गोरक्ष समाचारदाता
दाङ, ११ जेठ । घोराही उपमहानगरपालिका–१८ मा रहेको अम्बिकेश्वरी मन्दिर संरक्षण तथा संवद्र्धन समितिको दोस्रो साधारणसभा शनिवार सम्पन्न भएको छ । अम्बिकेश्वरी मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।
साधारणसभालाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले धार्मिक क्षेत्रलाई चलायमान बनाउँदै विकास गर्नका लागि आयआर्जनलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । धार्मिक क्षेत्रबाट उठ्ने आयआर्जनलाई व्यवस्थित गर्दै योजनाबद्ध रूपमा अघि बढ्नसके धार्मिक क्षेत्रको विकास हुने बताए । धार्मिक क्षेत्रले मानिसलाई सकारात्मक सोचका साथ अघि बढाउनका लागि सहयोग गर्ने भन्दै नगर प्रमुख चौधरीले धर्मले हरेक नागरिकको मनलाई पवित्र बनाउने बताएका थिए ।
पर्यटन क्षेत्रको विकास गर्दै आयआर्जन गर्नका लागि अम्बिकेश्वरी मन्दिरसँगै गोरक्ष रत्ननाथ चौघेरा, पाण्डवेश्वर धारापानी र बराहक्षेत्र बाह्रकुने दहलगायतका धार्मिक क्षेत्रलाई जोड्दै अघि बढ्नुपर्ने आवश्यक रहेको बताएका थिए । नगरकातर्फबाट धार्मिकस्थल पुग्नका लागि बाटो स्तरवृद्धि गर्दै प्रवर्धनमा स्थानीय सरकार लागेको भन्दा नागरिकले पनि धार्मिकस्थललाई सरसफाई राख्ने, हरियाली प्रवर्धनसँगै फूल फुलाएर राम्रो वातावरण बनाउनका लागि सहयोग गर्नु पर्ने बताएका थिए ।
साधारणसभामा बोल्ने अन्य वक्ताले जिल्लाकै प्रशिद्ध धार्मिक स्थल अम्बिकेश्वरीसँगै जिल्लामा धार्मिक एवम् पर्यटन क्षेत्रको विकासका लागि साझा धारणा बनाएर अघि बढ्नु पर्ने बताएका थिए । साधारणसभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष कुमोद पोख्रेल, समाजसेवी चन्द्रराज पन्त, पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्य, बराहक्षेत्र धार्मिक एवम् संवद्र्धन समितिका अध्यक्ष देवबहादुर पुन, गोरक्षरत्ननाथ मठ चौघेराका शंकरनाथ योगी, बयलडाँडा चौतारी क्लबका उपाध्यक्ष हुर्मत वली, मन्दिरलाई सहयोग गर्ने दाताका तर्फबाट अर्चना रेग्मी, लेख समितिका उपसंयोजक कमल गौतम, गुरुकुल एकेडेमी घोराहीका अध्यक्ष अनन्तराज घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभामा समितिका कोषाध्यक्ष माधव चौधरीले तयार गरेको आर्थिक प्रतिवेदन बासुदेव रिजाल र सांगठनिक प्रतिवेदन सचिव दामोदर भुसालले प्रस्तुत गरेका थिए । साधारणसभाका अवसरमा मन्दिरको विकासका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्ने विभिन्न दातालाई सम्मान गरिएको थियो । उपाध्यक्ष श्रीधर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव दामोदर भुसालले गरेका थिए ।