‘संस्कृत विश्वविद्यालयलाई तालाबन्दीबाट मुक्त गरौँ’

अमरराज आचार्य
दाङ, १२ जेठ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपालले संस्कृत विश्वविद्यालयलाई तालाबन्दीबाट मुक्त बनाउन आग्रह गरेका छन् । नागरिक समाज दाङले आइतवार घोराहीमा आयोजना गरेको नेपाल संस्कृत विश्वविद्यालयको समस्या, चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपकुलपति प्राडा नेपालले तालाबन्दीका कारण संस्कृत विश्वविद्यालयको काममा अवरोध भइरहेको भन्दै तालाबन्दी गर्ने कार्य सधैँका लागि अन्त्य हुनुपर्ने बताए ।

तालाबन्दीका कारण विश्वविद्यालयको उपकुलपति स्वयम् पीडित हुनुपर्ने अवस्था भएको भन्दै कार्यक्रममा नेपालले भने, ‘विश्वविद्यालयमा केही नयाँ र राम्रो काम गर्ने सोच बनाएर आएको थिए तर म आउने बित्तिकै तालाबन्दी हँुदा काम गर्ने वातावरण बनेको छैन ।’ विश्वविद्यालयको विकाससँगै उद्देश्य अनुसार अघि बढाउन सबैको सहयोग आवश्यक रहे पनि लामो समयदेखि तालाबन्दी हुँदा प्रशासनिक कार्य ठप्प रहेको बताए ।

विश्वविद्यालयमा देखिएका समस्या समाधानका लागि सबैसँग सहमति र सहकार्य गरेर अघि बढ्न तयार रहेको उपकुलपति नेपालको भनाइ थियो । ‘हाम्रै कारणले विश्वविद्यालय बिग्रिएको हो, यसलाई सुधार गर्न हामी पदाधिकारी, कर्मचारी तथा सरोकारवाला मिलेर अगाडि बढ्नु पर्छ’, अन्तरक्रिया कार्यक्रममा उपकुलपति नेपालले भने, ‘सबैसँग सहकार्य गरेर अगाडि बढ्न चाहन्छु, यसका लागि काम गर्ने वातावरण निर्माण गरिदिनुहोस् ।’

विधि र प्रक्रिया अनुसार काम गर्ने वातावरणका लागि सबै तयार हुनुपर्ने उनले बताए । संस्कृत विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग जोडेर अघि बढाउने योजना रहेको भन्दै उपकुलपति नेपालले भने, ‘मैले विश्वविद्यालयमा व्यक्तिगत स्वार्थका लागि काम गर्ने छैन ।’
नेपाल संस्कृत विश्वविद्यालयको अन्तर्राष्ट्रि स्तरमा रहेको गौरव जोगाउन आवश्यक रहेको भन्दै उनले त्यसका लागि तालाबन्दी र नेतृत्वलाई घेराबन्दीमा पार्ने कामको अन्त्य हुनुपर्ने बताए । कुनै समस्या भए वार्ता र छलफलको माध्यमबाट समाधान गर्न सकिने भए तापनि ताला लगाउने गलत संस्कृतिले विश्वविद्यालयलाई दिन प्रतिदिन कमजोर बनाउने खेल भइरहेको उनको धारणा थियो ।

नागरिक समाज दाङका संस्थापक अध्यक्ष नारायणप्रसाद शर्माले विश्वविद्यालयको विकासमा सबै एकताबद्ध हुन आवश्यक रहेको बताए । राजनीतिक रूपमा विभाजित हुँदा विश्वविद्यालयको विकास हुन नसक्ने भन्दै संस्थापक अध्यक्ष शर्माले विश्वविद्यालयको विकासका लागि साझा धारणा आवश्यक रहेको बताए । नेपाल संस्कृत विश्वविद्यालयका रजिस्टार प्राध्यापक माधव अधिकारीले अविश्वास र शङ्का गर्ने प्रवृतिका कारण विश्वविद्यालयमा समस्या भएको बताए ।

विश्वविद्यालयको विकासका लागि आफूहरू लागिपरेको भन्दै रजिस्ट्रर अधिकारीले विश्वविद्यालयको विकासका लागि विभिन्न योजना निर्माण भए पनि बजेटको कारण समस्या भएको बताए । संस्कृत विश्वविद्यालयको विकासका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न आवश्यक रहेको उनले बताए । ‘दाङको गौरवको रूपमा रहेको संस्कृत विश्वविद्यालयलको विकासमा सबैको सहकार्य आवश्यक छ’, उनले भने, ‘हामी सहकार्य गरेर अगाडि बढ्ने छौँ ।’

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले विश्वविद्यालयलाई अगाडि बढाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । विश्वविद्यालयले विद्यार्थीले उठाएका आन्तिरक समस्याको समाधान आफैँले गर्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी लम्सालले यसका लागि विश्वासको वातावरण हुनुपर्ने बताए । ‘संस्कृत विश्वविद्यालयलाई अवरोध नगरी सहयोग गर्नुपर्छ’, प्रमुख जिल्ला अधिकारी लम्सालले भने ।

कसैले पनि आन्दोलनको नाममा अवरोध तथा तालाबन्दी गर्न नहुने भन्दै आवश्यक परे प्रशासन नीति र विधि अनुसार अगाडि बढ्न तयार रहेको बताए । यसैगरी नेपाली कांग्रेसका जिल्ला सचिव अर्जुन योगीले विश्वविद्यालयमा विश्वासको वातावरण निर्माण गरेर अगाडि बढे समस्याको समाधान गर्न सकिने भन्दै त्यसका लागि विश्वविद्यालय र आन्दोलनरत पक्ष बसेर छलफल गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।

यसैगरी नेकपा एमालेका जिल्ला अध्यक्ष शिवकुमार आचार्यले ताला लगाएर समस्याको समाधान नहुने भन्दै भने, ‘तालाबन्दीले विश्वविद्यालयको विकास गर्दैन, समस्या समाधानका लागि छलफल र सम्वाद जरुरी छ ।’ नेकपा माओवादी केन्द्रका जिल्ला सचिव विश्वराज आचार्यले आफूहरू तालाबन्दी गर्न हुँदैन भन्ने पक्षमा रहेको बताए । विद्यार्थीसँग भएका सम्झौता कार्यान्वन गरेर विश्वविद्यालय अघि बढ्नुपर्ने बताए । राप्रपाका पूर्वकेन्द्रीय सदस्य नरेशजंग राणाले राजनीतिक भागबन्डाले संस्कृत विश्वविद्यालय बिग्रिएको भन्दै राजनीतिबाट विश्वविद्यालयलाई अलग राख्नुपर्ने बताए ।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले आन्दोलनका कारण विश्वविद्यालयको विकास हुन नसकेको बताए । नेकपा माओवादी विप्लवका पाटन सीले पदाधिकारी नियुक्तिमा राजनीतिकीकरण हुँदा विश्वविद्यालयमा लामो समयदेखि समस्या उत्पन्न हुने गरेको भन्दै विश्वविद्यालयमा हुने राजनीतिलाई हटाउन जरुरी रहेको बताए । यसैगरी क्रान्तिकारी कम्युनिस्ट पार्टीका ईश्वरीप्रसाद गैरेले राज्यका कारण नै शैक्षिक क्षेत्र समस्यामा परेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष डा सुदीप गौतमले अदालतले विश्वविद्यालयमा आन्दोलनको नाममा ताला लगाउन नपाउने पूर्णआदेश दिएको भन्दै यसको पूर्णरूपमा कार्यान्वन गराउन प्रशासन लाग्नुपर्ने बताए । कार्यक्रममा विद्यार्थी संगठनका नेताहरू कुलराल पोख्रेल, अभयप्रताप चोभे, सेवक भट्टराई, खुमन पौडेल, गोविन्द मल्लले विद्यार्थी र विश्वविद्यालयका पदाधिकारीबिच विश्वासको वातावरण बनाएर अगाडि बढ्न सके समस्या समाधान हुने बताएका थिए ।

उनीहरूले विद्यार्थीहरूसँग पटकपटक भएका समझौताहरू कार्यान्वन हुन नसेको भन्दै विश्वविद्यालयलाई सम्झौता कार्यान्वयनका लागि जिम्मेवार बन्नुपर्ने बताए । कार्यक्रम समाजका जिल्ला संयोजक निमबहादुर थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा समाजका पूर्वसंयोजक केबी मसालले कार्यपत्र प्रस्तुत गरेका थिए । नागरिक समाजका पूर्वसंयोजक चन्द्रराज पन्तको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नागरिक समाज दाङका सुशील गौतम र अनिता पोख्रेलले गरेका थिए ।

 

पाँच महिनादेखि विश्वविद्यालयमा ताला

नेपाल संस्कृत विश्वविद्यालयमा विगत पाँच महिनादेखि गरिएको तालाबन्दीका कारण प्रशासनिक, आर्थिक र शैक्षिक गतिविधि प्रभावित हुँदै आएको छ । तालाबन्दीका कारण बेलझुण्डीस्थित केन्द्रीय कार्यालय र अनुसन्धान केन्द्रका कर्मचारीले कार्यालय बाहिरै हाजिरी गर्ने गरेका छन् ।

विश्वविद्यालयमा अनियमितता रोकी दोषीलाई कारबाही गर्नुपर्ने, केन्द्रीय आयुर्वेद विद्यापीठमा अस्पताल निर्माण गर्नुपर्ने, केन्द्रीय आयुर्वेद विद्यापीठ र वीपी संस्कृत विद्यापीठ सोलुखुम्बुमा छात्राबास निर्माण गर्नुपर्नेलगायतका माग राख्दै माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीले २०८१ पुस १२ गते केन्द्रीय कार्यालयको मूलगेटमा ताला लगाएको थियो ।

अनेरास्ववियु क्रान्तिकारीले लगाउनुभन्दा पहिले २०८१ असार २ गतेदेखि असोजको १२ गतेसम्म सय दिन विश्वविद्यालयमा तालाबन्दी भएको थियो । विश्वविद्यालयमा भएको तालाबन्दीका कारण प्रशासनिक कामसँगै कर्मचारीले तलब खान सकेका छैनन् । विश्वविद्यालयमा पठनपाठन भने भइरहेको छ ।