प्रवल विष्ट
समीक्षा
गजल साहित्यको अरु विधा जस्तै प्राचीनकालदेखि चल्दै आइरहेको विधा हो । गजल लेखनको सुरुवात अरब भूमिबाट फारसी, उर्दु, हिन्दी हुँदै नेपालीमा सर्वप्रथम मोतिराम भट्टले लेखेको पाइन्छ । अरबी भाषामा “ग” को अर्थ वाणी, “ज” को अर्थ नारी र “अल”को अर्थ “को” वा “सँग” हुन्छ । गजलको शाब्दिक अर्थ मायालुसँगको कुराकानी, यौवना नारीको वाणी वा वर्णन, मायाका विषयमा कुराकानी, प्रणयवार्ता, मायाको भावना व्यक्त गर्नु भन्ने बुझिन्छ । समग्रमा भन्नुपर्दा गजल भनेको मायाप्रेमलाई समेटेर एउटा निश्चित लय र तालमा लेखिने विधा हो ।
नेपाली गजल लेखनको विस्तारसँगै ६० को दशक यतादेखि गजल लेखनमा कलम चलाउनेहरुको सङ्ख्यामा एक किसिमको बाढी नै आएको देखिन्छ । यो एउटा सकारात्मक पक्ष पनि हो । अझ भन्नुपर्दा अहिले नेपाली साहित्यमा सर्वाधिक रुचाइएको विधाको रुपमा गजललाई लिन सकिन्छ । पछिल्लो समयमा गजल लेख्नेहरुले गजललाई मायाप्रेम मात्रमा सीमित नराखी गजलका माध्यमबाट देशको विद्यमान विविध परिस्थितिलाई समेटेर गजल सिर्जना गरेको देखिन्छ ।

जुनसुकै विषयवस्तुलाई समेटेर भाव व्यक्त गर्न सकिने विधाका रुपमा पनि गजललाई लिन सकिन्छ । पछिल्लो केही वर्षयता युवा पिढीको रोजाइँको विधा गजल लेख्ने थुप्रै युवाहरुको भिडलाई छिचोल्दै यतिबेला युवा नारी गजलकारको रुपमा आफूलाई स्थापित गर्दै आफ्नो पहिलो गजल सङ्ग्रह ‘अनुराग’ लिएर हरेक गजलमनहरुको सामु मनको ढोका ढकढक्याउन गजलकार स्मृति योगी आइसक्नु भएको छ ।
गजलकार स्मृति योगी कृतिकारका रुपमा ढिलो उपस्थित भए तापनि उहाँले गजल विधामा कलम चलाउन थालेको झन्डै दशक बढी भइसकेको प्रत्यक्ष साक्षी म आफैं पनि हुँ । यद्यपि उहाँका गजलका सेरहरु पढ्दा थाहा पाउन सकिन्छ कि उहाँको लेखाइमा विधागत चेत प्रस्ट छ । गजलमा बिम्बको प्रयोग यति मजासँग गरिएका छन् कि यसबाट पनि लेखकको क्षमता सजिलै आँकलन गर्न सकिन्छ ।
युवा गजलकार स्मृति योगीको प्रस्तुत गजलको कृतिभित्र समेटिएका जम्ममाजम्मी ८० वटा गजलहरु सरसर्ती हेर्दा विधागत सचेतना र भावगत विविधता पाउन सकिन्छ । उहाँका प्रायःजसो गजलमा गजलीय शैली, संरचना, सरलता र चेतना पाइन्छ । विषयवस्तु उठानलाई हेर्दा पनि उहाँले जीवन र समाजका अनेकन सन्दर्भहरु छनोट गर्नुभएको छ ।
उहाँका गजलमा प्रेम, प्रणयका विविध भावहरु पनि छन् । जीवनका पीडा, मुस्किलका सुस्केराहरु पनि छन् अनि समकालीन समाजका विसङ्गति, आडम्बर, कुरीति र विडम्बनाहरुले प्रमुख स्थान पाएका छन् । अझ भन्नुपर्दा युवा गजलकार स्मृति योगी दाङमा रहेर पनि गजल लेखनको क्षेत्रमा दरिलो उपस्थिति जनाउन सक्ने प्रवल सम्भावना देखिन्छ । पहिलो सङ्ग्रहबाटै उहाँको उपस्थिति हेर्दा एक सशक्त गजलकारको रुपमा स्वीकार्न सकिन्छ ।
म स्वयम् गजल अभियान दाङको अध्यक्षका नाताले दाङमा रहेर गजलमा कलम चलाउने अग्रजदेखि अनुजहरुका गतिविधिमा चासो हुनु स्वभाविकै होला । त्यसैले अभियानमा प्रत्यक्ष वा परोक्ष जोडिएर होस् वा पर्दा पछाडि रहेर गजलमा कलम चलाउनेहरु सबैका लागि गजल अभियानमा हमेसा साथ रहने नै छ ।
गजलकार स्मृतिको पहिलो गजल सङ्ग्रह “अनुराग” भित्रका गजलहरुमा नजर दौडाउने क्रममा मेरो मनलाई भित्रैदेखि छुन सफल केही सेरहरु यहाँ राख्न उचित लाग्यो । गजल सङ्ग्रहको नाम “अनुराग”लाई जोडेर पहिलो गजलमै स्मृति योगी दमदार गजलसहित यसरी उपस्थिति जनाउनुहुन्छ;
कृपया ! तपाईँको मनको ढोका खोल्नुहोस् न,
“हेर्नुहोस् त !” म “अनुराग” बोकेर आएको छु ।
अर्को गजलमा स्मृति योगीले प्रेम भावलाई बिम्बात्मक शब्दहरु राखेर कलात्मक तरिकाले यसरी लेख्नुहुन्छ;
एक अजनवी पिरतीको जालो हाल्न आयो ।
बाँझो रुखो जिन्दगीमा फालो हाल्न आयो ।
उहाँका गजलमा नारी संवेदना पनि प्रकट भएको पाइन्छ,
जस्तै;
सिउँदोमा सिन्दुरको धर्को आएपछि जीवन मोडिएको हो ।
शिरमा रातो बर्को आएपछि जीवन मोडिएको हो ।
केही गजलहरुमा स्मृति योगीले शृङ्गारिक रस भर्ने कोसिस पनि गरेको देखिन्छ,
अघि आई पर्खिरा‘छु अब आउने तिम्रो पालो ।
मैले सकेँ प्रेमिल गीत अब गाउने तिम्रो पालो ।
झमक्क साँझ पर्नै लाग्यो, हेर त बाहिर,
ढोका खुल्लै छोडेको छु चुकुल लाउने तिम्रो पालो ।
यसरी गजलकार स्मृति योगीका गजलहरुमा भावको विविधता देखिन्छ भने शैलीको सरलताले उहाँका गजल सम्प्रेषणीय छन् ।
यो पहिलो यात्राको सुरुवातमै उहाँको प्रयास सकारात्मक र स्वागतयोग्य छ । आगामी यात्रामा अझै साधना र चिन्तनसहित जोडदार उपस्थिति हुनेछ भन्ने विश्वाससहित प्रथम कृति प्रकाशनका अवसरमा उहाँलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।