पार्वती बस्नेत
दाङ, १८ जेठ । राजपुर गाउँपालिका–२ गहिरा निवासी सुष्मा चौधरी सफल कृषि उद्यमीका रूपमा चिनिन्छिन् । घरायसी काममा व्यस्त रहने गृहिणीबाट आत्मनिर्भर उद्यमीमा परिणत भएकी सुष्माले कृषिबाटै राम्रो आम्दानी लिने गरेकी छिन् ।
२०७४ सालमा विवाहबन्धनमा बाँधिएकी सुष्माको तीन जनाको सानो परिवार छ । उनका श्रीमान् पेसाले गाडी चालक भएकाले प्रायः घरबाहिरै बस्ने गर्छन् । घरमा सासुसँग बस्दै आएकी सुष्माले पहिले भान्साको काम सकेर फुर्सदको समय बिताउने गर्थिन् तर पछिल्लो समयमा सुष्मालाई बारीमा तरकारी खेतीको कामले व्यस्त बनाउने गरेको छ ।
उनको बारीमा खुर्सानी, काउली र टमाटर फलेको छ । उनले जग्गामा राजमाको खेती पनि गर्दै आएकी छिन् । नौ कक्षासम्म अध्ययन गरेकी सुष्माले महिलाहरू आत्मनिर्भर बन्न सक्छन् भन्ने ज्ञान ‘प्रगति उद्यमी महिला समूह’मा आबद्ध भएपछि मात्र थाहा भएको बताउँछिन । समूह राजपुर गाउँपालिकाको आर्थिक सहयोग र हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा ग्रामीण महिला उत्थान केन्द्रसँगको साझेदारीमा सञ्चालित ‘राजपुर कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी विकास परियोजना’ (भिटा परियोजना) ले गठन गरेको हो ।
समूहमा आबद्ध भएपछि सुष्मा क्रियाशील भइन् र २४ सदस्यीय समूहको अध्यक्षमा चयन भइन् । व्यावसायिक तरकारी खेती गर्न इच्छुक किसानको रूपमा छनोटमा परेपछि उनले तरकारी खेतीसम्बन्धी विभिन्न तालिम लिइन् । प्राविधिकबाट परामर्श र बिउबिजन, तरकारी खेतीका लागि आवश्यक सामग्री अनुदान स्वरूप प्राप्त गरिन् । त्यति मात्र नभएर समूहमा आबद्ध भएपछि उत्प्रेरणा दिने र जीवनोपयोगी हुने खालका विभिन्न किसिमका तालिम प्राप्त गरेको सुष्माले बताइन् ।
चार कठ्ठा जग्गामा गरेको तरकारी र राजमा खेती देखेर सुष्मालाई अरू थप जग्गा भाडामा लिएर तरकारी व्यवसाय गर्ने आँट आएको छ । उनले अहिलेसम्म सात क्विन्टल टमाटर, ५० केजी खुर्सानी र २० केजी काउली बिक्री गरिसकेको बताउँछिन् । अझै बारीमा टमाटर र खुर्सानी फल्दै गरेकाले बढ्ने बताइन् । ‘गाउँघरमा अरूले तरकारी खेती गरेको त देखिन्थ्यो तर उत्पादन कम भयो भन्ने गुनासो मात्र सुनिन्थ्यो ।
अहिले परियोजनाबाट खटिएका कृषि प्राविधिकको सल्लाहले उत्पादन राम्रो भएको छ’, सुष्माले भनिन्, ‘मैले खेती गरेका टमाटर र खुर्सानी फलेको देखेर छिमेकीले समेत आफूहरूले तरकारी व्यवसाय गर्न उत्साह देखाएका छन् ।’ आगामी दिनमा जग्गा भाडामा लिएर श्रीमान्लाई पनि तरकारी खेतीमा सहभागी गराएर व्यावसायिक तरकारी उत्पादन गर्ने र उद्यमी बन्ने योजना रहेको सुष्माले सुनाइन् । उनको यो मिहिनेत देखेर श्रीमान् र सासु पनि छक्क परेका छन् ।
आफ्नो घरआँगनमै यो परियोजना ल्याएर आत्मनिर्भर बन्न उत्प्रेरित गरेकोमा सुष्माले राजपुर गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्रलाई धन्यवाद दिइन् । सुष्माको यो सफलताको कथाले देखाउँछ कि उचित तालिम, प्राविधिक सहयोग र दृढ इच्छाशक्तिले ग्रामीण महिलाहरू सफल उद्यमी बन्न सक्छन् ।