खगराज न्यौपाने
भाइ रमेश, शुभ आशीष
यहाँ नेपालमा हामी सबै आराम छौँ । आजभोलि गर्मी बढेको छ । तराईतिर ‘लू’ लाग्ने खतरा बढेको छ । वैशाखमा पानी परेकाले ठाउँ ठाउँमा मकै छर्ने काम भएको छ । कृषकहरु कृषि कर्ममा आफ्ना योजनाहरु बनाउँदै छन् । अध्ययनार्थ अमेरिका गएका तिमी र तिम्रा साथीहरुको अध्ययनमा सफलता मिलोस् भनी कामना गर्दछु ।
तिमीले यस पटक पठाएको स्मरणपत्र समयमै प्राप्त भयो । विदेशमा अध्यनार्थ बसेका समयमा पनि देशमा कहाँ के कुरा वा घटना घटेको छ भनी जानकारी चाहेकोमा धन्यवाद भन्न चाहन्छु । भाइ रमेश ! हाम्रो देश विशेष किसिमको छ । यहाँ हाम्रा नेताहरु जे गर्नुपर्ने हो त्यो गर्दैनन् । जे नगर्नु पर्ने हो त्यही गर्दछन् । हाम्रो देशमा उद्योग इलम कलकारखाना छैनन् ।
यहाँको मुख्य पेसा कृषि नै हो तर हाम्रा नेता वा सरकार कसैलाई पनि देशमा कति क्षेत्रफलमा धानको खेती हुन्छ ? कतिमा मकैको खेती हुन्छ । कति क्षेत्रफलमा गहुँको खेती हुन्छ भन्ने कुराको पनि हेक्का छैन । त्यसै कारण आज कयौँ वर्ष बित्दा पनि कृषकले समयमा रासायनिक मल कहिलै पाउन सकेका छैनन् । धेरे दिनसम्म कार्यालयमा धाएर पनि मल पाउन सक्दैनन् ।
कृषकका लागि यो भन्दा दुःखको कुरा के हुन सक्छ ? कहिलेकाहीँ हाम्रा सांसदहरुले रासायनिक मलखादको कारखाना खोल्ने कुराको चर्चा पनि चलाएको देखिन्छ तर मल कारखाना खोल्ने कुरा त्यसै सेलाएर जान्छ । सरकारको आडमा दलालहरुले रासायनिक मल कारखाना नेपालमा खोलेमा उत्पादित मल धेरै हुने हुँदा नेपाल बाहिर कहाँ बेच्ने हो वजार नै छैन भन्न पछि पर्दैनन् । कृषिप्रधान देशमा खाद्यान्न तोरी, मकै, गहुँसमेत देशले बाहिरबाट आयात गर्नुु परेको छ । यो भन्दा लज्जास्पद विषय के हुन सक्छ ।
भाइ रमेश ! हाम्रो देशमा अहिले एमाले र कांग्रेसको सत्ता छ । तर एक महिनाभन्दा बढी समय बित्दा पनि राष्ट्रबैंकको गभर्नर नियुक्ति हुन सकेको छैन । भागबन्डा नमिलेका कारण ढिलाइ भएको भन्ने कुरा बाहिर आएको छ । यदि यो कुरा सत्य हो भने देश उन्नतिमा होइन अब नतिमा जाने कुरा निश्चित देखिन्छ । किनभने योग्य व्यक्तिको होइन अयोग्य व्यक्तिकै चयन हुने निश्चित छ । गभर्नर हुनेले चार अर्बको थैली भेटी चढाउनुपर्छ भन्ने कुरा राजनीतिका विश्लेषकहरुले भन्दै आएका छन् ।
त्यति ठुलो भेटी चढाएर बनेका गभर्नरले त्यो पैसा त उठाउनै पर्ला । यसको योजना उनैसित होला । हुने गभर्नरसँग यो कुराको छिनोफानो गरौँला तर अहिले गभर्नर नियुक्त भइसकेका छन् । नियुक्ति सरकारले गरे पनि थैली भेट बिचौलियाबाट हुन्छ भन्छन्, कस्तो अचम्म ! सुस्त सुस्त यो कुरा बाहिर आउला । छिनोफानो होला ।
भाइ रमेश ! शिक्षातर्फ हेर्ने हो भने क्याम्पसहरुमा पढ्ने विद्यार्थी नपाइने स्थिति आइसक्यो । जेनतेन १२ कक्षा पढेपछि यहाँ काम पाइँदैन भन्दै सबै विद्यार्थी विदेश जान थालेको कुरा घाम जत्तिकै छर्लड्ग छ । यस पटक भएको शिक्षकको आन्दोलनले त झनै प्रभाव पारेको देखिन्छ, कतै विद्यालयमा त विद्यार्थी सङ्ख्या एकदमै कम हुनगएको देखिन्छ । बोर्डिङमा भर्ना हुनेको लर्को भयो । सामुदायिक विद्यालयमा हडतालले गर्दा विद्यार्थीको सङ्ख्या घट्न पुग्यो । हुन त यो हडताल बाध्य भएर शिक्षकहरुले गर्नु परेको हो ।
शिक्षकका माग पहिलेका सरकारले पूरा गरिदिएको भए यो समस्या आउने नै थिएन । बोर्डिङमा पनि भर्ना शुल्क आफूखुसी उठाउने गरेका छन् । सरकारले यसमा एकरुपता ल्याउनसकेको छैन । सरकारले बोर्डिङमा फिसमा एकरुपता आउनु पर्छ । सरकार छ भने यसमा एकरुपता हुनुपर्छ । सरकारी कर्मचारीहरुले आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउने नीति लागु हुनुपर्छ ।
भाइ रमेश ! सङ्क्षेपमा यहाँका समस्याहरु मैले यो पत्रमा राख्ने प्रयास गरेको छु । बाँकी कुरा अर्को पत्रमा लेख्ने वाचा गर्दै अहिलेलाइ बिदा ।