विकासका लागि निजी क्षेत्रसँग सहकार्य : मन्त्री न्यौपाने

अमरराज आचार्य
दाङ, १८ जेठ । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले विकासका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताएका छन् । राप्ती अञ्चल डेलिभरी सेवा वितरक संघ प्रालिको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको शनिवार घोराहीमा उद्घाटन गर्दै निजी क्षेत्रका समस्या समाधानका लागि राज्यले पहल गर्नुपर्ने बताएका हुन् ।

राज्यले विकास निर्माणका लागि बनाएका योजना कार्यान्वयनका लागि निजी क्षेत्रसँगको पारस्परिक सहयोग अपरिहार्य रहने मन्त्री न्यौपानेले बताए । ‘निजी क्षेत्रलाई चलाएमान बनाउन राज्यका तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ’, कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले भने, ‘निजी क्षेत्रलाई चलायमान बनाउन सके मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । यो यर्थाथतालाई राज्यका हरेक संयन्त्रले बिर्सनु हुँदैन ।’

लुम्बिनी प्रदेशमा यातायात व्यवस्थापन क्षेत्रको सुदृढीकरणका लागि राज्यको तर्फबाट प्रयास भइरहेको भए यातायात क्षेत्रमा समस्या रहेको बताए । ‘यातायात क्षेत्रमाथि राज्यका संयन्त्रबाट हुने झन्जट न्यूनीकरण गर्न प्रदेश सरकार लागिरहेको छ’, मन्त्री न्यौपानेले भने, ‘तर अपेक्षा गरे अनुसारको नागरिकलाई अनुभूति गराउन सकेका छैनौँ ।’

मन्त्री न्यौपानेले रोजगारी दिने उद्यमशिलता बढाउने योजना लिएर आउन व्यवसायीलाई आग्रह गरेका थिए । सबैको सहकार्यबाटै देशको विकाससँगै रोजगारीका अवसर सिर्जना गर्न सकिने भन्दै मन्त्री न्यौपानेले देशका केही भएको छैन भनेर निराशा फैलाउने काम रोक्ने गरी तीनै तहका सरकारले काम गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ, घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी, घोराही उपमहानगरपालिका वडा नं १४ का वडाध्यक्ष भानसिंह बुढा, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशी, घोराही खानेपानी संस्थाका अध्यक्ष देवीबहादुर डिसी, दाङ वितरक संघका अध्यक्ष कुमार सुवेदी, राप्ती अञ्चल लिकर्स एसोसिएसनका अध्यक्ष तेजवहादुर पौडेल (विश्व), गल्ला तथा किराना व्यवसायी समितिका अध्यक्ष विनोद पाण्डे, साहित्यकार डा लोकराज पराजुली, नेपाल पशुपन्छी औषधी व्यवसायी समितिका केन्द्रीय उपाध्यक्ष एकनारायण पौडेल, नेपाल बजार बिक्री प्रतिनिधि संघका नवराज सापकोटा, बयलडाँडा चौतारी क्ल्बका उपाध्यक्ष हुर्मत वली, राप्ती अञ्चल बजार प्रतिनिधि संघका केशव बुढाथोकीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव भरतराज श्रेष्ठ आर्थिक प्रतिवेदन कोषाध्यक्ष गुरुप्रसाद कँडेलले प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्व राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ, मदन रावत, मुक्तबहादुर श्रीस, गोविन्द खड्कालाई सम्मान गरिएको थियो । कार्यक्रम प्रालिका अध्यक्ष ध्रुवराज श्रेष्ठ भारीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा सहभागीलाई धन्वाद ज्ञापन प्रालिका सल्लाहकार टंकसिंह बुढाथोकीले गरेका थिए । कार्यक्रमको सहजीकरण प्रालिका सहसचिव नारायण राना क्षेत्रीले गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

अध्यक्षमा बुढाथोकी
राप्ती अञ्चल डेलिभरी तथा वितरक संघको अध्यक्षमा सर्वसम्मतिले टंक सिंह बुढाथोकी निर्वाचित भएका छन् । शनिवार भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट बुढाथोकी निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा भरतराज श्रेष्ठ, सचिवमा नारायण राना क्षेत्री, कोषाध्यक्षमा मुकेश खड्का, सहसचिवमा हिमाल न्यौपाने, सदस्यहरूमा ज्ञानेन्द्र श्रेष्ठ, सुशील श्रेष्ठ, विप्लव डिसी, बलबहादुर खड्का, राम अचल गुप्ता रहेका छन् ।