विराटनगर, १३ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति निवासमा भएको पदाधिकारी बैठक आफ्नो बारेमा मात्रै केन्द्रित रहेकोमा अचम्म लागेको बताएका छन् ।
विराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद् उद्घाटन गर्दै डा. कोइरालाले भने,‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, भर्खरै प्रधानमन्त्रीले १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला भन्ने सोचेको थिए तर कुरा त मेरै बारेमा मात्रै भएछ ।’
उनले देशको सर्वोच्च पदमा बसेको व्यक्तिले गैर–राजनीतिक र मुठभेडको भाषा बोल्दा समेत कांग्रेसले यसबारेमा आधिकारिक रूपमा कहिँकतै नबोलेकोमा आफूलाई छक्क लागेको बताए ।
‘प्रधानमन्त्री व्यक्ति मात्र नभएर संस्था पनि हो । त्यो पदमा बस्ने व्यक्तिले बोल्ने हरेक कुराले अर्थ राख्छ’, डा. कोइरालाले भने । उनले थप भने,‘के बाध्यता आइपर्यो त्यस्तो प्रधानमन्त्रीले जे–जे गरे पनि कांग्रेसले छुट दिँदै जाने ?’
पछिल्ला दिनमा कांग्रेसले आफ्नो सैद्धान्तिक मौलिकता बिर्सँदै गएकोमा डा. कोइरालाले चिन्ता व्यक्त गरेका थिए ।
गत जेठ १५ गते प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई “काठमाडौं कब्जा गर्न“ भनी निर्देशन दिएका थिए। यसै सन्दर्भमा डा. कोइरालाले उक्त अभिव्यक्तिप्रति कांग्रेसको मौनताको आलोचना गरेका हुन्।