गोरक्ष समाचारदाता
दाङ, १३ जेठ । घोराही उपमहानगरपालिकाले बृद्धि गरेको करको विरोधमा नेपाली कांग्रेस घोराही कार्यसमितिले हस्ताक्षर सङ्कलन गरेको छ । घोराहीले चालु आर्थिक वर्षमा वृद्धि गरेको मालपोत तथा व्यावसायिक कर वृद्धि फिर्ता लिनुपर्ने माग गर्दै नेपाली कांग्रेस घोराही नगर कार्यसमितिले हस्ताक्षर सङ्कलन गरेको हो । घोराहीका १९ वटै वडाबाट सङ्कलन गरिएको हस्ताक्षर आइतवार घोराही उपमहानगरपालिकालाई बुझाएको हो ।
नेपाली कांग्रेस घोराहीका नगर सभापति तिलक रावतको नेतृत्वमा गएको टोलीले घोराही उपमहानगरपालिका उपप्रमुख हुमाकुमारी डिसीलाई सङ्कलन गरिएको हस्ताक्षर बुझाएको थियो । नगर सभापति रावतले जनताको ढाड सेक्ने गरी वृद्धि गरिएको कर फिर्ता गर्नका लागि दबाब दिन कांग्रेसले घोराहीका १९ वटै वडाबाट ३८ मिटर लामो कपडामा छ हजार पाँच सय बढीको हस्ताक्षर सङ्कलन गरेर उपमहानगरपालिकालाई बुझाएको बताए ।
उनका अनुसार चालु आर्थिक वर्षमा घोराहीले मालपोत तथा व्यावसायिक करमा २५ प्रतिशतदेखि १०० प्रतिशतसम्म कर वृद्धि गरेको छ । सङ्कलन गरिएको हस्ताक्षर बुझ्दै उपप्रमुख डिसीले उपमहानगरपालिकाको आन्तरिक स्रोत कम हुँदै गएकाले स्रोत बढाउन कर बढाउने निर्णय गरिएको बताएकी थिइन् । उनले वृद्धि गरिएको करले जनतालाई साच्चिकै समस्या पारेको भए प्रत्येक ३÷३ महिनामा हुने सार्वजनिक सुनुवाइबाट जनताको अभिमत बुझ्दै सच्याउन सकिने धारणा राखेकी थिइन् ।
कांग्रेसले यस अघि नगर प्रमुखलाई कर वृद्धि सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । हस्ताक्षर बुझाउनका लागि नगर सभापति रातवसँगै नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, सचिव बालिका लम्साल, नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का, नेपाली कांग्रेसका नेता भुपबहादुर डाँगी, नेपाली कांग्रेस क्षेत्र नं. २ (१) का सभापति प्रकाश श्रेष्ठलगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।