जातीय पहिचानका लागि मगर एकता आवश्यक

गोरक्ष समाचारदाता
दाङ, ११ जेठ । सामाजिक, सांस्कृतिक र राजनीतिक पहिचानका लागि सबै मगरबिच एकता हुनुपर्नेमा मगर अगुवाले जोड दिएका छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङको शनिवार घोराहीमा भएको १२ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् । वक्ताहरूले मगर जातिको भाषा, कला, भेषभुषा, संस्कार र संस्कृतिलाई लोप हुन नदिन चेतना स्तर बढाउँदै दैनिक जीवनमा लागु गरेर एकताको सन्देश दिन एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिए ।

नेपाल मगर संघ जिल्ला संघ दाङका कार्यवाहक अध्यक्ष मुक्त बुढा मगरको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल मगरका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगरले मगर समुदायको बलियो एकताका लागि समुदायका सबै मगर देख्न र मगर चिन्न सबैले ध्यान दिनुपर्ने बताए । मगर समुदायको योगदानलाई निश्तेज पार्न विभिन्न चलखेल भइरहेको भन्दै उनले मगरको विविधतामा एकता कायम गर्नु अहिलेको आवश्यकता रहेको बताए । मगरभित्र अन्तर विरोध हुनु स्वाभाविक भए पनि यसलाई कमजोरी देखाएर सिंगो मगर समुदायको अस्तित्वमाथि षडयन्त्र रच्ने कामका विरुद्ध सशक्त रूपमा प्रतिवाद गर्न सबै मगर समुदायलाई उनको आग्रह थियो ।

नेपाल मगर संघका सहअध्यक्ष गंगा थापा मगरले आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसङ्ख्या भएको मगर समुदायको माग मुद्दालाई सरकारले सधै बेवास्ता गर्ने गरेको प्रति गुनासो गरिन् । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि राज्यले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै राज्यले मगर समुदायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन मगर समुदाय नै जागरुक हुनु पर्ने उनको भनाइ थियो । मगरले इतिहासमा समाज र राष्ट्र हितका पक्षमा योगदान दिएको भन्दै समुदायको हितका पक्षमा अब उभिने बेला आएको बताइन् ।

मगर समुदायको सामाजिक, शैक्षिक, राजनीतिक, आर्थिक क्षेत्रमा राज्यले गरेको व्यवहार र समुदायले गरिरहेको प्रयासको विषयमा समीक्षा गर्दै अघि बढ्नुपर्ने समय आएको उनले बताइन् । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दरजित रोका, महासचिव टेकबहादुर लाम्घाली, उपमहासचिव सावित्रा राना मगर, केन्द्रीय सदस्य सितलाल पुन लगायतले मुलुकको सामाजिक–राजनीतिक परिवर्तनमा मगर समुदायको योगदान महत्वपूर्ण रहेको बताउँदै राजनीतिक आन्दोलन समाप्त भएकोले अब आफ्नो समुदायको पहिचान रक्षा गर्नतर्फ ध्यान दिनु पर्ने बताए ।

उक्त अवसरमा, नेपाल मगर संघका प्रदेश सल्लाहकार हरिमान पुन, दाङ जिल्ला पूर्व अध्यक्ष खलु पुन मगर, जिल्ला सदस्य लुमाकान्त कवर मगर, दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष ध्रुवराज गहतराज, नेपाल पत्रकार महासंघ दाङ शाखा सचिव जे एन सागरलगायत भनाइ राखेका थिए । नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङका उपाध्यक्ष खगेन्द्र पुन मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सहसचिव नरेन्द्र बुढाले गरेका थिए । मगर संघले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । कुल ९३ जना जिल्ला प्रतिनिधि रहेका छन् ।