किसानलाई अर्गानिक मल र विषादी बनाउने तालिम

मधुसूदन गिरी
कमिरेचौर, २० जेठ । बंगलाचुली गाउँपालिकामा किसानका लागि पालिकास्तरीय २ दिने अर्गानिक मल र विषादी बनाउने तालिम सुरु भएको छ । ‘अर्गानिक खेती गरौं, मानव जीवन स्वस्थ बनाओै’ भन्ने नारासहित पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङको आयोजनामा तालिमको सुरुवात भएको हो ।

पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनको प्रमुख आतिथ्यतामा तालिमको मंगलबार उद्घाटन गरिएको थियोे । तालिमको उद्घाटन गर्दै बंगलाचुली गाउँपालिका अध्यक्ष पुनले खालका तालिमले गाउँपालिकाभित्र रहेका किसानलाई कृषि गर्नको लागि ठुलो सहयोग पुग्ने बताए ।

गाउँपालिकाले पनि थुप्रै खालका सिपमुलक तालिम सञ्चालन गरिरहेको भन्दै कार्यक्रमका प्रमुख अतिथि पुनले किसानले उत्पादन गरेका कुनै पनि तरकारी तथा बालिहरु बजारीकरणको समस्याले कुहिएर जाने अवस्था नआउने बताए ।

पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङका अध्यक्ष डिल्लीबहादुर रावतले अहिले रासायनिक मलको प्रयोगले मानिसमा विभिन्न खालका रोगहरु देखा पर्ने गरेको बताए । किसानले गर्ने खेतीमा अर्गानिक मल र अर्गानिक विषादीको प्रयोगमा जोड दिनुपर्ने बताएका थिए ।

तालिमको प्रशिक्षकमा कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारी रहेका छन् । बंगलाचुली गाउँपालिका कृषि शाखा प्रमुख ज्ञानराज कंडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रम अधिकृत साधना शर्माले गरेकी थिइन । तालिममा बंगलाचुली गाउँपालिका ८ वटै वडाका करिब ३० जनाको सहभागिता रहेको छ ।