आलोक भावुक
गढवा, १७ जेठ । गढवा गाउँपालिकाले ८४ वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिन थालेको छ । ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण तथा मह वितरण सुरु गरेको हो ।
स्वास्थ्य संस्था पुग्न नसक्ने उमेर समूहका ज्येष्ठ नागरिकलाई सेवा पहुँचमा ल्याउने उद्देश्यले गाउँपालिकाले आठवटै वडामा ‘घरदैलो स्वास्थ्य सेवा कार्यक्रम’ सञ्चालन गरेको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलका अनुसार सामाजिक उत्तरदायित्व तथा मानव सेवाको भावनाले कार्यक्रम सुरु गरिएको हो ।
‘उमेरले गम्भीर प्रभाव पारेका ज्येष्ठ नागरिकहरू स्वास्थ्य संस्थासम्म पुग्न सक्नुहुन्न’, उनले भने, ‘हामी आफैँ उहाँंहरूको घरमा पुगेर स्वास्थ्य परीक्षण, औषधी वितरण तथा पोषणका लागि मह प्रदान गरिरहेका छौँ ।’ अध्यक्ष पोख्रेलले ज्येष्ठ नागरिकलाई समाजको मेरुदण्ड भएको भन्दै ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षामा स्थानीय सरकार गम्भीर रहेको बताए ।
गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन भइरहेको कार्यक्रममा ८४ वर्षभन्दा माथिका एक सय ६७ जना ज्येष्ठ नागरिक समेटिएका छन् । वडा नं. १ देखि ८ सम्मका नागरिकलाई लक्षित गरिएको उक्त कार्यक्रममा वडा नं. १ मा १९ जना, वडा नं. २ मा २४ जना, वडा नं. ३ मा १५ जना, वडा नं. ४ मा २६ जना, वडा नं. ५ मा ३१ जना, वडा नं. ६ मा ३४ जना, वडा नं. ७ मा १६ जना र वडा नं. ८ मा दुई जना छन् ।
कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलसहित वडा नं. ३ का वडाध्यक्ष तुल्सीराम अधिकारी, कार्यपालिका सदस्य चन्द्रा केसी, आधारभूत स्वास्थ्यचौकी गोबरडिहाका प्रमुख कृष्णप्रसाद भट्टराई, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दलगायतको टोलीले शुक्रवार वडा नं. ३ का विभिन्न गाउँमा पुगी ८४ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँच तथा मह वितरण गरिएको थियो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख चन्दका अनुसार कार्यक्रममार्फत् स्वास्थ्य परीक्षणका साथै नियमित औषधी सेवनबारे जानकारी दिइएको र पोषण सामग्री स्वरूप मह वितरण गरिएको छ ।