सिद्धरत्ननाथ मावि,विद्युतीय मतदानबाट विद्यालय र कक्षा क्याप्टेन छनोट

गोरक्ष समाचारदाता
दाङ, १७ जेठ । घोराहीको सिद्धरत्ननाथ माध्यमिक विद्यालयले विद्युतीय माध्यमबाट मतदान गरेर विद्यालय र कक्षा क्याप्टेन चयन गरेको छ । घोराही–१० नारायणपुरमा रहेको विद्यालयले शुक्रवार विद्युतीय माध्यमबाट मतदानको व्यवस्था गरेर पहिलो पटक विद्यालय र कक्षा क्याप्टेन चयन गरेको हो ।

निर्वाचनमा विद्यालयको क्याप्टेनमा विद्यार्थी शिशिर खत्री निर्वाचित भएका छन् । मतदानमा खसेको छ सय २३ मतमध्ये दुई सय १६ मत प्राप्त गर्दै खत्री क्याप्टेनमा निर्वाचित भएका हुन । आठ जना विद्यार्थीले प्रतिस्पर्धा गरेको निर्वाचनमा खत्रीका निकटतम प्रतिस्पर्धी जेसिका चौधरीले एक सय २६ मत प्राप्त गरिन् । यसैगरी निखिल सुनारले ८, अङ्कुरप्रसाद यादवले ७९, सिरिष बुढा मगरले ६१, दिलिप सुनारले तीन, द्रोणकला विकले १४ र विपिन चौधरीले एक मत मात्र प्राप्त गरेको निर्वाचन संयोजक तथा विद्यालयका सहायक प्रधानाध्यापक भुपबहादुर रावतले जानकारी दिएका छन् ।

यसैगरी कक्षा ६ ‘ए’ को

                   क्याप्टेन शिशिर खत्री

क्याप्टेनमा शिशिर केसी र विनोद विक, कक्षा ६ ‘बी’ मा मनजीता विक र प्रतीक नेपाली, कक्षा ६ ‘सी’ मा रितु विश्वकर्मा र सुवासकुमार विक, कक्षा ७ ‘ए’ मा संस्कृति वली र सहदेव पुन मगर, कक्षा ७ ‘बी’ मा प्रीति वली र साजन विक, कक्षा ७ ‘सी’ मा कल्पना बस्याल र भीमसेन डाँगी निर्वाचित भएका छन् । कक्षा ८ ‘ए’ मा समिर खनाल र गौरव रोका, कक्षा ८ ‘बी’ मा हेमराज पुन मगर र आकृति चौधरी, कक्षा ८ ‘सी’ मा मिलन वली र सोनिया कसाई, कक्षा ८ ‘डी’ मा विनोद वली र सिद्धार्थ रोका मगर निर्वाचित भएका छन् ।

यसैगरी कक्षा ९ ‘ए’ मा सागर अधिकारी र वविता पुन, कक्षा ९ ‘बी’ मा विक्रम वली र पुनम बठा मगर, कक्षा ९ ‘सी’ मा मिलन पुन मगर र प्रतीज्ञा भण्डारी, कक्षा ९ ‘डी’ मा असिम मगर र यमुना बुढा मगर, कक्षा ९ ‘इ’ मा निशा पुन मगर र भूमिका बुढा मगर निर्वाचित भएको निर्वाचन संयोजक भण्डारीले जानकारी दिएका छन् । कक्षा १० ‘ए’ मा सदीक्षा घिमिरे र कोमल केसी, कक्षा १० ‘बी’ मा आशिष रोकाय र सुजन बस्नेत, कक्षा १० ‘सी’ मा सजिना बस्नेत र अविषेक बोहरा, कक्षा १० ‘डी’ मा अंशु बुढा मगर र गौरव चौधरी र कक्षा १० ‘इ’ मा दिनेश रोका मगर र कमला परियार निर्वाचित भएका छन् ।

निर्वाचनमा विद्यालयमा कक्षा ६ देखि १० मा अध्ययनरत आठ सय ५० जना विद्यार्थीमध्ये छ सय २३ जनाले मतदान गरेका थिए । विद्यार्थीलाई निर्वाचन प्रक्रियाबारे जानकारी दिने र परम्परागत रूपमा भइरहेको मतदानभन्दा फरक ढङ्गले छिटो र छरितो रूपमा सम्पन्न गर्न नयाँ अभ्यासन गरिएको विद्यालय व्यवस्थापन समितिका प्रधानाध्यापक उत्तम खनालले बताए । प्रधानाध्यापक खनालका अनुसार निर्वाचनका लागि विद्यालयका शिक्षकले विद्युतीय सफ्टवेर निर्माण गरेका थिए । त्यसको नेतृत्व आइटी संयोजक बामदेव बस्नेतले गरेको प्रधानाध्यापक खनालले बताए ।

‘विद्यालयमा डिजिटल कक्षा सञ्चालनका लागि शिक्षकलाई ल्यापटपसँगै एआईलगायतका तालिमको व्यवस्था गरेका थियौँ’, विद्यालयका प्रधानाध्यापक खनालले भने, ‘त्यही तालिममा सहभागी शिक्षकले निर्वाचनका लागि आवश्यक पर्ने सफ्टवेर निर्माण गरेर आज निर्वाचन गरेका छौँ । यो सम्भवतः जिल्लामै समुदायिक विद्यालयको पहिलो अभ्यास हो ।’ निर्वाचनका लागि प्रत्येक कक्षा कोठमा ल्यापटपको व्यवस्था गरेर करिब दुई घण्टामा मतदान सकेर २० मिनेटमा स्लाइडका माध्यमबाट नतिजा सार्वजनिक गरेको उनले बताए ।

‘निर्वाचन गर्नुभन्दा पहिले नमुना अभ्यास गरेर सफ्टवेर कत्तिको विश्वसनीय छ भनेर परीक्षण गरेका थियौँ’, प्रधानाध्यापक खनालले भने, ‘नमुना अभ्यासका क्रममा सफल भएपछि मतदान गरेका हौँ ।’