खेमराज रिजाल
दाङ, १८ जेठ । कछुवाको गतिमा प्रक्रिया अघि बढेको घोराही–तुलसीपुर सडक खण्डको करिब २१ दशमलव ५८ किलोमिटर क्षेत्रको स्तरोन्नतिको काम असार पहिलो साता हुने तयारी देखिएको छ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद दीपक गिरीले असार पहिलो सातादेखि नै काम सुरु हुने गरी निर्माण सम्झौता हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
सांसद गिरीका अनुसार परीयोजना कार्यान्वयनमा विभिन्न कानुनी झमेला आइपरेकाले निर्माण व्यवसायी छनोटको प्रक्रियामा केही विलम्ब भएको हो । ठेक्का प्रक्रियामा सहभागी पाँच वटामध्ये पहिलो चरणमा चारवटा निर्माण कम्पनी छनोट भएका थिए । ती चारवटा कम्पनीलाई आफूले कबोल गरेको बजेट अङ्कसहित पुनः ठेक्का प्रक्रियामा अघि बढ्न मदन भण्डारी सडक मार्ग परियोजनाले अर्को सूचना निकालेको छ । सडक विभाग माताहतको मदन भण्डारी सडक मार्ग परियोजना अन्तर्गत घोराही–तुलसीपुर सडक चारलेनमा स्तरोन्नतिको प्रक्रिया गत फागुन पहिलो सातादेखि नै सुरु गरिएको थियो ।
अहिले प्रस्ताव माग गरिएका चारवटा कम्पनीको प्रस्ताव जेठ २५ गते खोलिने मदन भण्डारी सडक परियोजनाद्वारा शनिवार काठमाडौंबाट प्रकाशित हुने राजधानी दैनिक पत्रिकामा जारी सूचनामा उल्लेख गरिएको छ । निर्माण सम्झौता भइसकेपछि सो सडकको स्तरोन्नतिको कामको सुपरीवेक्षण डिभिजन सडक कार्यालय दाङले गर्ने बताइएको छ । यद्यपि यसको अन्तिम निर्णय भने भइसकेको छैन । परियोजनाका डिजस् दीप वाराहीले ठेक्का सम्झौता भइसकेपछि सम्भवतः यो सडक स्तरोन्नतिको काम त्यही जिल्लाकै डिभिजन सडक कार्यालयमार्फत् हुने सम्भावना रहेको बताए ।
अब चारलेन सडक निर्माणमा ढुक्क हुन सांसद गिरीले आम जिल्लाबासी एवम् यातायात व्यवसायीलाई आग्रह गरेका छन् । उनले ठेक्का सम्झौता भएको ३६ महिनामै काम सम्पन्न गराउने आफूहरूले सडक विभाग तथा परियोजना कार्यालयमा निरन्तर पहल गर्ने बताए । ‘मैले आम जिल्लाबासीलाई विश्वस्त गराउन चाहन्छु कि घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम यही आर्थिक वर्षको बजेटले यही आर्थिक वर्षमै सुरु हुनेछ’, पूर्व सिँचाइ मन्त्री तथा निर्वाचन क्षेत्र नं ३ का सांसद गिरीले गोरक्षलाई फोनमा भने । अर्थ मन्त्रालयबाट यस अघि नै बजेट सुनिश्चितता भइसकेको दाबी गर्दै अब घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काममा कुनै पनि आर्थिक समस्या नहुने सांसद गिरीले दाबी गरे ।
सडक स्तरोन्नतिका लागि रौताहा÷खानी जेभि प्राली त्रियुगा उदयपुर, लामा कन्सट्रक्सन महाराजगन्ज काठमाण्डौ, आशिस निर्माण सेवा प्रालि भरतपुर चितवन र दिवा÷वन्दनभगवती जेभि बत्तिसपुतली काठमाण्डौ मध्ये जुन कम्पनीले कम विडिङ गर्द उसैले कामको जिम्मा पाउने परीयोजनाले जनाएको छ । चालु आर्थिक बर्षकै मदन भण्डारी सडक मार्ग परीयोजनामा खर्च हुन नसकेको बजेट सुनिश्चित गरी ठेक्का प्रक्रिया अघि बढाइएको पनि सांसद गिरीले बताएका छन् । सो सडक स्तरोन्नतिका लागि पुनः प्राविधिक सर्भे गरी कम्तिमा पौनेचार अर्ब रुपैयाँ बजेट अनुमान गरिएको थियो ।
यस अघि करिब ८ वर्ष अघि घोराही–तुलसीपुर चारलेन सडक निर्माणका लागि नेपाल सरकारको सडक विभागमार्फत् काम सुरु भएको थियो । भारतको एक्जिम बैंकको सशर्त ऋणमा सुरु भएको परियोजनाको ठेक्का भारतको मुम्बई स्थित तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले पाएको थियो ।
त्यो बेला एक करोड २१ लाख अमेरिकी डलरमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो तर तथ्य इन्जिनियरिङ काममा नआएर यहीँकै निर्माण कम्पनीलाई पटकपटक पेटी ठेक्कामा काम दिँदा तीन पटक म्याद थप्दा पनि सडक स्तरोन्नतिको काम सम्पन्न हुन सकेन । अन्ततः सडक विभागले तथ्य इन्जिनियरिङसँगको ठेक्का रद्द गरेको थियो । एक्जिम बैंकलाइ पुनः लगानी गर्न भारतीय दूतावासमार्फत् प्रयास गरे पनि भारतीय एक्जिम बैंकले पुनः लगानी गर्ने तत्परता देखाएन । यो पटक भने नेपाल सरकारकै पैसाले सडक स्तरोन्नतिको काम अघि बढाइएको छ ।
निर्माणका क्रममा यस अघि कायम भएको साविक सडक भत्काएर क्षतविक्षत बनाएपछि यो सडक खण्डमा सयौँ दुर्घटना भए । यसबिचमा चार दर्जन बढी नागरिकले ज्यान गुमाएका थिए । भएको सडक क्षतविक्षत भएपछि सडक स्तरोन्नतिको माग गर्दै यहाँका व्यवसायी पटकपटक राजधानी डेलिगेसनमा समेत धाउनु परेको थियो । पछि यहाँका सांसदहरूको पहलमा क्षतविक्षत भएको सडक सडक विभागमार्फत् टालटुल पारेपछि जसोतसो मुस्किलले दुईतर्फी सडक यातायात सञ्चालन हुने भएको छ । दुर्घटनाको जोखिम भने अझै कायमै रहेको ट्राफिक प्रहरी अधिकारीहरू बताउँछन् ।