परम्परागत सोच र मान्यताले देश बन्दैन : विप्लव

गोरक्ष समाचारदाता
दाङ, १४ जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले परम्परागत सोच र मान्यताले देश बन्न नसक्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी, दाङले मङ्गलवार घोराहीमा आयोजना गरेको समसामयिक विषयमा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रममा विप्लवले शदीहको त्याग, तपस्या र बलिदानीले देश बने पनि राजनीतिक दलमा आएको वैचारिक स्खलनका कारण जनताले चाहे जस्तो देश बन्न नसकेको बताए ।

‘परम्परागत सोच र मान्यताले देश बन्दैन । अहिलेको व्यवस्था स्थापित गर्न धेरैको बलिदानी रह्यो तर यही नै सबै थोक होइन’, उनले भने, ‘नेपालमा यो बिचमा पुँजीवादको विकास भएको छ तर समाजवादको विकास हुनसकेको छैन । बाटाघाटा, सडक पुल पुलेसा बनेका छन् तर जनताको आवश्यकता र चाहना पूरा हुन सकेका छैनन् । परम्परागत सोच र मान्यताबाट माथि उठेर अघि बढ्न जरुरी छ ।’

उनले नेपालमा समाजवादको बहस चले पनि व्यावहारिक रूपमा समाजवाद अवलम्बन गर्ने आँट राजनीतिक नेतृत्वमा नहुँदा समस्या भइरहेको बताए । उनका अनुसार, नेपालमा रसियन, चिनियाँ मोडलको समाजवाद नभई नेपाली मोडेलको समाजवाद चाहिएको छ । नेपालका सबै जातजाति, भाषाभाषी, कला, संस्कृति, परम्परा अटाउने समाजवाद चाहिएको बताए ।

उनले जनयुद्धमा माओवादी आन्दोलनले लिएको एजेण्डा स्खलन हुँदा जनतामा निराशा बढाउने काम गरेका थिए । उनले देशको विकासका लागि सरकार र निजी क्षेत्रबिचको सहकार्य आवश्यक रहेको बताए ।

कृषि क्षेत्रमा राम्रो सम्भावना भएपछि प्रविधि अभावमा धेरै चुनौती रहेको भन्दै भने, ‘हामीकहाँ कृषि प्रविधि छैन । मिहिनेत अनुसारको मुनाफा छैन । नेपालमा भएका कलकारखाना बन्द छ । विदेशीले बनाइदिएको कलकारखाना पनि चलाउन सकेनौँ । कृषिमा राम्रो सम्भावना छ । यसका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ ।’

नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इञ्चार्ज सविन पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दाङका संयोजक हरिमान पुन, एकीकृत समाजवादीका प्रतिनिधि रामप्रसाद चौधरी, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नारायणप्रसाद भुसाल, मानव अधिकारकर्मी विनोद केसी, नेपाल जेसीजका पूर्वकेन्द्रीय महासचिव निशान्त आचार्य, राप्ती इन्जिनियरिङ कलेजका प्रमुख डा. भीमसेन गिरी, रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वली, महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख नारायण पन्थी, शिक्षक तथा बुद्धिजीवी वसन्तप्रसाद रिजाल, प्याब्सन दाङका बरिष्ठ उपाध्यक्ष वीरेन्द्र चन्द, नागरिक समाज दाङका पूर्वसंयोजक चन्द्रराज पन्तलगायतले सुझाव व्यक्त गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी घोराही नगरका इञ्चार्ज पाटन सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव तिलक योगीले गरेका थिए ।