गोरक्ष समाचारदाता
तुलसीपुर, १८ जेठ । तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणाको तयारी अगाडि बढाइएको छ । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले आगामी वर्षभित्र नगरलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने गरी तयारी गरिएको बताए ।
नवजागरण महिला तथा बाल संरक्षण केन्द्र तुलसीपुरको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुरको सहयोगमा आयोजित सरोकारवालासँगको छलफल कार्यक्रममा नगर प्रमुख खड्काले यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
बालमैत्री स्थानीय शासन घोषणा गर्न पूरा गर्नुपर्ने सूचकहरू पूरा गर्न उपमहानगर तयार रहेको बताउँदै प्रमुख खडकाले सहयोगी निकायसँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए । ‘अभिभावक, समाज र सरोरकारवाला निकायको सहयोगबिना पालिका एक्लैले बालमैत्री वातावरण निर्माण गर्न सक्दैन, यसका लागि सबै तयारी हुनुपर्ने हुन्छ’, नगर प्रमुख खड्काले भने ।
नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसिपिसी)का अध्यक्ष नवराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक विकास डिभिजन तुलसीपुरका प्रमुख गिरिराज पाण्डे, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, रासस दाङका प्रमुख नारायणी रजौरे, कार्यपालिका सदस्य यमुना परियार, होटल व्यवसायी संघका केन्द्रीय सदस्य नेत्र वली, तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य मिना रावतलगायतले आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा बालक्लब, प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनधि र पालिकाका विभिन्न शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो ।
तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न सरोकारवालाबिच छलफल हुने बताएको छ । न्युसिपिसीका सदस्य दीप्तिशिखा चौधरीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव नानीमैया केसीले गरेकी थिइन् । कार्यक्रममा बाल, संरक्षण, बाल बचाउ, बालमैत्री स्थानीय शासनलगायतका विषयमा बालमैत्री विज्ञ दुर्गालाल केसी, माया श्रेष्ठले प्रस्तुति राखेका थिए ।