गोरक्ष समाचारदाता
दाङ, २१ जेठ । घोराही उपमहानगरपालिकालाई पूर्णखोप सुनिनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । उपमहानगरका १९ वटै वडा पूर्णखोप सुनिश्चितता वडा भएको प्रमाणीकरणसँगै सम्पूर्ण पालिकालाइ जिल्ला खोप समन्वय समितिले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र प्रदान गरेको हो ।
मङ्गलवार आयोजित घोषणा सभामा प्रमुख अतिथि तथा खोप समन्वय समितिका संयोजक नित्यानन्द शर्माले घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीलाइ पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका हुन् । उपमहानगरका सबै वडाहरू यस अघि नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भए पनि मङ्गगलवार मात्रै ती वडाका स्वास्थ्य संस्थाहरूलाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रमुख नरुलाल चौधरीले सबै वडाका स्वास्थ्य संस्थाहरूलाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका थिए । यो वर्ष घोराही उपमहानगरपालिकाका चार हजार आठ सय ३२ जना बालबालिकालाई नेपाल सरकारको पूर्णखोप निर्देशिका अनुसारका सबै खोपहरू लगाइएको स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले जानकारी दिएकी छिन् ।
खोज र खोपको अभियान गत साउन महिनादेखि नै माइक्रोप्लान बनाएर यहाँसम्म आइपुगेको उनले बताइन् । यो महान अभियानका क्रममा यो वर्ष पनि खोज्दै जाँदा पाँच जना बालबालिकाले कुनै पनि खोप नलगाएको र ४५ जना बालबालिकाले केही खोप छुटाएको भेटिएपछि सबैलाई खोप लगाएपछि घोराही उपमहानगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
घोषणा सभामा बोल्दै प्रमुख अतिथि तथा जिल्ला खोप समन्वय समितिका संयोजक नित्यानन्द शर्माले नेपाल सरकारले आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा स्थापित गरेको र पूर्ण खोप पनि आधारभूत स्वास्थ्य सेवाभित्र पर्ने भएकाले लक्षित समूहका सबै बालबालिकालाई पूर्णखोप तालिका अनुसार खोप उपलब्ध गराउन आग्रह गरे ।
‘पूर्णखोप कार्यक्रम नेपाल सरकारको पहिलो प्राथमिकता प्राप्त कार्यक्रम हो, त्यसैले यसलाई कार्यान्वयन गर्न स्थानीय सरकारले पहिलो प्राथमिकतामा राख्न मैले खोप समिति संयोजकको संयोजकको नाताले सबै स्थानीय सरकारलाई आग्रह गर्दछु’, प्रमुख अतिथि शर्माले भने । मुलुकको समग्र समृद्धिका लागि भौतिक विकाससँगै मानव संसाधनको विकासलाई सँगसँगै लैजानुपर्ने उनको आग्रह थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले घोराही उपमहानगरपालिकाको स्वास्थ्य शाखाले यति धेरै मिहिनेत गरेर पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा आयोजना गर्न सफल भएकोमा धन्यवाद व्यक्त गरे । ‘पाँचजना बालबालिका शून्य डोजका भेटिनु र ४५ जना बालबालिका ड्रपआउट भेटिनुमा तपाईंहरूले पक्कै पनि मिहिनेत गरेको हुनुपर्छ, किनकि शून्य डोज भेटिनु भनेको बालुवामा सुन खोजेजस्तै हो’, स्वास्थ्य कार्यालय दाङका प्रमुख आचार्यले भने ।
आफ्नै अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिका प्रमुख चौधरीले घोराही उपमहानगरपालिकाले स्वास्थ्य संवेदनशिलतामा विशेष महत्व दिने बताउँदै पूर्णखोपसँगै महिलामा हुने पाठेघरको क्यान्सरको स्क्रीनिङ, स्तन क्यान्सरको स्क्रीनिङ, आँखा रोग उपचार तथा नसर्ने रोगको सचेतना विषयमा उपमहानगरपालिकाले अभियान थालेको बताए ।
‘हामी भौतिक विकाससँगै मानवीय विकासमा अत्यन्तै संवेदनशील छौँ, त्यसमा पनि महिला तथा बालबालिकाको स्वास्थ्य संरक्षणलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ’, प्रमुख चौधरीले भने । कार्यक्रममा घोराही उपमहानगरपालिका मातहतका सम्पूर्ण स्वास्थ्य संस्थाको तर्फबाट घोराही उपमहानगरपालिका वडा नं १ काँडाखुटीका स्वास्थ्य प्रमुख बालाराम रोकाले बोलेका थिए भने कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक बहरूलाल चौधरीले गरेका थिए । घोराही उपमहानगरपालिकाले कुपोषण व्यवस्थापनमा प्रभावकारी कार्यक्रमसँगै हिंसा पीडितका लागि स्वास्थ्योपचार सेवा, परामर्श सेवा समेत सञ्चालन गर्दै आएको छ ।