प्रा.डा.नारायण चालिसे
धेरै वर्षपछि साहित्यको संसारमा कवि विपुल पोख्रेलसँग पुनः भेट भएको छ । हिजोका ती शालीन युवा आज कविका रूपमा प्रकट हुँदा अत्यन्त खुसी लागेको छ । कवि विपुल पोख्रेल मेरा प्रिय भाइ हुन् । हामीले सँगसँगैजस्तो साहित्यमा पाइला राखेका हौँ ।
मैले शालीन कविताको साधना र सम्मान गर्नै सकिनँ बिचैमा कविता लेख्न छोडेँ । कविता र विपुलको पनि केही समय भेटघाट छुटेको रहेछ । कवि र कोमलताका बिचमा पनि घनिष्ठ साइनो हुन्छ क्यारे ? प्रायः कविहरू विपुलजस्तै शान्त हुन्छन् । जीवनको शान्त तलाउमा शब्दका गोटी फालेर लामो आकारमा तरङ्ग ल्याउने क्षमता राख्ने धेरै कविहरू धीर अनि गम्भीर देखेको छु । अपवादमा कविहरू अस्थिर, चञ्चल र आक्रामक पनि देखिन्छन् । तर शान्त कविले गहिरो गरी विचारको लक्ष्यभेदन गर्ने सामथ्र्य राख्छ ।
कताकता लामो बाटो हिँडेपछि विपुललाई पुनः कवि हुन मन लागेर यतातिर आकर्षित भएछन् । कविता र उनको पुरानै साइनो छँदै थियो त्यसमाथि कविताको थोरै आराधना बाँकी थियो । विपुलले पनि कविता बिसाएर लामो समय अखबारी दुनियामा रमेका थिए । उनले देशकै पत्रकारहरूको नेतृत्व पनि गरे । जब जीवनमा अनेकौँ प्रहारहरू खेप्न प¥यो अनि उनलाई पुनः कवि हुन मन लाग्यो । प्रहार यस मानेमा कि आफ्नो विचार, चेतना र इच्छाभन्दा पर गएर कुनै काम गरिन्छ वा परिणाम आइलाग्छ भने त्यो कुरा कविको निम्ति प्रहार समान हो । र उनले कविता लेख्छु अब भनेर अगाडि सरेछन् । भन्न त उनले अब कविता लेख्छु भनेका छन् तर उनले कविता लेखेको भन्दा पनि समयका सत्यहरूले कविताका रूपमा उनीबाट लेखिई मागेको जस्तो लागेको छ ।
अरूतिरबाट वितृष्णा जागेपछि लेख्ने विषय पनि कविता नै रहेछ भन्ने बोध भएको कुराले खुसी लाग्यो । म एकछिन सोच्न बाध्य भएँ विपुलले भनेका छन् अखबारका पानाभरि अनगिन्ती समाचारहरू लेखेँ तर ती समाचारले मैले चाहेको कुरा सम्प्रेषण गर्न सकेनन् । मैले जे लेखेँ त्यो जसरी बुझ्न पर्ने हो त्यसरी बुझिएन बरू अन्यथा बुझियो । अनि मलाई लाग्यो अब म कविता लेख्छु । कवितामा त्यो शक्ति रहेछ जुन शक्ति अखबारका अक्षरमा रहेनछ । अखबारका समाचारले दिनहुँ सचेत गराउँदा पनि नब्युँझेको समाज कविताले जाग्छ भन्ने उनको पछिल्लो विश्वासलाई सम्मान गर्न मन लाग्यो ।
विपुलले हाम्रो भेटमा कवितासङ्ग्रहको नामका विभिन्न विकल्पहरू अगाडि सारे । त्यसमध्ये एउटा विकल्प ‘बाको अनुहार’ पनि थियो । यो शीर्षक सुन्दै मलाई झट्ट लाग्यो योभन्दा सुन्दर अर्को शीर्षक हुनै सक्दैन । आहा ! कति मिठो अनि आत्मीय ‘बाको अनुहार !’ पहिलो कुरा ‘बा’ भन्ने शब्द नै पर्याप्त छ जीवनमा । बालाई मात्र बुझ्न सकियो भने जीवनका धेरै असजिलाहरू त्यसै पार गर्न सकिन्छ ।
किनकि गहकिलो संस्थालाई सङ्केत गर्ने सम्मानित शब्द हो ‘बा’ । त्यसमाथि संस्थाजस्तै उच्च ‘बा’ भैदिए भने त त्यसको गरिमा नै बेग्लै हुने भैहाल्यो । अनि कवि विपुलका ‘बा’ भन्नेबित्तिकै मनमा श्रद्धा भरिएर आयो ।
विपुलले बाजस्ता बालाई नरोजेर कवितासङ्ग्रहको शीर्षक अरू रोज्नै मिल्दैनथ्यो । विपुलका ‘बा’ मेरा अनि अरू धेरैका पनि प्रेरणास्रोत हुनुहुन्छ । कवि विपुल तिनै प्रतिभासम्पन्न पिताको प्राज्ञिक काखमा हुर्किएर पिताजीकै चिन्तन र विचारका उत्तराधिकारी बन्ने प्रयत्नमा लागेका नवप्रतिभा हुन् अनि यो पुस्तक त्यसतर्फको उनको पहिलो पाइलो हो ।
जीवनमा ‘बा’ शालीन सङ्घर्षको पर्याय हो । जीवनको सङ्ग्राममा उनले युद्ध हार्दा धेरैको पराजय हुन्छ । त्यसैले ‘बाहरू’ सधैँ युद्ध जित्ने अभियानमा हुन्छन् । ‘बा’ बन्न सजिलो छैन, धर्ती बोक्ने आँट चाहिन्छ । आकाश ढाक्ने छहारी चाहिन्छ । बालार्ई हेर्न दिव्यचक्षु चाहिन्छ । भगवान् श्रीकृष्णले अर्जुनलाईजस्तो सन्तानलाई संसार देखाउन सक्ने सामथ्र्य हुन्छ भने बासँगै हुन्छ । श्रीकृष्णले आफ्नो विराट् रूप देखाउँदा भगवान्को दिव्य रूपभित्रका अनगिन्ती अवस्थाहरूलाई हेर्न नसकेर अर्जुन डराएका थिए तर बाले देखाएको संसार हेर्न सक्ने सामथ्र्य सन्तानमा हुनुपर्दछ । बाले देखाएको बाटो अथवा बालाई मनपर्ने बाटो हिँडेको सन्तानले नै बाको दिव्य रूपको दर्शन गर्ने क्षमता राख्दछ ।
बाको दिव्य रूप देख्न नसकेर सन्तानहरूले बालाई आफ्नो विराट रूप बन्द गर्न अनुरोध गर्न पर्ने अवस्थामा हामीभित्र बालार्ई देख्न सक्ने सामथ्र्य आउनै बाँकी छ भन्ने बुझ्नुपर्दछ । धेरै विराट् हुन्छन् बाहरू । सन्तान अर्जुनजस्तै नबनेसम्म बालाई आफ्नो पितृत्वमा भरोसा हुँदैन त्यसैले त बाहरूले आफ्ना सबै सन्तानलाई समयको मैदानमा धनुर्विद्या सिक्न पठाएका हुन्छन् । कोही कर्ण, कोही युधिष्ठिर, कोही अर्जुन, कोही एकलव्य, कोही दुर्योधन यी सबैमा बाका अनुहारको प्रतिबिम्ब आएकै हुन्छ । समयको कराहीमा भकभकी नउम्लेसम्म बा, बा बनेका हुँदैनन्, छोरो, छोरो बन्न सक्दैन । सन्तानका दृष्टिमा स्थिरता नआएसम्म लक्ष्यभेदनको सम्भावना नरहने हुनाले बाले सन्तानलाई सधैँ साना देखिरहेका हुन्छन् । त्यसैले बा हामीलाई ढाकेर राख्ने ओत हुन् ।
गोबर्धन पर्वत उचालेर हामीलाई प्रकोपबाट बचाउने अनि द्रोणगिरि पर्वत (कसैले सञ्जीवनी पर्वत पनि भन्छन्) उठाएर सन्तानको उपचार गर्ने पनि बा नै हुन् । बाको अनुहारमा यति धेरै कुरा देखेन भने सन्तानले बालाई देखेको ठहरिँदैन । त्यसो त सन्तान बन्न पनि सजिलो छैन । बाले सन्तान जन्माउँछन् सन्तानले बाको उचाइ थप्दै जान्छन् । बा आकाश हुन् आवश्यकता पर्दा धर्ती पनि हुन् । सानो छउन्जेल बाभन्दा ठुला मानिस संसारमा अरू कोही छैनन् भन्ने हुन्छ जब यौवन आउँछ बाभन्दा नजान्ने अरू कोही छैनन् भन्ने हुन्छ । जब आफू पनि बा भइन्छ अनि फेरि बाको महत्त्व बढेको आफैलाई अनुभव हुन्छ ।
बाको महत्त्व पूरै बुझ्दा नबुझ्दै बा नै संसारबाट गइसक्छन् अनि महत्त्व मात्रै बाँकी रहन्छ । बा छँदै बाको महत्त्व बुझियो भने बाबाट धेरै कुरा सिक्न सकिन्छ । बाले सिकाउँछन् समयका घाउहरू । अनि ती घाउहरू कसरी पुर्ने भन्ने विषयमा बालाई जत्तिको ज्ञान अरू कसैलाई हुँदैन । जहिलेसम्म छोरो सानै हुन्छ उसलाई बाको अनुहारको त्यति ख्याल हुँदैन । कुनै समय यस्तो आउँछ बाको अनुहारमै सन्तानले आफ्नो भविष्यको बाटो कोरिएको पाउँछ । आफ्नो भविष्य हेर्नका निम्ति सन्तानलाई बा चाहिन्छन् । त्यसैले त बाबिनाको संसार अधुरो रहन्छ सन्तानलाई ।
कवि विपुल पोख्रेलले ‘बाको अनुहार’ ल्याएर मेरा अगाडि राखिदिँदै मेरा ‘बाको अनुहार’का विषयमा केही लेखिदिनैपर्छ हजुरले भनेपछि मलाई लाग्यो योभन्दा गह्रौँ भारी अरू केही छैन । विपुलका ‘बाको अनुहार’ भन्ने वित्तिकै मैले पनि मेरा वैचारिक मार्गद्रष्टा विद्वान् विचारक विनोद पोख्रेललाई सम्झेँ अनि विपुलका कविताभरि जताततै उनका बाको अनुहार फैलियो ।सङ्ग्रहमा विपुलका कविताको विषयक्षेत्र धेरैतिर छ । समय नै यस्तो शिक्षा हो जसले धेरै कुरा लेख्न सिकाउँछ । ज्ञान र अनुभवको असमेल भारी बिसाउन छट्पटी भएपछि कलमलाई साथी बनाउन जानेकाहरूले लेख्न थाल्छन् ।
त्यो लेखाइ कवि मनबाट बाहिर आउँदा कविता भएर आउँछ । यस सङ्ग्रहमा कवि विपुलका आत्मानुभूतिहरू कविता भएर आएका छन् । भन्न त मनको तितो पोख्दैमा कविता कहाँ बन्छ र ? त्यो त केवल आत्मरोदन मात्र हुन्छ पनि भनिन्छ । निश्चय पनि कविताको चरित्र, गुण, धर्म नबुझेर कविता बन्दैन तर सबैले सिद्धान्त पढेर कविता लेख्न बसेका हुँदैनन् । सिर्जनाको संसारमा कहिलेकाहीँ दृश्य मात्रै, कहिले अनुभूति मात्रै र कहिले भावना मात्रै पनि उत्कृष्ट कविता बनेर आउँछ ।
जीवन र जगत्को विभिन्नतालाई कविको मौलिकताले आफ्नो बनाएको हुन्छ । विपुलले पनि विषय उस्तैउस्तैमा आफ्नो दृष्टि र शैली प्रयोग गरेर कवितालाई आफ्ना बनाएका छन् । तल सङ्केत गरिएका धेरै कविताका शीर्षक अरू धेरै कविका कविताका पनि शीर्षक होलान् तर तिनै वस्तुलाई हेर्ने कविको निजात्मकताले ती शीर्षक यहाँ विपुलका कविता बनेका छन् ।
आमाको सुर्ता, बाको अनुहार, माटो, आँसु, सडकको महानता, अक्षर र निर्माण, कविताको मन, म नेता बनेँ, म नेता मेरो वकपत्र, कविता लेख्छु अब, प्रियतमा र जून, तिमी कविता हौ, प्रियतमा, म पोखिएँ, भीरफूल र प्रेम, रेखा, एउटा आह्वान, एउटा पे्रमिल दृश्य, फुटुकी, परिस्थिति, चराहरू, स्वतन्त्रता, म पनि तिम्रो कित्तामा उभिन्छु, पितृको छायाँ, चालक, आऊ प्रेम बुझाऔँ, प्रेम सिकाऔँ, पुरुष वेश्याको बयान, मन्दिर, आर्यघाट, गरी जम्मा तीसवटा शीर्षकमा कवि विपुलले आफ्नो कविताको शरीर निर्माण गरेका छन् ।
माथिका कविताहरूले एकजना मानिसको जीवनचक्र तयार भएको छ । पहिलो कविता आमा जीवनको प्रारम्भ हुन् भने अन्तिम कविता आर्यघाट जीवनको समाप्ति हो । आमाबाट सुरु भएर आर्यघाट पुग्दा जीवन समाप्त भएको छ । कवितारूपी यस शरीरका बिचमा जीवनका उहापोहहरू उनिएका छन् ।
जीवन छ, आँसु छ, हाँसो छ, खुसी छ, दुःख छ, प्रेम छ , त्याग छ, समर्पण छ, प्रतिज्ञा छ, अठोट छ, पीडा छन्, ग्लानि छ, आशा छ, निराशा छ, यथार्थ छ, कल्पना छ, रहर छ, सपना छन्, कर्तव्य छ, निष्ठा छ, इमान छ,मन छ, मस्तिष्क छ, आस्था छ, विश्वास छ र अन्त्यमा आर्यघाट छ । मलाई यो संरचना पनि साङ्केतिक लाग्यो ।
लेख्न त उनले सबैभन्दा पहिले मिठो गरी आमाका कुरा लेखेका छन् । मनमा घाउ लागेको बेरोजगारीका कुरा गरेर नेपाली युवाको वर्तमान अवस्था लेखेका छन् ।
सन्चो थिएन मलाई,
बृद्ध मेरी आमा मेरो कोठामा आइन्,
स्वयम् बिसन्चोको भारी बोकेकी छिन् वर्षौँदेखि
मलाई सन्चो गराउन अर्को बिसन्चो थप्दैछिन् । (आमाको सुर्ता)
कविले समान हैसियतमा सबैको गन्तव्य नाप्ने साझा भावना बोकेको सडकका कुरा लेखेका छन् । हिजो पनि सडक सबैको गन्तव्य थियो र आज पुगिसरी आउँदा पनि सडक नै सबैको गन्तव्य बन्नाले हाम्रो यात्रा सडकदेखि सडकसम्मै हुनेरहेछ भन्ने बोध गराएका छन् ।
हे सडक तेरो महानता
तँ सबैको साक्षी बसेको छस्,
आयु खोज्नेलाई आयु दिएको छस्
गुजारा चलाउनेलाई आश्रय दिएको छस््
उपयोग गर्नेहरूका लागि लम्पसार सुतेर साथ दिएको छस्
मान्छेको मन पनि यत्तिकै महान् हुन सकेको भए…। (सडकको महानता) त्यसपछि उनले हिजो ज्यादै आस्था र सम्मानले हेरिने तर आज आफ्नै मर्यादा जोगाउन नसकेका जनतालाई कठपुतली ठान्ने नेताका कुरा लेखेका छन् ।
आज म नेता भएको छु,
आफ्नो स्पेस खोजिरहेको छु,
प्रतिस्पर्धीहरूप्रति निर्मम भएको छु,
जनताका पक्षमा बोल्नका लागि,
अलि बेफुर्सदिलो भएको छु । (म नेता बनेँ)
अनि त्यति नै मिठो गरी प्रेमको आदर्शका कुरा लेखेका छन् । प्रेमको मूल्य मापन गर्न उनले प्रियतमाका कुरा पनि पटकपटक लेखेका छन् ।
जूनजस्तै छिन् मेरी प्रियतमा,
वा प्रियतमाजस्तै तिमी जून छौँ,
मलाई थाहा छैन,
मेरो मनले उस्तै देख्छ दुवैलाई । (प्रियतमा र जून)
विश्वव्यापी हुङ्कार फैल्याएर मानव अस्तित्वलाई चुनौती दिने कोरोनाका कुरा लेखेका छन् । विपुलले रूपका कुरा लेखेका छन् । सौन्दर्यका पनि कुरा लेखेका छन् । सङ्घर्षका कुरा लेखेका छन् र विरामका पनि कुरा लेखेका छन् । वर्तमान समयमा नेताको कस्तो बिम्ब खडा भएको छ त्यो कुरा लेखेका छन् । कवितालाई उनले आफूलाई सबैभन्दा प्रिय लागेको कुरा भनेर सम्बोधन गरेका छन् । अतिवादले ढाकेको समाजमा सीमारेखाको महत्त्वका कुरा लेखेका छन् ।
सामाजिक विभेदलाई सन्तुलनमा ल्याउने हो भने रेखाको महत्त्वलाई बुझ्नै पर्ने कुरा लेखेका छन् र लेखेका छन् माटोको महिमा कुरा । माटो सुगन्ध हो । माटो सिर्जना हो । माटोको सुगन्ध लिन जान्नुपर्छ । त्यति मात्र होइन माटोको रोदन बुझेर माटोको संरक्षण गर्न अनि माटोको सजीवतालाई आनुभव गरेर माटोको बोली सुन्न सक्नुपरेको कुरालाई पनि लेखेका छन् ।
माटो बोल्छ रे,
माटाले सुन्छ रे,
द्विविधामा पर्दा
माटोलाई सोध्नु रे,
माटाले जे भन्छ त्यही गर्नु रे (माटोको गर्व)
कविले हर्षले, दुःखले वा कोमलताले बग्ने आँसुको नदीका कुरा लेखेका छन् अनि आँसु मन र आँखाको गहिराइ नाप्ने यन्त्र भएको कुरा लेखेका छन् । अप्ठ्यारोमा फक्रिने प्रेमफूलका कुरा लेखेका छन् । काँडाको बिचमा फक्रिएको गुलावको सुगन्ध र सौन्दर्य आँकलन गर्न काँडासँग जुध्नुपरेजस्तै प्रेमको अग्निपरीक्षामा उत्तीर्ण हुन असुरक्षासँग सचेत रहनै पर्ने कुरा लेखेका छन् ।
कविले तत्त्वज्ञान प्राप्त भएझैँ गरी ज्यादै दार्शनिक भावमा अक्षरब्रह्मका कुरा लेखेका छन् ।
अक्षरहरू कोरिइरहने छन्
राष्टू निर्माणका खातिर
सिर्जनाहरू बगिरहने छन्
त्यसैले सबैको अस्तित्व स्वीकार गर । (अक्षर र निर्माण)
हुन त कविताले देश बन्दैन, साहित्यले मात्रै पनि देश बन्दैन तर अक्षरहरू निर्माणका प्रतीक हुन् । अक्षरमा रहेको शक्तिलाई बुझेको खण्डमा अक्षरले दिशानिर्देश गर्छन् । अक्षर अभिव्यक्तिका पाना हुन् । कर्तव्याकर्तव्यका सूचक हुन् । अक्षरले झुटो बोल्दैनन् तर चिसा अक्षरमा प्राण भर्न सक्नुपर्छ । राष्टूनिर्माणमा अक्षरलाई उपयोग गरौँ । अक्षरमा राष्टू रचौँ । अक्षरमा पसिना पोखौँ अनि अक्षरको सिर्जनालाई सुन्दर पारौँ भन्ने कविको सन्देश कवितामा व्यक्त भएको छ ।
त्यति मात्रै पनि नभएर समयलाई अगाडि राखेर कविले आजको पुस्तालाई आह्वान गरेका छन् कि जात, धर्म, वर्ण र सम्प्रदायको घेराभन्दा माथि रहेको मानवतालाई जगाऔँ । सहकार्य र सहअस्तित्वका माध्यमले नवीन मूल्य र मान्यता सहितको राष्टिूय संस्कृतिको निर्माण गरौँ भन्ने पनि कविको आह्वान रहेको छ । त्यसैगरी कविले ‘बाको अनुहार’मा शान्ति, सिर्जना, आन्दोलन, सङ्घर्ष, भविष्य, पीडा, स्वाभिमान, गर्व, आत्मविश्वास, सुन्दर सपना, भविष्यको मार्गदर्शन, प्रश्न, चिन्ता र चासो सबै कुरा रहेको निष्कर्ष निकालेका छन् ।
बाको अनुहारमा सङ्घर्षको इतिहास छ
पीडाको चाङ छ,
चोटहरूको डाम छ,
दुःख भोग्ने पात्र हो मेरो बा,
मेरा लागि र ‘मुहरूको पुस्ताका लागि ।
(बाको अनुहार)
कवि स्वतन्त्रताका हिमायती रहेका छन् । मानवीय स्वतन्त्रता स्वच्छन्द नहोस् । स्वतन्त्रता अभिमान बनोस् । स्वतन्त्रता क्रान्तिको पर्याय बनोस् । व्यक्तित्व बनोस् । सत्यको बाटो बनोस् । मिलनको मार्ग बनोस् । सत्सङको महाअभियान बनोस् भन्ने कविको तीव्र चाहना रहेको छ ।
सत्यको बाटो हो,
सफलताको बाटो हो,
तनहरूको मिलनमार्ग हो,
सत्सङको महाभियान हो
मित्र, त्यो नै स्वतन्त्रता हो । (स्वतन्त्रता)
कविले जङ्गलमा उम्रिने फुटुकी च्याउलाई दृष्टान्त बनाएर फक्रिन पाए च्याउ फक्रिन नपाए भान्साको तरकारी मानेर फुटुकी र सन्तानलाई एउटै अवस्थाको मानेका छन् । सप्रिए सन्तान च्याउ हुने बिग्रिए फुटुकी बन्नु पर्ने अवस्थालाई कविले मार्मिक ढङ्गले देखाएका छन् । त्यसैगरी कविले वर्गीय समाजमा सम्भ्रान्त घरको सन्तान भएर आडम्वरी जीवन बाँच्नुभन्दा विपन्न घरमा जन्मिएर धेरैको आदर्श बन्न पाउने अवसरलाई सम्मान गरेर आफूले पाइआएको कथित सम्भ्रान्तको कित्ता फेरेर लोभलाग्दो स्वतन्त्रतालाई वरण गर्ने विपन्न वर्गको क्रान्तिनायक बन्न चाहेका छन् ।
तिम्रो स्वरमा स्वर मिलाउन
सातौँ तलादेखि उत्रँदै छु,
परिवेश बदल्नका बाधक टाइसुट फालेर
म तिम्रो कित्तामा आउँदै छु ।
(म पनि तिम्रो कित्तामा उभिन्छु)
यसैगरी कविले चौतारीमा रोपिएका वरपिपलको महिमागान गर्दै धेरैलाई छहारी दिन सक्ने वरपिपलको महत्त्व नबुझ्नेहरूप्रति दया देखाएका छन् । संसारमा नारी मात्र वेश्या हुने भन्ने मान्यताका विपक्षमा पुरुष वेश्याको वयान गर्ने नौलो प्रवृत्तिका कुरा हुन् वा सबैले तिरस्कार गर्ने चालकका कुरा हुन् सबैको मूल्य समाजमा स्थापित हुनुपर्ने कुरा गरेका छन् ।
जसरी मोटर चलाउने चलकको जिम्मेवारीमा धेरैको जीवन रहेको हुन्छ त्यसरी नै देश चलाउने चालकले पनि सोच्नुपर्ने हो भन्ने विषयमा कविको सुन्दर धारणा पाइन्छ । कविले प्रेमलाई शीर्ष भूमिकामा राखेर प्रेमको आदर्शलाई पटकपटक उजागर गर्ने प्रयत्न गरेका छन् । कविले आफ्नो र मन्दिरका बिचको साइनोलाई देखाएर विश्वासले ढुङ्गालाई ईश्वर बनाउँछ भने अविश्वासले ईश्वरलाई ढुङ्गामा परिणत गरिदिन्छ ।
यद्यपि यो निजी स्वतन्त्रताको कुरा हो । मन्दिर, मस्जिद, गिर्जाघर यी सबै विश्वासका महल हुन् । जब मन्दिरमा विश्वास चढाइन्छ हरेक मन्दिरका ढुंगा देवता बन्छन् । त्यस्तै विश्वास छ भने हरेक मानिसको मनमा मन्दिर तयार हुन्छ ।
विचार निर्मल भएपछि त्यही नै धर्म हो । मन्दिरमा पाप लुकाउन होइन पाप पखाल्न जान सक्नुपर्छ । मन्दिरले पनि भक्तलाई भरोसा दिन सक्नुपर्छ,खराब कर्मलाई देबताले पनि रुचाउँदैनन् भनेर कविले कविताका माध्यमले आफ्नो विश्वास प्रकट गरेका छन् ।
तिमी अपेक्षाको सूचिका साथ
मन्दिर गएको देखेको छु,
म, मैले विसर्जन गर्ने प्रवृत्तिको
सूचि बोकेर त्यहाँ पुगेको छु । (मन्दिर)
र, अन्त्यमा कवि हदैसम्मको दार्शनिक बनेर आर्यघाटमा उभिएर समताको सन्देश दिएका छन् । कविले आर्यघाटलाई आखिरमा सबै आउनुपर्ने, सबैले बिसाउने अन्तिम चौतारी हो भनेका छन् । भ्रमलाई मेटाउने सबै प्रकारका विभेदलाई जलाउने त्यति मात्र होइन आफूसँग छ भन्दै आएको शक्ति, सामथ्र्य र अहङ्कारलाई पोल्ने अनि तत्त्वज्ञानको ढोका खोल्ने ठाउँ पनि आर्यघाट हो भन्ने कविको धारणा रहेको छ ।
मेरा लागि सबै समान छौ,
सबैको अन्त्य मेरै काखमा हुने हो,
उस्तै समय,
उस्तै सरजाम,
उही आगो,
अनि उस्तै खरानी,
राजादेखि रङ्कसम्म,
मेरै काखमा,
मेरै आँखा अगाडि
एकै प्रकारले विसर्जन भएका छन्
मनुष्यको अन्तिम मूल्याङ्कन गर्ने पात्र हुँ
हो ! म आर्यघाट हुँ । (आर्यघाट)
साथै कविले मानवता जगाउने सबै प्रकारका सन्दिग्ध चरित्रलाई जलाउने अनि बाँचेकालाई नयाँ जीवनको शिक्षा दिने थलोका रूपमा आर्यघाटलाई चित्रण गरेका छन् । विपुलले जेजति लेखेका छन् हरेक परिस्थिति र परिवेशमा बाका कुरा लेखेका छन् । खोट लेख्दा होस् अथवा चोट लेख्दा होस् कविले बालाई नै लेखेका छन् । विपुल पोख्रेलले औसत कविता नै लेखेर पनि अद्वितीय यस अर्थमा छन् कि उनले कवितामा मौलिक दृष्टि लगाएका छन् । वस्तुविधान, भावविधान, लयविधान, शिल्पविधान, बिम्ब र प्रतीकविधान आदिमा कविताको ठुलो सामथ्र्य अडेको हुन्छ ।
निरन्तरको अभ्यास र साधनाले कवितामा निखार बढ्दै जान्छ । अन्य व्यस्ततालाई घटाएर कविताको साधनामा समय बढाउँदै जाने हो भने विपुलका कविताको सौन्दर्य थपिँदै जाने निश्चित छ । यतिका वर्षपछि सङ्ग्रह निकाल्दा विपुलले कवितामा अझै निखार ल्याउनुपथ्र्यो । भाव र शिल्पको सुगठनमा अझै ध्यान पु¥याउनुपथ्र्यो भन्ने पाठकको चित्त बुझाउन विपुलले कविताको थप आराधना गर्नैपर्ने छ ।
निश्चय पनि एउटै सङ्ग्रहमा सबै कुरा अटाउन सकिँदैन जसरी एउटै माघले जाडो जाँदैन । एउटै घटनाले सबै कुराको आँकलन गर्न मिल्दैन । अनगिन्ती सीमाहरू हुँदाहुँदै पनि विपुलका कविताले जीवन जगत्को वर्तमान यथार्थलाई बोल्ने प्रयत्न गरेका छन् । जीवन हामीले नचाहेरै भएको स्वीकारेजस्तै विपुलका कविताले पनि जीवनको यस्तै विसङ्गतिलाई सम्बोधन गरेका छन् । म कवि विपुलको निरन्तर सिर्जनशील जीवनको कामना गर्दछु ।