बङ्गलाचुली–४ तापामा निःशुल्क स्वास्थ्य शिविर, दुई सय बढीले लिए सेवा

दाङ, १६ जेठ । १८औँ गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. २(१) को आयोजनामा बङ्गलाचुली गाउँपालिका–४, तापामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

ग्रामीण भेगका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरमा आँखासम्बन्धी समस्या, स्त्रीरोग, ममोरोग (स्तनसम्बन्धी रोग) तथा फिजिसियन सेवा (सामान्य स्वास्थ्य परीक्षण तथा परामर्श) प्रदान गरिएको थियो।

विशेषज्ञ चिकित्सकहरूको टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श र निःशुल्क औषधि वितरण गरेका थिए। शिविरमा दुई सय बीसभन्दा बढी स्थानीयवासीले सेवा लिएका थिए। उनीहरूले यस्ता सेवा आफ्नै गाउँमै प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेका थिए।

नेपाली कांग्रेस प्रदेश क्षेत्र नं. २(१) का सभापति प्रकाश श्रेष्ठको सभापतित्व तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको प्रमुख आतिथ्यतांमा भएको थियो। शिविर सफल बनाउन नेपाल परिवार नियोजन संघ दाङ, बुद्ध इन्टरनेशनल हस्पिटल दाङ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राविधिक तथा जनशक्ति सहयोग गरेका थिए।

त्यस्तै अन्य औषधि तथा सामग्री वालाजी मेडिको डिस्ट्रीब्युटर्स र पित्लाद मेडिसेल्सबाट उपलब्ध गराइएको थियो। नेपाली कांग्रेस प्रदेश २(१) ले आगामी दिनमा पनि यस्ता सेवा कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। कार्यक्रमको सहजीकरण सचिव शिशिर अधिकारीले गरेका थिए।