पाँच लाख भारतीय रुपैयाँसहित व्यक्ति पक्राउ

अजय मिश्र
कृष्णनगर, १० जेठ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगरले पाँच लाख भारतीय रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

शुक्रवार बिहान करिब ११:३० बजे, कृष्णनगर नगरपालिका–३ स्थित ट्रान्समिटर भन्ने स्थानबाट शंकास्पद रूपमा पैदल हिँडिरहेका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले उनलाई रोकेर खानतलासी गर्दा झोलाभित्र प्लास्टिकमा राखिएको भारतीय पाँच सय दरका १० गड्डी नोट (कुल पाँच लाख रुपैयाँ) फेला पारेको जानकारी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन मणी अधिकारीले दिएका छन्।

पक्राउ पर्ने व्यक्ति ओखलढुङ्गा जिल्ला, साविक सानिवन गाविस–९ हाल चम्पादेवी गाउँपालिका–१०, रानीवन निवासी ४३ वर्षीय रामकुमार तोलाङ्गी हुन्। उनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल रुपन्देही पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।