गोरक्ष समाचारदाता
रोल्पा, ११ जेठ । सुनिलस्मृति गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणको लागि छलफललाई अगाडि बढाएको छ । विभिन्न विषयका जानकारसँग सुनिलस्मृति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेटको विषयमा छलफल र विभिन्न विषयका जानकारसँग राय, सुझाव लिन थालेको हो ।
शुक्रवार गाउँपालिकाले जिल्लामा क्रियाशील पत्रकारसँग आगामी आर्थिक वर्षको बजेट निर्माणको विषयमा छलफल गरेको हो । समाजको मुद्दालाई प्राथमिकतामा राख्दै सरकारको गल्ती कमजोरी लेख्ने पत्रकारसँग छलफल गरियो भने नीति तथा कार्यक्रम निर्माणमा सहयोग हुने सुनिलस्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले बताए । पालिकालाई देशका अन्य स्थानीय तहको नजर पुग्ने हिसाबले मोडेलको रूपमा विकास गर्न आफू लागेको उनको भनाइ छ ।
सरकारप्रति सधैँ खबरदारी गर्ने निकाय पत्रकारले दिएको सल्लाह सुझावलाई मनन् गर्दे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै बजेट निर्माण गर्ने उनले बताए । जिल्लामा क्रियाशील पत्रकारसँगको छलफलका क्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष खुवानी सुनारी मगरले सरकारलाई वैदेशिक रोजगारीको अवस्थालाई रोक्न चुनौतीको रूपमा रहेको बताइन् । वैदेशिक रोजगारीलाई रोक्ने खालको नीति तथा कार्यक्रम सरकारले ल्याउनुपर्ने उनको सुझाव थियो । ‘कृषिमा उत्पादन हुन्छ तर बजारीकरण हुँदैन भन्ने चुनौती छ’, उनले भनीन्, ‘स्थानीय सरकारले उत्पादनको बजारीकरणमा प्राथमिकता दिनुपर्छ ।’
यसैगरी प
त्रकार महासंघका संस्थापक सभापति कासीराम डाँगीले बजार क्षेत्रलाई व्यवस्थित गर्नका लागि सुझाव दिए । सरकारले विकास निर्माणमा स्थानीयलाई रोजगारमा संलग्न गराउने तवरले सोच्नुपर्ने बताए । विकासको दृष्टिकोणले नमुना गाउँको रूपमा विकास गर्नमा उनले सुझाब दिए । महासंघका पूर्वअध्यक्ष खेम बुढाले सरकारको नीति तथा कार्यक्रममा दिगो विकासमा जोड दिनुपर्ने बताए । गाउँपालिकाले विकास निर्माणममा आफ्नै छुट्टै नीति ल्याउन आवश्यक रहेको बताए ।
पालिकाले आफ्नो स्थानीय क्षेत्राधिकारभित्र रही गरेको कामलाई तथ्याङ्कमा देखाउन आवश्यक रहेको उनको भनाइ थियो । छलफलमा अधिकांश पत्रकारले बजेट निर्माणमा स्थानीय सरकारले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका थिए । पूर्वाधार विकासमा मात्र जोड नदिएर शिक्षा, स्वास्थ्य, यातायात सामाजिक विकासलगायतको पक्षलाई ध्यानमा राखेर नीति कार्यक्रम बनाउन सुझाव दिएका थिए ।