लमही अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि

प्रिया स्मृती गजमेर
देउखुरी, १३ जेठ । लमही अस्पतालमा सेवा लिन आउने सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पताल प्रशासनका अनुसार चालु आर्थिक वर्षको हालसम्म १५ हजार चार सय १७ जनाले सेवा लिएका छन् । जुन अघिल्लो वर्षको तुलनामा एक हजार आठ सय २७ ले बढी हो ।

गतवर्ष अस्पतालबाट १३ हजार पाँच सय ९० जनाले सेवा लिएको प्रशासन प्रमुख हरि खनालले जानकारी दिए । उनका अनुसार अस्पतालमा विशेषज्ञ डाक्टरको उपलब्धतासँगै सेवा प्रभावकारी भएपछि सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो ।

अस्पतालले यसवर्ष सात हजार तीन सय ३१ जनालाई इमर्जेन्सी सेवा, नौ सय ६१ जनालाई भिडियो एक्स–रे र चर हजार तीन सय जनालाई सादा एक्स–रे सेवा प्रदान गरेको छ । यसैगरी एक सय १० वटा पोस्टमार्टम तथा एक हजार पाँच सय बढी इसिजी सेवा अस्पतालले उपलब्ध गराएको छ । करिब पाँच सय बिरामी अस्पतालमा भर्ना भएर उपचार सेवा लिएका छन् भने केही सफल शल्यक्रिया पनि भएका छन् ।

अस्पतालमा हालसम्म तीन जना हाइड्रोसिल, १० जना एपेन्डिसाइटिस, ११ जना हर्निया र पाँच जना हड्डी भाँचिएका बिरामीको सफल शल्यक्रिया गरिएको छ । यसैगरी २३ जना गर्भवती महिलाको सिजेरियन शल्यक्रिया गरिएकोे अस्पताल प्रशासनले जनाएको छ । यसैगरी सुत्केरी महिलाको हकमा मातृसेवा र प्रोत्साहनका कार्यक्रम लागु भएका छन् ।

सुत्केरी महिलालाई अस्पतालको एम्बुलेन्सबाट निःशुल्क घरसम्म पुयाउने सुविधा उपलब्ध रहेको छ । नेपाल सरकारले सुत्केरी महिलालाई दुई हजार नगद र आठ सय रुपैयाँ यातायात खर्च दिँदै आएको छ । यस बाहेक, लमही नगरपालिकाको सुत्केरीसँग उपमेयर कार्यक्रमबाट एक हजार र अस्पतालबाट छ सय रुपैयाँ थप सहयोग स्वरूप उपलब्ध हुन्छ ।

यसैगरी अस्पताल सुधारमा जनशक्ति अभावका कारण समस्या सिर्जना भएको छ । हाल अस्पतालमा पाँच जना एमबिबिएस र दुई जना एमडी जिपी डाक्टर हुनुपर्नेमा तीन जना डाक्टर मात्र कार्यरत छन् । अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा सुदीप चौधरीका अनुसार सेवा प्रवाहमा सकारात्मक परिवर्तन आए पनि जनशक्ति अभाव भने देखिएको छ ।

‘पोष्टमार्टम गर्ने एक जना मात्र डाक्टर हुँदा कहिलेकाहीँ सेवा प्रभावित हुन्छ’, उनले भने । डा चौधरीका अनुसार लमही अस्पताललाई प्रभावकारी बनाउन आवश्यक औषधी अस्पतालमै सहज रूपमा उपलब्ध गराउन आवश्यक छ । लमही अस्पताललाई गुणस्तरीय बनाउन जनप्रतिनिधिले सक्दो प्रयास गर्दै आएका छन् ।

लमही अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नगर प्रमुख जोगराज चौधरीका अनुसार जनशक्ति अभाव हटाउन प्रदेश र सङ्घीय सरकारसँग समन्वय भइरहेको बताए । निर्माणाधीन ट्रमा सेन्टर र लमही अस्पताललाई मर्ज गरेर सञ्चालन गर्ने प्रस्ताव समेत अगाडि बढाइएको जानकारी उनले दिए । आर्थिक अवस्था कमजोर भएका कतिपय बिरामीले निःशुल्क सेवा लिएका छन् ।