उपमहानगरसँग थारू भाषामै सूचना माग

गोरक्ष समाचारदाता
दाङ, २१ जेठ । विपुल पोख्रेलले घोराही उपमहानगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने निर्णयको लिखित रूपमा सूचनाको हक प्रयोग गरेर सूचना माग गरेका छन् ।

घोराही उपमहानगरपालिका–१८ महदेवा निवासी पोख्रेलले मङ्गलवार उपमहानगरपालिकाका बरिष्ठ तथ्याङ्क अधिकृत भीमबहादुर चौधरीलाई थारू भाषामा लेखिएको पत्र बुझाएका छन् । उनले फोहोर व्यवस्थापनको निर्णयसम्बन्धी विस्तृत विवरण र जवाफसमेत थारु भाषामै माग गरेका छन् ।

उनले आफ्नो मातृभाषामा सरकारी सेवा लिने अधिकारको प्रयोग गर्दै स्थानीय सरकारको पारदर्शितामा योगदान पु¥याउने गरी लिखित माग गरिएको बताए । पोख्रेलले यस अघि पनि दुई पटक घोराही उपमहानगरपालिकासँग थारू भाषामै सूचनाको हक प्रयोग गरेर जवाफ माग गरेका थिए ।

बरिष्ठ तथ्याङ्क अधिकृत चौधरीले पत्र बुझ्दै जति सक्यो चाँडै माग गरिएको विषयबारे जानकारी गराउने बताए । यसले स्थानीय सरकारको सकारात्मक दृष्टिकोण र नागरिकको हकप्रति सम्मानजनक व्यवहारलाई देखाउने भन्दै चौधरीले माग गरिएको सम्पूर्ण विवरण थारू भाषामै उपलब्ध गराउने बताएका थिए ।