तुफानबाबु श्रेष्ठ
एकपटक एकजना हिरा व्यापारी एउटा जङ्गलको बाटोबाट गईरहेको थियो । उसले देख्यो कि एकजना कुम्हाले आफ्नो गधाको गलामा एउटा ठुलो हिरा बाँधेर त्यही बाटोतर्फ जाँदै थियो । उसले चकित हुँदै त्यो कुम्हालेलाई सोध्यो– ‘कति पैसा लिन्छौँ यो पत्थरको ?’
कुम्हालेले भन्यो– ‘आठ आना पाए भने दिन्छु ।’ त्यो हिरा व्यापारी लोभिन थाल्यो । उसले भन्यो– ‘यो जाबो पत्थरलाई के गर्छौ ? तिमीलाई चार आना दिन्छु देउ’ तर कुम्हालेले जिद्धी गर्न थाल्यो कि– ‘छ आनाभन्दा कममा त दिँदै दिन्न ।’
कुम्हालेको यस्तो अडान सुने पछि हिरा व्यापारीले सोच्न थाल्यो कि ठिक छ केही बेरमा यो आँफै आएर चार आना मै बेच्नेछ । ऊ थोरै अगाडि बढ्यो तर कुम्हाले फर्किएर आएन ।
तब हिरा व्यापारी कुम्हालेतर्फ फर्केर आयो तर त्यतिन्जेलसम्म बाजी अरू कसैले मारिसकेको थियो किनकि त्यो हिरा अरू कसैले किनिसकेको थियो । उसले सोध्यो– ‘कतिमा बेच्यौँ ?’ कुम्हालेले भन्यो– ‘हजुर पुरै एक मोहरमा बेचिदिए । आठ आना या छ आनामा बेचिदिएको भए त आज ठुलै नोक्सान हुने रहेछ ।’
कुम्हालेको यस्तो कुरा सुनेपछि त्यो हिरा व्यापारीको छाती चस्किन थाल्यो उसले भन्यो– ‘मुर्ख, तिमी त साँच्चैको गधा रहेछौँ । लाखौँको हिरा एक मोहरमा बेचिदियौँ ।’ तब त्यो कुम्हालेले भन्यो– ‘हजुर यदि म गधा हुँदैन थिए त लाखौँको हिरालाई किन गधाको गलामा बाँधेर ल्याउथिए र ? तर तपाईलाई म के भनु ? तपाईलाई त थाहा थियो नि यो त लाखौँको हिरा हो भनेर तैपनि पत्थरको मूल्यमा पनि लिन मान्नु भएन ।’
त्यसकारण कुनै पनि कुराको बारेमा जसलाई थाहा भएर पनि उसको जीवन यदि रुपान्तरित हुन सक्दैन भने ऊ त्यही हिरा व्यापारी जस्तै गधा हो । जसलाई थाहा छैन उ क्षमा पाउन योग्य हुन्छ तर जसलाई थाहा छ उसलाई के भन्ने ?’
सुकरातले एकपटक भनेका पनि छन्– ‘ज्ञान नै चरित्र हो । जसले जाने उनीहरू बदलिए र जसले जानेर पनि बदलिन सकेनन् तरु सम्झिनुस् कि जान्नमा केही खोट छ ।