गोरक्ष समाचारदाता
तुलसीपुर, १४ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ले ट्राफिक व्यवस्थापनसम्बन्धी सामग्री उपलब्ध गराएको छ । मङ्गलवार एक कार्यक्रमकाबिच वडाध्यक्ष वीरेन्द्र शाहले ट्राफिक सचेतनामूलक बोर्डसहित विभिन्न सामग्री तुलसीपुरका ट्राफिक प्रमुख सई नरेन्द्र शाहीलाई हस्तान्तरण गरेका हुन् ।
ट्राफिक प्रहरीहरूलाई व्यवस्थापनमा सहजता र सम्भावित दुर्घटना न्यूनीकरण होस् भन्ने उद्देश्यले नौ वटा सचेतनामूलक बोर्डसहित २० वटा ट्राफिक कोण र आठ वटा ट्राफिक लाइट (म्याजिक लाइट) उपलब्ध गराएको छ ।
वडाले विगतदेखि नै आपराधिक घटना तथा सवारी दुर्घटना न्यूकीरणका लागि ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय तुलसीपुरलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहकार्य गर्ने वडाध्यक्षले कार्यक्रममा बताएका थिए ।
कार्यक्रममा वडाले उपलब्ध गराएका सामग्री ग्रहण गर्दै ट्राफिक प्रहरी कार्यालय तुलसीपरका प्रमुख शाहीले वडाको यो सहयोगले दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने बताएका थिए । आफूले तुलसीपुरको ट्राफिक प्रमुखको जिम्मेवारीमा आएदेखि स्थानीय सरकारलगायत सबै पक्षसँग समन्वय गरेर दुर्घटना न्यूनीकरण गर्न सहकार्य र समन्वय गरिरहेको बताएका थिए ।
सवारी दुर्घटना न्यूनीकरणमा सबैले हातेमालो गरे अवश्य सफल भइने उनले बताएका थिए । कार्यक्रममा ट्राफिक प्रहरी हवल्दार डिल्ली आचार्य, वडा सदस्य भीमबहादुर केसीलगायतको सहभागिता रहेको थियो ।