दाङ,२० जेठ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा देशव्यापी रुपमा भएको आन्दोलनअन्तर्गत दाङमा थप कडा बनाउने भएको छ ।
राइट शेयरिङ नियमावलीसहित सात बुँदे मागहरू प्रस्तुत गर्दै जेठ १९ गतेदेखि अति आवश्यक बाहेक सम्पूर्ण सवारी साधनहरू घर तथा ग्यारेजमै राख्न आह्वान गरिएको छ।
मंगलवार साँझ जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “राज्य संयन्त्र आन्दोलनविरुद्ध सक्रिय रूपमा उत्रिएको हुँदा हामी बाध्य भएर सम्पूर्ण व्यवसायीहरूलाई आन्दोलनमा ऐक्यबद्धता जनाउन र सवारी साधन संचालन नगर्न आग्रह गर्दछौं।”
प्रेस विज्ञप्तिमा बन्दको अवज्ञा गरी सञ्चालनमा आउने सवारी साधनमा क्षति भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित सञ्चालक आफैंले लिनुपर्ने स्पष्ट गरिएको छ।त्यस्तै सम्पूर्ण व्यवसायिले यातायातका साधन ग्यारेजमा थनकाई अान्दाेनलाई सहयाेग गरिदिन अाग्रह गरिएकाेछ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य तथा संघर्ष समितिका संयोजक पवनराज बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तिमा, यस बन्दका कारण सर्वसाधारणलाई पर्न जाने असुविधाप्रति खेद व्यक्त गर्दै क्षमा याचना समेत गरिएको छ ।
यातायात व्यवसायीहरू राइट शेयरिङ नियमावली खारेज, इन्धन अनुदान, सवारी कर पुनरावलोकनजस्ता विषयहरूमा सरकारसँग माग गर्दै आन्दोलनमा उत्रिएका हुन्।