गोरक्ष समाचारदाता
दाङ, २० जेठ । राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा घोराही उपमहानगरपालिका–१०, नारायणपुरमा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ । घरआँगनमै निःशुल्क सेवा
पाउँदा स्थानीयले खुसी व्यक्त गरेका छन् ।
घोराही–१० का ८२ वर्षीय युवराज डाँगीले उमेरका कारण अस्पताल जान नसक्ने भएको बेला घरआँगनमै आँखा जाँच गर्न पाउँदा खुसी भएको बताए । ‘उमेरका कारणले म अस्पतालसम्म जान सक्दिन, अहिले यही सेवा पाएँ, म खुसी छु’, उनले भने । यसैगरी ८२ वर्षकै वनसरी विक १४ वर्षको उमेरमा बायाँ आँखाको दृष्टि गुमाएकी थिइन् । धामीझाँक्रीको नारायणपुरमा निःशुल्क आँखा जाँच शिविर
भरमा वर्षौँदेखि उपचार गरिरहेकी विक अहिले दोस्रो आँखाको सुरक्षाका लागि शिविरमा आएको बताइन् ।
‘अब ढुक्क छु, पटक–पटक आँखा जाँच गरिरहन्छु’, विकले भनिन् । डाँगी र विकजस्ता प्रतिनिधि पात्र मात्र हुन् । शिविरमा आँखा जाँच गर्न आएका ज्येष्ठ नागरिकमा धरैजसो मोतियाविन्दु र अन्य दृष्टिगत समस्या देखिएको थियो । दुई सय ५३ जनाको आँखा जाँच गरिएकोमा ३२ जना मोतियाबिन्दुका बिरामी फेला परेको नेत्र सहायक सुष्मा बस्नेतले जानकारी दिइन् । निःशुल्क आँखा शिविरमा एक सय १९ जनालाई नजिकको दृष्टिका लागि चस्मा र औषधी वितरण गरिएको थियो ।
मोतियाबिन्दुका बिरामीलाई शल्यक्रियाका लागि अस्पतालमा रिफर गरिएको छ । आँखा स्वास्थ्य सेवामा पहुँच नपुगेका स्थानमा राप्ती आँखा अस्पतालले निःशुल्क शिविरले पुण्यको काम गरेको घोराही उपहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख राधा पौडेलले बताइन् ।