सीपमुलक तालिमले महिलालाई उद्यमशील बनाउँछ : प्रमुख चौधरी

प्रिया स्मृति गजमेर
देउखुरी, ११ जेठ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सीपमूलक तालिमले महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उनीहरूलाई उद्यमशील बनाउने बताएका छन् ।

लमही नगरपालिका–१ वडा कार्यालयको आयोजनामा भएको कटाई–सिलाई तथा गिफ्ट बनाउने तालिमको आइतबार उद्घाटन गर्दै नगर प्रमुख चौधरीले सीप सिकाइले महिलालाई आत्मनिर्भर बन्नसँगै उद्यम गर्न प्रेरित गर्ने बताए ।

‘सीपले महिलालाई मात्र होइन, परिवार र समाजलाई पनि रुपान्तरण गर्न सहयोग गर्छ’,कार्यक्रमका प्रमुख अतिथि चौधरीले भने,‘म विश्वस्त छु कि यो तालिमले महिलाहरूलाई उद्यमी बन्ने दिशामा ठोस पाइला चाल्न मद्दत गर्नेछ ।’ तालिम उद्घाटन समारोहमा वडा अध्यक्ष दामोदर पौडेलले कार्यक्रम गृहिणी महिलालाई स्वरोजगार र उद्यमीतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे । वडा अध्यक्ष पौडेलले तालिमपछि महिलाहरूले लुगा सिलाउने, सजावट सामग्री बनाउने र गिफ्ट आइटमका सामग्री उत्पादन गरी बजारमा बिक्री गर्न सक्ने गरी क्षमता विकासमा ध्यानदिनुपर्ने बताए ।

‘महिला सशक्तिकरणप्रति स्थानीय सरकारको प्रतिबद्धता रहेको छ’, वडा अध्यक्ष पौडेलले भने,‘दीर्घकालीन रूपमा यो तालिम महिलाको आर्थिक र सामाजिक उन्नयनमा सहायक हुनेछ ।’ सोही अवसरमा पत्रकार प्रियास्मृती गजमेरले राज्यले दिएको यो अवसरलाई महिलाहरूले सदुपयोग गर्नुपर्ने सुझाव दिदै महिलाहरू केवल चुलोचौका मात्र सीमित नभई अव सिप सिकेर उद्यम सिलताका जोडिनुपर्ने बताए । फुर्सदमा बस्नुभन्दा कुनै पनि व्यवसायमा जोडिन सके खाली समयको बचतसँगै आर्थिक रुपमा बलियो बन्न सहयोग गर्ने भन्दै वडा अध्यक्ष पौडेलले तालिमबाट नयाँ नयाँ कुराको ज्ञान हासिल गर्नुपर्नेमा जोड दिए ।

आर्थिक वर्ष २०८१÷८२ को वडागत बजेट अन्तर्गत सञ्चालन गरिएको तालिममा वडा नं. १ का ६८ जना महिलाहरूले सहभागिता रहेको छ । तीमध्ये ३४ जनाले ३० दिने कटाई–सिलाई तालिम र बाँकी ३४ जनाले १५ दिने गिफ्ट बनाउने तालिम लिनेछन् । तालिममा सहभागी महिलालाई सिलाई–कटाईका आधारभूत सीप, कपडाबाट गिफ्ट बनाउने तरिका र विविध रचनात्मक कला सिकाइनेछ ।
तालिमबाट महिलाले भविष्यमा घरेलु उद्यम सञ्चालन गर्दै आत्मनिर्भर बन्न सक्ने अपेक्षा गरिएको छ ।

कार्यक्रम लमही नगरपालिका– १ का वडा अध्यक्ष दामोदर पौडेलको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको थियो । कार्यपालिका सदस्य किरण चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव विन्तिराम चौधरीले गरेका थिए । तालिमको प्रशिक्षकमा रुपा रोका रहेकी छिन् ।