गाँजा र चरेससहित महिला पक्राउ

गोरक्ष समाचारदाता
दाङ, २० जेठ । दाङमा प्रहरी गाँजा र चरेससहित महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको थबाङ गाउँपालिका– १ थबाङ घर भई हाल घोराही उपमहानगरपालिका–१४ मिलनचोकमा बस्दै आएकी ६३ वर्षीया मायादेवी विक रहेको प्रहरीले जनाएको छ ।

मायादेवी विकलाई प्रहरीले आइतवार घोराहीको मिलनचोकबाट नौ केजी गाँजा र ५३ ग्राम चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिएका छन् । उनका अनुसार विकले लागूऔषधको अवैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा गाँजा र चरेस बरामद गरेको थियो ।

कोठामा खानतलासी गर्दा विभिन्न तीन वस्तुमा लुकाइ छिपाइ राखेको कुल ९ केजी आठ सय २० ग्राम गाँजा र ५३ ग्राम चरेस बरामद भएको प्रहरी निरीक्षक रोकायले जानकारी दिए । उनका अनुसार प्रहरीले विकको साथबाट दुईवटा मोबाइल फोन र नौं हजार तीन सय रुपंयाँ बरामद गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।