गोरक्ष समाचारदाता
दाङ, १६ जेठ । गजलकार स्मृति योगीको पहिलो गजल संग्रह ‘अनुराग’ को विमोचन गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा विहिबार भएको कार्यक्रममा गजल संग्रहको विमोचन गरिएको हो ।
राप्ती साहित्य परिषद् दाङका शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा प्रथम महिला महाकाव्यकार बुनु लामिछानेको प्रमुख आतिथ्यता एवम् राप्ती साहित्य परिषद्का केन्द्रीय पूर्व अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा गजल संग्रहको विमोचन गरिएको हो । गजलकार योगीको गजल संग्रह ‘अनुराग’ मा विभिन्न विषय समेटिएर तयार पारिएका ८० वटा गजलहरू समावेश रहेका छन् ।
उक्त गजल संग्रहमा माया, प्रेम, सामाजिक विषयवस्तु, विकृति विसंगतिलगायत विभिन्न विषयहरू समेटिएरे लेखिएका गजलहरू रहेका छन् । गजल संग्रह ‘अनुराग’ को समिक्षा साहित्यकार सन्ध्या रेग्मी र छविलाल कोपिलाले गरेका थिए । उनीहरूले गजलकार योगीलाई समाजमा भए गरेका विभिन्न विषयलाई उठाएर समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै थप प्रगतिको शुभकामना दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, लेखक संघका खगराज न्यौपाने, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणी देवकोटालगायतले शुभकामना व्यक्त गरेका थिए । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष सुरेश पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गरेका थिए ।