विपद् व्यवस्थापनसम्बन्धी नमुना उद्धार अभ्यास

प्रिया स्मृति गजमेर
देउखुरी, १९ जेठ । वर्षादको समय नजिकै गर्दा विपद्जन्य घट्नाबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले राप्ती नदीमा नमुना उद्धार अभ्यास गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङको आयोजनामा देउखुरीस्थित राप्ती नदीमा विपद् व्यवस्थापनको तयारीस्वरूप उद्दारसम्बन्धी व्यवहारिक अभ्यास गरिएको हो । जिल्लामा हुन सक्ने सम्भावित प्राकृतिक विपद् विशेषगरी बाढी तथा डुबानको समयमा जनधनको सुरक्षा तथा उद्धार कार्यलाई प्रभावकारी बनाउनका लागि गरिएको छ । कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीय तहका प्रतिनिधि, विपद् जोखिम न्यूनीकरणमा संलग्न विभिन्न संघ–संस्था तथा सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।

व्यवहारिक अभ्यासमा डुबानमा परेका व्यक्तिको उद्दार, तत्काल प्राथमिक उपचार, सुरक्षित स्थानमा व्यवस्थापन, आपतकालीन समन्वय, सञ्चार व्यवस्थापन, राहत वितरणलगायतका विषयमा तालिम दिइएको र प्रत्यक्ष अभ्यास गराइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिएका छन् । प्रमुख जिल्ला अधिकारी लम्सालले भने,‘प्राकृतिक विपद् कहिल्यै पूर्वसूचना दिएर आउँदैन, त्यसैले तयारी नै सुरक्षित समाजको आधार हो ।

नमूना उद्धार अभ्यासले विपद्को बेलामा हाम्रो तयारी र समन्वय क्षमतामा ठुलो सहयोग गर्छ ।’ कार्यक्रमले सरोकारवाला निकायबिच समन्वय र तालमेल बढाउने, विपद्को समयको तत्काल प्रतिक्रिया प्रणाली मजबुत बनाउने र स्थानीय तहमा चेतनाको विकास गर्ने लक्ष्य राखेको थियो ।

कार्यक्रममा लमही नगरपालिका प्रमुख जोगराज चौधरीले नमुना अभ्यासलाई नियमित रूपमा सञ्चालन गर्नसके विपदमा हुन सक्ने क्षति न्यूनीकरणमा सहयोग पुग्ने बताए । नमुना अभ्यास कार्यक्रमले देउखुरी क्षेत्रमा बढ्दो बाढीको जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी र प्रतिकार्य क्षमताको परीक्षण गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको नगर प्रमुख चौधरीले बताएका थिए ।