तुलसीपुर, १६ जेठ । घोराही उपमहानगरपालिका–१९ का नागरिकले घर आगनमै स्वास्थ्य सेवा पाएका छन् । घोराही–१९ सैघामा शुक्रवार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा आँखाका साथै अन्य रोगको निशुल्क उपचार सेवा पाएका हुन् ।
आँखा स्वास्थ्य, मानसिक तथा नसर्ने रोग सम्वन्धि रोगको पहिचानका साथै गाउँमै उपचार सेवा पाउँदा स्थानीयले खुसी व्यक्त गरेका छन । ‘आज हामीले घरआगनमै सुगर, प्रेसर, आँखाका साथै मानसिक स्वास्थ्यको उपचार र परामर्श सेवा पाएका छौ, यसरी गाउँमै सेवा पाउँदा खुसी लागेको छौ’, स्थानीय सुन्तली पुनले भनिन् । सैघाकै रामबहादुर विकले पनि पहिलो पटक वडामै निःशुल्क आँखा जाँच गराएको भन्दै खुसी व्यक्त गरे ।
‘आर्थिक अभाव तथा भौगोलिक विकटताका कारण आँखामा समस्या भएपनि चेकजाँच गर्न पाएको थिएन’,निशुल्क सैघामा आयोजना गरिएको शिविरमा आइपुगेका विकले भने,‘दुवै आँखाले राम्रोसँग नदेख्ने भएको थिए, उपचारका लागि घोराही जान सकेको थिएन । आज वडामै चेकजाँच गराउन पाउँदा निकै खुसी छु ।’ रामबहादुर र सुन्तली प्रतिनिधिमुलक पात्र भएपनि शिविरमा उनीहरु जस्ता धेरैले सेवा लिएका छन् ।
घोराही उपमहानगरपालिकाको सहयोग तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा जाँच सेवा तथा हेल्थ फाउण्डेशन नेपाल दाङको आयोजनामा मानसिक स्वास्थ्य तथा नसर्ने रोग सम्वन्धी रोग पहिचान कार्यक्रममा एक सय ८९ जनाले सेवा लिएका थिए । प्रेसर सुगर तथा मानसिक स्वास्थ्य सम्वन्धि चेकजाँच स्थानीयहरुले गराएको घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राधा पौडेलले जानकारी दिइन् ।

शिविरमा एक सय ८४ जनाको आँखा जाँच गरिएको नेत्र सहायक सपना गौतमले जानकारी दिइन् । चेकजाँच गराएकामध्ये १९ जना मोतियाविन्दुका विरामीहरु फेला परेका छन् । उनीहरुलाई घोराही उपमहानगरपालिकाको सहयोगमा राप्ती आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने छ । त्यस्तै अन्य आँखा चिलाउने विजाउने तथा ४० बर्ष माथिका १ सय ५३ जनालाई निःशुल्क चश्मा र आवश्यक औषधी समेत निःशुल्क वितरण गरिएको प्रमुख पौडेलले जानकारी दिइन् ।
त्यस्तै केहि व्यक्तिहरुमा सामन्य मानसिक समस्या देखिएको हेल्थ फाउण्डेशन नेपालका डा. प्रज्वल पोख्रेलले बताए । त्यस्तै काउन्सीलर यशोधा वलीले विभिन्न व्यक्तिमा मानसिक समस्या देखिएको बताइन् । त्यसका लागि स्वास्थ्य संस्था तथा वडामा काउन्सीलर आवश्यक भएको बताइन् । ‘चेकजाँच गरिएकामध्ये केहीमा सामान्य मानसिक स्वास्थ्य समस्या देखिएको छ, उहाँहरुलाई काउन्सिलिङ आवश्यक छ’,उनले भने । घोराही उपमहानगरपालिका वडा नंं १९ का वडाध्यक्ष ज्ञानबहादुर रायमाझीको अध्यक्षता तथा नगर उपप्रमुख हुमाकुमारी डिसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै उपप्रमुख डिसीले सैघामा स्थानीयहरुको घर आगनमै सेवा दिने उद्देश्यले निःशुल्क शिविर आयोजना गरेको बताइन् ।
‘यो १९ नम्वर वडा धेरै टाढा छ, हामीहरुले कोही पनि अन्धोपनमा जीवन बिताउन नपरोस भनेर आँखा जाँच गरि निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था समेत मिलाएका छौ’,डिसीले भनिन् । उनले सैघामा पुगेर स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने सवैलाई धन्यवाद दिइन् । कार्यक्रममा घोराही उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख राधा पौडेलले यस वडाका साथै अन्य स्थानमा विभिन्न स्वास्थ्य कार्यक्रम आयोजना गरेको भन्दै यहाँको स्वास्थ्य शिविरमा धेरै भन्दा धेरै स्थानीयहरुको सहभागीता रहेको भन्दै प्राविधिक सहयोग गर्ने सवैलाई धन्यवाद दिइन् । त्यस्तै वडा अध्यक्ष रायमाझीले आफ्नो वडामा आई स्वास्थ्य शिविरमा सहयोग गर्ने सवैलाई धन्यवाद दिएका थिए । कार्यक्रमको सहजीकरण सैघा स्वास्थ्य चौकीका प्रमुख ज्वलन्त खड्काले गरेका थिए ।