पोषणमार्फत् जीवन रूपान्तरण कार्यक्रमको समीक्षा

गोरक्ष समाचारदाता
दाङ, १३ जेठ । करिब १० महिना अघि दाङका १० वटै पालिकामा सुरु भएको पोषणमार्फत् जीवन रूपान्तरण कार्यक्रमको जिल्लास्तरीय समीक्षा तथा छलफल कार्यक्रम सोमवार घोराहीमा सम्पन्न भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा कार्यक्रम सञ्चालन गर्ने गैरसरकारी संस्था बेस तथा कार्यक्रमका लागि आवश्यक आर्थिक एवम् प्राविधिक सहयोग व्यवस्थापन गर्ने हेलेन केलर इन्टरनेसनलको समन्वयमा सरोकारवालाबिच जिल्लास्तरीय समीक्षा सम्पन्न भएको हो । कार्यक्रममा जिल्लाका १० वटै पालिकाका स्वास्थ्य शाखाका प्रमुख, जिल्ला स्वास्थ्य कार्यालयका पोषण कार्यक्रमका फोकल पर्सन तथा प्राविधिक, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पोषण कार्यक्रमका फोकल पर्सनतथा सञ्चारकर्मीहरूको उपस्थितिमा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका सहभागीले पोषणमार्फत् जीवन रूपान्तरण कार्यक्रमलाई लक्ष्यमा पु¥याउन सबैको साथ र सहकार्यको अपेक्षा गरे । यो कार्यक्रम विशेष गरी कुपोषण लागेका बच्चाको स्वास्थ्य सुधार तथा मातृ शिशु मृत्युदरलाई न्यूनीकरण गर्नका लागि केन्द्रित छ । हरेक पालिकामा शीघ्र कुपोषण र मध्यम कुपोषणमा परेका बच्चाको तथ्याङ्क सङ्कलन गर्ने, उनीहरूलाई पोषिलो खानाका रूपमा सुपरसिरियल प्लस उपलब्ध गराउने र तोकिएको परिणाममा बच्चालाई खुवाउन आमालाई सुसूचित बनाउने तथा आमालाई पनि स्तनपानमा जागरुक बनाउने कार्यक्रमको लक्ष्य रहेको छ ।

कार्यक्रम सुरु भएको १० महिनामा सबै पालिकामा यस्ता बालबालिकाको पहिचान भइसकेको छ भने सम्बन्धित पालिकाको स्वास्थ्य शाखामार्फत् कार्यक्रम समुदाय स्तरमा पुगेको कार्यक्रममा बताइएको थियो । लुम्बिनी प्रदेशमा मातृ शिशु मृत्युदर अत्यधिक रहेकाले यो प्रदेशका दाङ जिल्लासहित केही जिल्लामा यो कार्यक्रम सुरु भएको कार्यक्रम सञ्चालन गर्ने संस्था बेसका कार्यक्रम अधिकृत सुरेश चौधरीले बताएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख किशोर आचार्यको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा कार्यक्रम संयोजक चौधरीले बेसले हालसम्म सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रमको प्रस्तुति गर्दै आगामी दिनमा यो कार्यक्रम पाँच वर्षसम्म चल्ने भएकाले कार्यक्रमलाई फलदायी बनाउन सबैको साथ र सहयोगको अपेक्षा गरे ।

‘पोषणमार्फत् जीवन रूपान्तरण कार्यक्रममा हामी करिब पाँच वर्ष तपाईसँगै रहने छौँ, नेपाल सरकारको स्वास्थ्य नीति र दिगो विकास लक्ष्य हासिल गर्न हाम्रो कार्यक्रम केन्द्रित रहने छ’, चौधरीले भने । कार्यक्रममा हेलेन क्लेनर इन्टरनेसनलका कार्यक्रम अधिकृत अनिल केसीले पोषणमार्फत् जीवन रूपान्तरण कार्यक्रमका विभिन्न चरणका विषयमा जानकारी गराएका थिए । बेसका सचिव रुपलाल चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य शाखाका प्रमुख ओमपी न्यौपानेले पोषणमार्फत् जीवन रूपान्तरण कार्यक्रमले लुम्बिनी प्रदेशमा कहालिलाग्दो रूपमा देखिएको कुपोषण र मातृ शिशु मृत्युदरलाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

दाङ जिल्ला कृषि तथा जलवायुका हिसाबले उपयुक्त जिल्ला हुँदाहुँदै पनि यहाँका बालबालिकामा कुपोषणको समस्या विकराल देखिनु आफैँमा चुनौतीपूर्ण रहेको भन्दै उनले यसलाई न्यूनीकरण गर्न आम स्वास्थ्यकर्मीको भूमिका बढी प्रभावकारी हुनुपर्ने बताए । आफ्नै अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय दाङका प्रमुख आचार्यले कुपोषण न्यूनीकरणका लागि सहकार्य गर्न स्वास्थ्य कार्यालय सधैँ तयार रहेको अभिव्यक्ति दिए ।

‘कुपोषणको प्रभाव दीर्घकालसम्म पर्छ, त्यसैले यसलाई न्यूनीकरण गर्न व्यवहारमा परिवर्तन, समुदायमा सचेतना र निगमनकारी निकायको क्रियाशिलता सँगसँगै लैजानु पर्छ’, स्वास्य कार्यालय प्रमुख आचार्यले भने । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय दाङका फोकल पर्शन गजेन्द्र यादवले गरेका थिए ।