गोरक्ष समाचारदाता
दाङ, १४ जेठ । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित नागेश्वर महादेव पार्वती मन्दिर क्षेत्रको चौतर्फी विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको ज्ञानमहायज्ञमा २० लाख रुपैयाँ दान सङ्कलन भएको छ ।
सम्पूर्ण हिसाबकिताब हुन बाँकी रहेको महायज्ञ आर्थिक समितिका सदस्य यज्ञ केसीले जानकारी दिए । महायज्ञको सम्पूर्ण हिसाबकिताब गरेर एक हप्ताभित्र सार्वजनिक गरिने बताए । महायज्ञमा मङ्गलवार समापन गरिएको हो ।
महायज्ञमा घोराही–१८ मसिना निवासी लालमणि कुँवर र उनकी श्रीमती बसुन्धरा कुँवर, छोरा अजय कुँवर, बुहारी रिचा कुँवर, छोरी आरती कँुवरले स्वर्गीय बुबा लीलाधर कुँवर र आमा हिमादेवी कुँवरको स्मृतिमा सबैभन्दा धेरै एक लाख दुई हजार पाँच सय २५ रुपैयाँ दान गरेका छन् । मन्दिरको विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको उनको भनाइ छ । मन्दिरकोे समग्र भौतिक पूर्वाधार निर्माण तथा अक्षयकोष स्थापनाका लागि श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञानविज्ञान महायज्ञ तथा शृङ्गारिक महाआरती आयोजना गरिएको हो ।
महायज्ञ जेठ ६ देखि १३ गतेसम्म सञ्चालन भएको थियो । मन्दिरकोे समग्र भौतिक पूर्वाधार निर्माण तथा अक्षयकोष स्थापनाका लागि बजेट नहुँदा महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञको कथा वाचकमा परशुराम पाण्डेय रहेका थिए ।
दलित पूजारी भएको एक मात्र मन्दिरमा भौतिक संरचना अपुग भएकाले महायज्ञ आयोजना गरिएको बताइएको छ । महायज्ञबाट सङ्कलन भएको रकमले मन्दिरलाई पूर्णता दिने व्यवस्थापन समितिले जनाएको छ । महामयज्ञमा कथा वाचन, भजन कस्र्तन, देविलीला भाँक्री तथा चेतनामुलक नाटक प्रस्तुत गरिएको थियो ।