दाङ,१२ जेठ। लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले लुम्बिनी प्रदेशमा बाह्य पर्यटकको आगमन बढाउन संघीय सरकारलाई समन्वय गरिदिन आग्रह गरेका छन् ।
प्रधानमन्त्रीसहित संघीय सरकारका मन्त्री तथा प्रदेशका पर्यटन मन्त्रीहरु विच काठमाडौँमा सोमबार भएको राष्ट्रिय पर्यटन संवाद कार्यक्रममा मन्त्री न्यौपानेले बाह्य पर्यटकहरुको आगमनमा प्रहरीको अनावश्यक चेकिङ बाधा बनिरहेको बताए । प्रहरीको अनावश्यक चेकजाँचका कारण बाह्य पर्यटकहरुलाई लुम्बिनी आउन असहज भैरहेको भन्दै यो झन्झटको अन्त्य संघीय सरकारलाइ गरिदिन आग्रह गरे ।
‘हाम्रो प्रदेशमा बाह्य पर्यटकहरु धेरै आउने भनेको भारतबाट हो,तर भारतबाट आउने पर्यटकहरुले अहिले धेरै असहज महशुस गरिरहेको अवस्था छ,’ मन्त्री न्यौपानेले भने ‘प्रहरीबाट हुने अनावश्यक चेकिङले बाह्य पर्यटकहरुलाई सास्ती दिइरहेको अवस्था छ, यो सास्ती न्यूनिकरणका लागि संघीय सरकारबाटै पहल होओस् ।’
भारतबाट लुम्बिनी प्रदेशमा घुम्न आउने पर्यटकहरुले ‘हैरानी बेहोर्नु परेको र लुम्बिनीमा घुम्न नआउने’ भन्दै गुनासो गरेको सुनाउँदै मन्त्री न्यौपानेले यस्तो अवस्थामा पर्यटकहरुको आगमन नहुने र लुम्बिनीको पर्यटन प्रवर्धन सरकारले चाहे जसरी नहुने बताए । प्रदेश सरकारले अनावश्यक चेकिङ हटाउनका लागि पहेँलो स्टिकर छपाइ गरेको तर भारतीय पर्यटकका गाडीहरुमा यो स्टिकर टाँस गर्न प्रदेश सरकारले नसकिरहेको बताए ।
मन्त्रालयले भारतबाट आउने पर्यटकहरुको गाडीमा नाका क्षेत्रमै चेकजाँच गर्ने र पहेँलो कार्ड टाँस गरिदिएपछि अन्य स्थानमा चेकजाँच गर्नु नपर्ने गरि पहेँलो कार्ड छपाइ गरेको थियो । यसका लागि मन्त्रालयले प्रहरीसंग समन्वय गर्न खोजेको तर सम्भव नभएको प्रधानमन्त्री ओलीलाई सुनाए ।
‘भारतबाट भित्रने पर्यटकहरुका गाडीमा पहेँलो कार्ड टाँसका लागि प्रहरीसंग हामीले समन्वय गर्न खोज्यौँ,तर यो सम्भव भएन,’ मन्त्री न्यौपानेले भने ‘माथिबाट आदेश नभएको भन्दै अहिले सम्म पहेँलो कार्ड टाँसको प्रकृया कार्यान्वयन हुन सकिरहेको छैन, प्रधानमन्त्री ज्यूले यसका लागि सहजीकरण गरिदिनु पर्यो, यो कार्यान्वयन हुन सक्यो भने बाह्य पर्यटकहरुलाई धेरै राहत मिल्ने छ ।’
यसैगरि उनले बाह्य पर्यटकहरुको आगमन बढाउनका लागि सडक पूर्वाधार महत्वपूर्ण रहेको बताए । सडक पूर्वाधारको अभावमा कैयन पर्यटकीय स्थलहरुमा पर्यटकहरु पुग्न नसकिरहेको भन्दै मन्त्री न्यौपानेले पर्यटकहरुलाई आकर्षित गर्न पर्यटन क्षेत्रमा पूर्वाधार विकास पनि अपरिहार्य रहेको बताए । उक्त कार्यक्रममा पर्यटक विकासका लागि गरिनु पर्ने कार्यहरुका बारेमा छलफल गरिएको थियो ।