विकास र सेवा दुवैलाई घरदैलोमै पु¥याउने योजना अनुरूपको पहल हो । ‘सेवा गाउँमै पाउँदा कृषकको आत्मविश्वास बढ्छ र व्यवसायमा थप प्रेरणा मिल्छ, जुन दिगो विकास तर्फको पाइला हो’, उनले भने । पशु उपशाखा केन्द्रमा हाल एक जना प्राविधिक खटाइएका छन् ।

उनले पशु स्वास्थ्य सेवा, परामर्श, औषधी वितरण, कृत्रिम गर्भाधानलगायतका सेवा उपलब्ध गराउने छन् । स्थानीय कृषकले केन्द्रको स्थापना भएकोमा खुसी व्यक्त गर्दै यसले पशुपालन व्यवसायमा थप सहजता ल्याउने विश्वास व्यक्त गरेका छन् । नगरपालिकाका अनुसार कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै उत्पादन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढ पार्ने लक्ष्य लिएको छ ।