प्रयाप्त सामग्री नहुँदा वन्यजन्तु उद्धारमा समस्या

प्रिया स्मृती गजमेर
देउखुरी, १७ जेठ । समस्यामा परेका वन्यजन्तु उद्धारका लागि पर्याप्त सामग्री नहुँदा दाङ देउखुरीमा समस्या हुने गरेको छ । देउखुरी क्षेत्रको वन तथा बस्ती आसपासमा पटक–पटक देखिनुका साथै घाइते अवस्थामा भेटिएका वन्यजन्तुको उद्धारका लागि सामग्री नहुँदा समस्या हुने गरेको हो ।

उद्धार सामग्रीबिना फिल्डमा खटिँदा जोखिम हुने र कार्यालयसँग उद्धारका सामग्री नहुँदा कतिपय अवस्थामा जोखिम नै मोलेर उद्धार गर्नुपर्ने अवस्था रहेको छ । उद्धार सामग्रीका लागि विगतदेखि नै कुरा उठ्दै आए पनि सामग्रीको व्यवस्थापन नहुँदा वन्यजन्तु उद्धार कार्यमा समस्या पर्नुका साथै कठिनाइ हुने गरेको छ । दक्ष जनशक्ति र उद्धार सामग्री नहुँदा ठुला वन्यजन्तु उदारको लागि बर्दिया राष्ट्रिय निकुञ्जसँग समन्वय गर्नुपर्ने अवस्था रहेको छ ।

डिभिजन वन कार्यालय दाङ देउखुरीसँगै मातहतका आठवटा सबडिभिजन वन कार्यालयमा समेत कुनै पनि तालिम प्राप्त उद्धारकर्ता नभएको डिभिजन वन कार्यालय दाङ देउखुरीका डिभिजनल वन अधिकृत महेन्द्रराज काफ्ले बताउँछन् । वन अधिकृत काफ्लेका अनुसार चितुवा, चित्तल, रतुवा र सर्पजस्ता जनावर स्थानीय बस्तीमा देखिने क्रम बढिरहेको छ ।

जङ्गली जनावर बस्तीमै पुग्दा स्थानीय त्रसित हुने र वडा कार्यालयलाई फोन गर्ने गरेको तर कार्यालयसँग जनावर समात्ने पञ्जा, ट्याङ्क्विलाइजर गन, जाल, बाकस, सुरक्षात्मक पोसाकलगायतका अत्यावश्यक सामग्री नहुँदा उद्धारमा समस्या हुने गरेको उनले बताए ।

उद्धारका लागि केन्द्र वा अन्य निकायबाट सहयोग माग्नु पर्दा समयमै उद्धार गर्न नसकिने र जोखिम बढी हुने गरेको बताउँदै उनले भने, ‘वन्यजन्तु उद्धार संवेदनशील र जोखिमपूर्ण काम हो’, डिभिजन वन कार्यालय दाङ देउखुरीका डिभिजनल वन अधिकृत काफ्लेले भने, ‘सामग्री नहुँदा जनावरलाई सुरक्षित तवरले नियन्त्रण गर्न गाह्रो हुन्छ, जसले जनावर र मानवीय दुवै सुरक्षा जोखिममा पार्दछ ।’

उद्धारका सामग्री डिभिजन वन कार्यालयले किन्न सक्ने भए पनि आर्थिक अभावसँगै सरकारको प्राथमिकतामा नपर्दा समस्या भएको डिभिजनल वन अधिकृत काफ्ले बताउँछन् । सङ्घीय र प्रादेशिक सरकारको समन्वयमा वन्यजन्तु उद्धार सामग्रीको व्यवस्थापन गर्न स्थानीय निकाय र सरोकारवालाले जोड गर्न आवश्यक रहेको उनले बताए । वन्यजन्तु संरक्षणका लागि जनचेतना, उपकरण तथा तालिमसहितको तयारी जरुरी रहेको डिभिजन वन कार्यालय दाङ देउखुरीका बरिष्ठ फरेस्टर चिरन्जीवी खनाल बताउँछन् ।

उपकरण, तालिम प्राप्त जनशक्ति र समन्वयको उचित व्यवस्था हुन सकेमा देउखुरी क्षेत्र वन्यजन्तु–मानव सहअस्तित्वको नमुना बन्न सक्ने सम्भावना रहेको उनी बताउँछन् । उनले वन्यजन्तु नियन्त्रण र उद्धारमा स्थानीयले वन कार्यालयसँग समन्वय गर्न आवश्यक रहेको बताउँछन् ।

वन कार्यालय कार्यालयले उद्धार गरेका वन्यजन्तुलाई पायक पर्ने उचित बासस्थानमा छोड्ने गरेको बताए । उनले देउखुरीमा सर्प उद्धारका लागि सामग्री भए पनि जनशक्ति नहुँदा समस्या भएको बताए । ठुला तथा हिंस्रक वन्यजन्तु उद्धार गर्ने प्रविधि तथा सामग्रीको ठुलो अभाव छ, उद्धार गरिएका वन्यजन्तुको उपचार र व्यस्थापनमा समेत समस्या भएको डिभिजन वन कार्यालयले जनाएको छ । घाइते वन्यजन्तु राख्ने ठाउँ छैन भने टुहुरा बच्चालाई हुर्काउन उस्तै जोखिम र चुनौती रहेको खनाल बताउँछन् ।

सीमित स्रोत साधान हुँदाहुँदै पनि यो आर्थिक वर्षमा डिभिजन वन कार्यालय दाङ देउखुरीले चित्तल चारवटा, रतुवा एकउटा, राज गोमन, अजिङ्गर, धुसर, ब्वासे सर्प र धामन सर्प गरी विभिन्न प्रजातिका करिब ५० बढी सर्प र एउटा डङ्गर प्रजातिको गिद्ध उद्धार गरेको छ ।

हालै देशभरी विभिन्न स्थानमा वन्यजन्तु घाइते अवस्थामा भेटिने घटना बढ्दै गएका छन् । सडक दुर्घटना, अवैध सिकार, बस्ती विस्तार र खाद्यान्न खोज्ने क्रममा मानवसँगको द्वन्द्वका कारण वन्यजन्तु अक्सर घाइते हुने गरेका छन् । यस्तो अवस्थामा ती जनावरको जीवन रक्षा गर्न वन कार्यालयको भूमिका महत्वपूर्ण मानिन्छ ।