प्रिया स्मृती गजमेर
देउखुरी, १२ जेठ । चितवनका पाँचजना युवाले दाङको गढवामा सामूहिक रूपमा व्यावसायिक केरा खेती सुरु गरेका छन् । निरबहादुर तामाङ, नवराज तिमल्सेना, कृष्णप्रसाद दाहाल, राजाबाबु शाह र दाङका भारत रसाइलीले संयुक्त रूपमा मालभोग जातको केरा खेती सुरु गरेका हुन् ।
चितवनमा लामो समयदेखि केरा खेती गर्दै आएका युवाले व्यावसायिक रूपमा केरा खेती गरेर नेपाललाई केरामा आत्मनिर्भर बनाइ आर्थिक रूपमा बलियो बनाउने उद्देश्यले सुरुवात गरेको बताएका छन् । अहिले यी कृषि फर्ममा वार्षिक दुई हजार जनाले रोजगार पाएका छन् । गढवा गाउँपालिका वडा नम्बर ४ को पर्सा÷पर्सौनीमा २६ बिघा, वडा नं. ६ को हाँसीपुरमा १८ बिघा र वडा नं. ७ को झारबैरामा ४४ बिघा गरी करिब ८८ बिघा जमिन पाँच वर्षका लागि भाडामा लिएर केरा खेती गरिएको छ ।
जनता माध्यमिक विद्यालय गढवाको जग्गा र विभिन्न किसानका खाली जग्गा भाडामा लिएर विगत दुई वर्षदेखि केरा खेती गर्दै आएका हुन् । पहिलो वर्ष ४४ बिघा जमिनमा केरा खेती गरे पनि दोस्रो वर्ष क्षेत्रफल बढाइएको छ । चारजना युवा कृषकले दाहाल केरा फर्म र तिमल्सेना कृषि फर्म चितवनमा दर्ता गरेका थिए । लामो समयदेखि चितवनमा व्यावसायिक केरा उत्पादन गर्दै आएका उनीहरूले देउखुरीमा केरा खेती थालेको कृषक निरबहादुर तामाङले बताए । ‘पहिलो वर्ष लगानी बढी लाग्यो, झन्डै एक करोड लगानी गरेर केरा खेती सुरु ग¥यौँ र ८० लाखको मात्र केरा बेच्न सक्यौँ’, तामाङले भने । एक वर्षमा एक पटक मात्र उत्पादन दिने केरा खेती गर्न सके आम्दानी पनि राम्रै हुने अर्का किसान कृष्णप्रसाद दाहाल बताउँछन् ।
‘प्राविधिक ज्ञान नभए पनि लामो समयदेखि केरा खेती गर्दै आएकाले केही सिक्न पाइएको छ, केरामा आउने ससाना समस्यालाई हामीले आफैँ नियन्त्रण गर्ने गरेका छौँ तर ठुलो समस्या भयो भने प्राविधिक सहयोग लिने गरेका छौँ’, दाहालले भने । अहिले दाहाल केरा फर्म र तिमल्सेना कृषि फर्मबाट उत्पादन भएका केरा दाङका लमही, घोराही, तुलसीपुरलगायतका बजारमा पुगेको छ । ‘अहिले हामीले उत्पादन गरेको मालभोग केरा प्रतिकोसा सात रुपैयाँका दरले बजारमा बिक्री गरिरहेका छौँ, भारतबाट केरा नेपालमा नआए यहाँ उत्पादन भएकोे केराले बजार पाउने र मूल्यसमेत पाउनेछ, यो विषयमा राज्य गम्भीर हुनुपर्छ’, दाहालले भने । उनले जुनसुकै खेती गर्दा पनि किसान नै मारमा पर्ने गरेको बताए ।
केही दिन पहिले आएको हावाहुरीले दाहाल केरा फर्म र तिमल्सेना कृषि फर्ममा करिब २२ सय केराका बोट भाँचिदिएको किसानको भनाइ छ । किसानलाई समस्याका अनेकन चाङ छ, खेती गर्दा समयमा रासायनिक मल नपाउने ठुलो समस्या छ । अहिलेसम्म कुनै पनि अनुदानको कार्यक्रम आफूहरूले नपाएको कृषक राजाबाबु शाहले बताए । ‘यो वर्ष कृषि ज्ञान केन्द्र दाङले एउटा बोरिङको व्यवस्था गरिदिएको छ भने ९० कट्ठा जमिनको भाडा तिरिदिने भनेको छ, यस बाहेक राज्यबाट पाउने अनुदान हामीले पाएका छैनौँ, आफ्नै तरिकाले खेती गरिरहेका छौँ’, शाहले भने । कृषकले उत्पादन गरेका सबैखाले कृषि उपजलाई राज्यले बजारीकरणमा सहयोग गर्नुपर्ने उनले बताए ।
स्थानीय सरकारको बेवास्ता
चितवनमा कृषि फर्म दर्ता गरेर दाङको गढवामा आएर केरा खेती गरिरहेका युवा किसानले स्थानीय सरकारले प्रोत्साहन गर्नुको साटो बेवास्ता गरेको बताएका छन् । सुरुमा फर्म सूचीकृत गर्नका लागि पालिका गएको भए तापनि त्यो वर्ष समस्या भोग्नु परेको भन्दै किसान कृष्णप्रसाद दाहालले अहिले अनुरोध गरेपछि फर्म सूचीकृत भएको बताए ।
‘किसानलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा अप्ठ्यारो बनाएको हामीले महसुस ग¥र्यौँ’, उनले भने । पालिका जानुभन्दा कृषि ज्ञान केन्द्र जानु उचित लाग्ने गरेको उनको भनाइ छ । यता गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले भने केरा खेती गरिरहेका किसानले माग गरे आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सकिने बताएका छन् ।