गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा खुसी

हिमाल महरा
दाङ, १६ जेठ । बंगलाच्ुली गाउँपालिका–७ बिर्खे निवासी ७८ वर्षीय लीलादेवी रोकालाई वर्षदेखि आङ खस्ने समस्यासँगै घुडा र टाउको दुख्ने समस्याले सताइरहेको थियो । तर, घरको कमजोर आर्थिक अवस्थासँगै एक्लै घोराहीसम्म आउन नसक्ने अवस्थाका कारण उपचार गराउन सक्नुभएको थिएन ।

गणतन्त्र दिवसका अवसरमा नेपाल तरुण दल बंगलाचुली गाउँपालिकाले विहिबार बंगलाचुली गाउँपालिका–७ जबरकोटमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेपछि उपचारका लागि आउनुभएको थियो । उपचारका लागि बिर्खेबाट एक घण्टा पैदल हिडेर जबरकोट आइपुगेकी रोकाले उपचारसँगै औषधी पाउँदा खुसी व्यक्त गर्दै भनिन्,‘उपचारका लागि घोराहीसम्म एक्लै जान सक्ने अवस्था छैन ।

बुढी भएकाले पनि होला घरकाले उपचारका लागि अस्पताल लैजाने जागर गरिनन् । जसले गर्दा उपचार पाउन सकेको थिएनन् । आज गाउँमै स्वास्थ्य शिविर भएकाले आफ्नो समस्या जचाउन पाउँदा खुसी लागेको छ ।’ रोकाको जस्तै समस्या रहेको छ, बिर्खेकै ककी थापाको पनि । ७० वर्षीय थापा अहिलेसम्म उपचारका लागि अस्पताल जानुभएको थिएन् । तर, पछिल्लो समय ५÷६ महिनादेखि थापालाई पेट र टाउँको दुख्ने समस्याले सताउन थालेको थियो । उपचारका लागि गाउँमा स्वास्थ्यचौकी नभएको र एक्लै घोराही बजारसम्म जान नसक्ने अवस्थाका कारण उपचार गराउन सक्नुभएकी थापाले शिविरमा चेकजाँच गराइन् ।

लामो समयदेखि पेट र टाउँको दुख्ने समस्यासँग जुझ्दै आएकी थापाले निःशुल्क रूपमा आयोजना गरिएको स्वास्थ्य शिविरमा उपचार गराउन पाउँदा खुसी लागेको भन्दै भनिन्,‘दुःख बिरामीले सताउँदा समस्या हुने गरेको थियो तर उपचार गराउन पाएको थिएन, आज गाउँमै उपचार गराउन पाउँदा निको हुने आशा लागेको छ ।’

बंगलाचुली–७ जबरकोट निवासी ७६ वर्षीय टीकाराम विश्वकर्माको टाउँको दुख्ने समस्यासँगै खुट्टा सुन्निएको तीन महिना बढी भयो । खुट्टा बढी नै दुख्न थालेपछि उपचारका लागि घोराहीसम्म आएर चेक गराउनका साथै औषधीसम्म लगेका थिए तर सुन्निएको खुट्टा कम भएनन्, न दुख्ने समस्या नै हट्यो । बरु झन चक्कर लाग्ने समस्या बढ्यो । त्यही समस्यासँग जुधिरहेका विश्वकर्माले शिविरमा आफ्नो समस्या स्वास्थ्यकर्मीलाई देखाउँन पाउँदा राम्रो हुन्छ कि भन्ने आशा पलाएको बताए ।

‘भौगोलिक रूपमा विकटता र उपचारका लागि घोराहीसम्म जानु पर्ने अवस्था भएकाले फेरि अस्पतालसम्म जान सकेको थिएन’, उनले भने,‘त्यही भएर खुट्टा दुख्ने समस्या भइरहे पनि घरमै बसिरहेको थिए, यही मौकामा गाउँमै स्वास्थ्य शिविरको आयोजना गरिएपछि जाँच गर्ने मौका मिल्यो अब घोराही जानु पर्दैन कि भन्ने लागेको छ ।’ भौगोलिक रूपमा विकट जबरकोटमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिने उनीहरू प्रतिनिधिमूलक पात्र मात्र हुन् ।

उनीहरू जस्तै शिविरमा दुई सय ७१ जना महिला र एक सय ६३ जना पुरुष गरेर चार सय १३ जनाले विभिन्न स्वास्थ्य सेवा लिएको विक्रम डाँगीले जानकारी दिएका छन् । उनका अनुसार शिविरमा पेट, खुट्टा, टाउँको दुख्नेसँगै आँखासम्बन्धी समस्या, चोटपटक लागेका र प्रजनन् स्वास्थ्यसम्बन्धी परीक्षणसँगै निःशुल्क रूपमा औषधी वितरण गरिएको थियो । साथै गम्भीर प्रकृतिका बिरामीलाई थप उपचारका लागि विशेषज्ञ डक्टरमा गएर चेकजाँच गराउनका लागि सल्लाह दिइएको थियो ।

तरुण दल बंगलाचुली गाउँपालिका अध्यक्ष खुम सोतीमगरको सभापतित्व तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेयको प्रमुख आतिथ्यता एवम् संविधानसभा सदस्य अनिता देवकोटाको विशिष्ट आतिथ्यतामा भएको शिविरको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद सुवेदी, नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका उपसभापति इन्द्रमणि वली, बंगलाचुली गाउँपालिका कार्यपालिका सदस्य गणेश विश्वकर्मालगायतको मन्तव्य व्यक्त गरेका थिए ।

शिविरमा सिदार्थ पोलिक्लिनिकका फिजिसियन डा. बाचस्पति सुवेदी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन डा. सरोज यादव, प्रतिष्ठानकै स्त्री रोग विशेषज्ञ डा. अमृता श्रेष्ठ, ल्याव यमकला गिरी, नर्स भुमा शर्माले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । कार्यक्रमको सहजीकरण तरुण दलका छविराज न्यौापानेले गरेका थिए ।