खेमराज रिजाल
दाङ, १६ जेठ । गणतन्त्र दिवस समारोह मुल समिति दाङले विविध कार्यक्रमको आयोजना गरी अठारौँ गणतन्त्र दिवस मनाएको छ ।
गणतन्त्र दिवस २०८२ को अवसर पारेर जिल्ला समारोह समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालयबाट विहानै प्रभात फेरि कार्यक्रमको आयोजना गरियो । प्रभातफेरी कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सहित जनप्रतिनिधि, प्रमुख राजनीतिक दलका प्रमुख, सरकारी कार्यालयका कर्मचारी, नागरिक अभियन्ता, सञ्चारकर्मी, अधिकारकर्मी, उद्योगी व्यवसायीलगायत विभिन्न क्लबको समेत सक्रिय सहभागिता रहेको थियो ।
विभिन्न प्लेकार्ड र व्यानरसहितको ¥यालीले घोराही बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको सभाहलमा शुभकामना सभाको आयोजना ग¥यो । गणतन्त्र दिवसमा शुभकामना दिने सहभागीले गणतन्त्रको अर्को विकल्प नभएको भन्दै गणतन्त्रको परिपक्कताको अपेक्षा गरे । गणतन्त्रले अठार वर्ष पार गरिरहँदा अझै पनि गणतन्त्र विरोधी शक्ति पुनः सडकमा सल्बलाउन थालेको र राजतन्त्रको माग गरिएको प्रति सचेत रहन सहभागीले आम नागरिकलाई अपिल पनि गरे ।
नागरिकको सार्वभौमिकतालाई अनुमोदन गर्ने तथा नागरिक स्वतन्त्रतालाई सुरक्षित गर्दै आत्मविश्वासलाई बलियो बनाउने शासन व्यवस्था गणतन्त्र भएकाले यसको संस्थागत विकाशमा सम्पूर्ण गणतन्त्रवादी एक हुनु पर्ने पनि सहभागीको सुझाव रहेको थियो ।
गणतन्त्र दिवस मुल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा आयोजित शुभकामना सभामा स्वागत मन्तव्य व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले अहिलेको समय भनेको सहशासनको भएको भन्दै गणतन्त्रलाई संस्थागत गर्न जनप्रतिनिधि कर्मचारीबिच सहशासनको वातावरण व्यवस्थापन हुन जरुरी रहेको बताए ।
विश्वव्यापी रूपमै गणतन्त्रलाई उच्चतम लोकतान्त्रिक शासकीय व्यवस्था मानिने भन्दै यसको विकल्प खोज्नु अलोकतान्त्रिक चरित्र भएको पनि उनले बताए । गणतन्त्र एउटा व्यवस्था मात्रै होइन, नागरिक चेतनाको सम्बाहक भएको पनि उनको अभिव्यक्ति थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले अढाई सय वर्ष लामो तत्कालीन शाहवंशीय राजतन्त्रात्मक शासन व्यवस्थालाई अन्त्य गर्न नागरिकले विभिन्न माध्यमबाट गरेको संघर्षको सफलता स्वरूप २०६५ जेठ १५ मा मुलुकमा गणतन्त्र स्थापना भएको भन्दै यसलाई अझै बलियो र परिपक्क बनाउनु पर्ने धारणा राखे ।
गणतन्त्रको परिपक्कता भनेकै सुशासन र समृद्धि भएको भन्दै जनतालाई सार्वभौम सम्पन्न बनाउन जनप्रतिनिधिको ठुलो भूमिका रहने पनि उनले बताए । सडकमा देखिएको नागरिक असन्तुष्टि राजतन्त्रप्रतिको आकर्षण नभएर अहिलेको शाशन व्यवस्थाप्रतिको नैराश्यता भएको बताउँदै उनले जनताका आकांक्षालाई स्रोत साधनले भ्याएसम्म सम्बोधन गर्दै जानु पर्ने अहिलेको आवश्यकता रहेको पनि बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति कमानसिंह डांगी, नेकपा एमाले दाङका जिल्ला अध्यक्ष शिवकुमार आचार्य, माओवादी केन्द्रकी नेतृसुषमा शर्मा घिमिरे, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, भुमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष हुकुम बस्नेतलगायतले गणतन्त्रलाई संस्थागत गर्न अझै पनि जागरण र क्रियाशिलता आवश्यकता रहेको बताएका थिए ।
उक्त अवसरमा गणतन्त्र दिवसका अवसरमा आयोजित कर्मचारी÷ जनप्रतिनिधि पत्रकारबिचको मैत्रीपूर्ण फुटबल प्रतियोगिताका सहभागीलाई सम्मानपत्र प्रदान गरिएको थियो । त्यसैगरी गणतन्त्र दिवसकै अवसर पारेर जिल्ला प्रहरी कार्याैलयले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई प्रमाणपत्र एवम् पुरस्कार वितरण गरिएको थियो ।
त्यसैगरी गणतन्त्र दिवसकै अवसर पारेर जिल्ला प्रशासन कार्यालयको समन्वयमा ऐतिहासिक जनआन्दोलनका क्रममा सहिद हुनेका परिवार तथा घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सोही अवसरमा स्वास्थ्य कार्यालय दाङ र रेडक्रस सोसायिटि दाङको संयुक्त व्यवस्थापनमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो । गणतन्त्र दिवस मुल समारोह समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको सहजीकरण पत्रकार आरके शितलले गरेका थिए ।