विद्यार्थीले बनाए समृद्ध उपमहानगर बनाउने योजना

गोरक्ष समाचारदाता
दाङ, १३ जेठ । विद्यार्थीले समृद्ध उपमहानगर बनाउने योजना बनाएका छन् । दीपशिखा आवासीय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीले गरेको नमुना नगर सभाको अभ्यासमा उनीहरूले घोराही उपमहानगरपालिकालाई समृद्धि बनाउने योजना प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुखको रूपमा उत्सव केसीले घोराहीमा समस्याको रूपमा रहेको आधारभूत शिक्षा सर्वसुलभ बनाउने, फोहोर व्यवस्थापन, स्वास्थ्य समस्याको समाधान गर्ने, कृषि क्षेत्रलाई प्रविधिसँग जोड्ने योजना प्रस्तुत गरेका थिए । यसैगरी उनले उपमहागरपालिकामा भौतिक तथा पूर्वाधार विकास एवम् पर्यटन विकासका लागि गर्नु पर्ने योजना सुनाएका थिए ।

नागरिकलाई सिप प्रदान गर्न तथा बढ्दो रोजगारीका लागि बिदेसिने कार्यलाई रोक्न योजना सुनाए । विद्यार्थी सुरक्षा केसीले फोहोर व्यवस्थापनका लागि पटक–पटक कुरा उठाए पनि समाधान हुन नसकेको बताइन् । यसको समाधान कहिले हुन्छ भनेर प्रश्न नगर प्रमुखलाई प्रश्न गरेकी थिइन् । अर्का विद्यार्थी रिजुषी शाक्यले नगर प्रमुखको तर्फबाट योजना प्रस्तुत गर्दै दीर्घकालीन योजना अगाडि बढाउने बताइन् । नागरिकको अपेक्षा अनुसार योजना ल्याएर आफू अगाडि बढ्ने उनले योजना सुनाइन् ।

शिक्षा, स्वास्थ्य कृषि, भौतिक पूर्वाधारलाई समेटेर उपमहानगरको समृद्धिको बाटो खोज्न सकिने उनको योजना रहेको थियो । अर्का विद्यार्थी सुफुजना खड्काले खोलामा पुल समयमा निर्माण हुन नसक्दा नागरिकले समस्या भोग्नु गरेको भन्दै यसको समाधान गर्न माग गरेकी थिइन् । सहभागीले विगत क्षेत्रका नागरिकले विकासको अनुभूति गर्न नपाएको उनीहरूले बताएका थिए ।

विद्यार्थीलाई व्यावहारिक ज्ञानमा सहयोगी भूमिको खेल्ने उद्देश्यले यस प्रकारको कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल प्रदीपराज भण्डारीले जानकारी दिए । विद्यालयले विद्यार्थीलाई व्यावहारिक रूपमा सिकाइका लागि विभिन्न कार्यक्रम गदै आएको बताउँदै विद्यार्थीलाई यसरी अभ्यास गराउँदा कसरी नगर सभामा नीति कार्यक्रम तथा बजेट आउँछ, नागरिकले केकस्ता योजना माग गरेका हुन्छन्, माग भएका नीति कार्यक्रम कसरी कार्यान्वयन गरिन्छ भन्नेबारे ज्ञान विद्यार्थीले सिक्ने विद्यालयको अपेक्षा रहेको छ ।

उनीहरूबाट उत्कृष्ट योजना प्रस्तुत गर्नेलाई पुरस्कृत गरिएको थियो । जसमा रिजोशी शाक्य प्रथम र दीपिका भण्डारी द्वितीय भएका थिए । उनीहरूले प्रस्तुत गरेको योजनाको मूल्याङ्कन शिक्षकहरू अशोक भुसाल, धनबहादुर बिसी र रीता शर्माले गरेका थिए । कार्यक्रम विद्यालय सञ्चालन समितिका अध्यक्ष माधवप्रसाद शर्माको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण छात्रा तेजस्वी डाँगीले गरेकी थिइन् ।