मकै खेतीबाट आम्दानी लिँदै किसान

प्रिया स्मृति गजमेर
लमही, १३ चैत । लमही नगरपालिका–२ केरुनियाका ५५ वर्षीय किसान काशीप्रसाद चौधरी पछिल्लो समय देउखुरी क्षेत्रकै सफल व्यावसायिक किसानको रूपमा चिनिन्छन् । विगत २० वर्षदेखि कृषि पेसामा आबद्ध चौधरीले परम्परागत खेती पद्धतिलाई छोडेर आधुनिक प्रविधि अपनाएपछि काशीप्रसादले नाम मात्र कमाएका छैनन्, मकै खेती गरेर राम्रो आम्दानी लिन सफल भएका छन् ।

कृषिबाट राम्रो आम्दानी गर्न सफल काशीप्रसाद २०६० सालबाट हिउँदेमकै खेतीमा लागेका थिए । त्योभन्दा पहिले वर्षे मकै मात्र खेती गर्ने गरेका थिए । आधुनिक प्रविधिको सहायताले हिउँदेमकै खेती गर्न थालेपछि छोटो समयमा राम्रो सफलता प्राप्त गरेको उनी बताउँछन् । ‘सुरुमा बाउबाजेले जसरी खेती गर्दै आए, मैले पनि त्यही अनुसार खेती गर्दै आएको थिए’, किसान काशीप्रसादले भने, ‘परम्परागत खेती गर्दा मिहिनेत उत्तिकै लागे पनि उत्पादन कम हुने र खेतीपातीले घर धान्नै गाह्रो हुन्थ्यो तर आधुनिक प्रविधिले उही मिहिनेतमा बढी आम्दानी हुने बनाएको छ ।’

आर्थिक रूपमा कमजोर काशीप्रसादको परिवारले कुनै समय खेती गर्नका लागि आफ्नै जग्गा नहुँदा जग्गा भाडामा लिएर मकै खेती सुरु गरेको उनी बताउँछन् । पहिलो वर्ष राम्रो आम्दानी भएपछि कृषिमा हौसला बढेको र दोस्रो वर्ष सोचेभन्दा दोब्बर फाइदा भएपछि तरकारी खेतीलाई छोडेर मकै खेतीमा लागेको उनी बताउँछन् । करिब तीन बर्ष हिउँदेमकै खेती गरेर आम्दानी भएको पैसाले गाउँमै करिब सात बिघा जग्गा किन्न सफल भएको उनी बताउँछन् ।

वर्षमा दुई बाली मकै खेती गरेर गाउँमा राम्रो आम्दानी गर्न थालेपछि केरुनिया, सोनपुर र बरुवागाउँका अन्य किसानले पनि वर्षेसँगै हिउँदे मकै खेती गर्न थालेको उनी बताउँछन् । ‘अहिले गाउँका प्रायः सबै किसानले मकै खेती गरेका छन्’, उनले भने, ‘तर मैले वर्षमा दुई बाली मकै खेती गर्दा गाउँमा अरूले एक बाली मात्र खेती गर्ने गरेका थिए तर पछि विस्तारै अन्य किसानले पनि दुई बाली खेती गर्न थाले ।’

मकै खेतीसँगै तरकारी खेती र कुखुरापालनमा आबद्ध किसान काशीप्रसादले केही वर्ष अघिसम्म वर्षमा तीन सय क्विन्टलसम्म मकै बिक्री गरेको बताउँछन् । मकैसँगै कुखुरापालनमा आबद्ध भएपछि मकै खेती कम भएको बताउँछन् । चौधरीले तरकारी खेतीसँगै करिब आठ हजार ब्रोइलर कुखुरा पालन गरेका छन् । उनले व्यवसायमा दैनिक १२ देखि १५ जना स्थनीयलाई रोजगारी पनि दिएका छन् ।

लामो समयदेखि कृषि कर्ममा लागेका चौधरीले आफूलाई दक्ष प्राविधिक भएको दाबी गर्दै सरकारी अनुदान नीतिप्रति असन्तुष्टि व्यक्त गरे । ‘बिघौँ बिघा जमिनमा कृषि गर्ने वास्तविक किसानसम्म राज्यको अनुदान कार्यक्रम आउन नसक्नु राज्यको कमजोरी हो’, उनले भने, ‘कृषि फर्म दर्ता गरेर झोलामा बोकेर नेता, सांसद र मन्त्रीको चाकडी गर्नेले मात्र करोडौँको अनुदान रकम पाउने गरेका छन् ।’ राज्यको स्पष्ट नीति नहुँदा व्यावसायिक तरकारी उत्पादन गर्ने किसान मर्कामा पर्ने गरेको बताउँछन् । स्पष्ट नीति नहुँदा ४÷५ कट्ठामा खेती गर्ने र ५÷७ बिघा जमिनमा खेती गर्ने किसानले अहिले समान रूपमा एक÷एक बोरा मल पाउनुपर्ने अवस्था भएको उनले बताए ।

जगनारायण चौधरी पनि काँशीप्रसादकै सिको गरेर मकै खेतीमा लागेका अर्का किसान हुन् । ‘काशीप्रसादजीले ट्याक्टरबाट मकै बेच्न लागेको देख्दा मलाई पनि रहर लाग्यो’, किसान जगनारायणले भने, ‘त्यसपछि मैले पनि वर्षमा दुई बाली मकै खेती गर्न थालेको हुँ, अहिले डेढ बिघा जमिनमा मकै लगाएको छु ।’ अघिल्लो वर्ष ८० क्विन्टल मकै बिक्री गरेको उनी बताउँछन् । विगतको तुलनामा अहिले मकैको मूल्य वृद्धि भएको भन्दै चौधरीले किसानले गरेको दुःख अनुसार मूल्य पाउने वातावरण बनेको बताउँछन् । पहिले मकैको हरियो घोंगा मात्रा बिक्री हुने गरेकाले समस्या भए पनि पछिल्लो समयमा दाना कम्पनी खुलेपछि किसानलाई सहज भएको उनी बताउँछन् ।