घोराही,१७ जेठ । गुरुकुल एकेडेमी, घोराहीले एक विशेष समारोहकाबीच कक्षा १२ का तेस्रो ब्याचका विद्यार्थीलाई दिक्षित गरेको छ।
विद्यालयको प्रांगणमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूलाई औपचारिक रूपमा उच्च माध्यमिक तहको जिम्मेवारीबोध गराउँदै दिक्षित गरिएको हो। कार्यक्रम गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा। कृष्णराज डिसीको अध्यक्षतामा तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–निर्देशक तथा वरिष्ठ नेत्र विशेषज्ञ डा सुरेश रसाइलीको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह भएको थियो ।
दिक्षान्त समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि रसाइलीले विद्यार्थीले अनुशासन, समर्पण र कर्तव्य परायणताको महत्वबारेमा ध्यान दिनुपर्ने बताएका थिए । ड। रसाइलीले भने,‘शिक्षा केवल किताबी ज्ञानमा सीमित छैन, यो चरित्र निर्माण, सामाजिक उत्तरदायित्व र आत्मविकासको पनि बाटो हो। दिक्षा भनेको त्यसै यात्राको एक महत्वपूर्ण पाइलो हो।’
उनले आगामी उच्च शिक्षाको लागि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिभिन्न कार्यक्रमहरु संचालन भएको समेत बताए । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यालयका शिक्षकहरू, अभिभावक प्रतिनिधि तथा अन्य अतिथिहरूको समेत उपस्थिति रहेको कार्यक्रममा प्रधानाध्यापक डा डिसीले दिक्षित विद्यार्थीलाई शुभकामना दिँदै आफूमा आत्मअनुशासन, नेतृत्व क्षमता र सामाजिक चेतनाको विकास गर्न प्रेरणा दिएका थिए ।
कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका शिक्षक महाविर घर्ति , प्लसटुसंयोजक राजन अधिकारीले मन्तब्य राखेका थिए भने विद्यार्थी जनक पुनले धन्यबाद मन्तब्य राखेका थिए । गुरुकुल एकेडेमी घोराहीले प्रत्येक वर्ष कक्षा १२ का विद्यार्थीको लागि यस्तो दिक्षा कार्यक्रम आयोजना गर्दै आएको छ। यस कार्यक्रममार्फत विद्यार्थीहरूलाई शिक्षाको मात्र नभई जीवन मूल्यहरूको पनि बोध गराउने प्रयास गरिन्छ।
कार्यक्रम अन्त्यमा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरू, अभिभावक तथा विद्यार्थीहरूबीच अन्तरक्रिया पनि भएको थियो। शिक्षक अरबिन्द अधिकारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक विवेक देबकोटाले गरेका थिए ।