लमहीमा वडामै विवाद मिलाउन मेलमिलापकर्ता उत्पादन

प्रिया स्मृती गजमेर
देउखुरी, १० जेठ । लमही नगरपालिका–८ निम्बुखुट्टी निवासी यमकुमारी महरालाई गाउँघरमा झैझगडा भयो भने, कुलोपानीको विवाद भएमा के गर्ने, कहाँ गएर मिलाउने केही थाह थिएन । प्रायः छरछिमेकमा विवाद भयो भने प्रहरीकहाँ गएर मिलापत्र भएको सुन्थिन् ।

कहिलेकाहीँ जुन व्यक्ति आर्थिक र राजनीतिक रूपले बलियो हुन्छ उसैको पक्षमा फैसला हुने गरेको सुन्थिन् । आखिर मानिसले मानिसलाई किन यसरी विभेदपूर्ण व्यवहार गर्छन् भनेर उनी मनमनै सोच्ने गरेको बताउँछिन् । छिमेकी नै आपसमा मनमुटाव गरेर बसेको देख्दा यस्ता विवाद सधैँका लागि कहाँ गएर समाधान गर्न सकिन्छ होला भनेर सोच्ने गर्थिन् तर बुझ्ने अवसर पाएकी थिइनन् ।

यसैगरी पीडा र निराशाका कुरा सोच्दै आएकी महरालाई लमही नगरपालिकाले वडाका विवाद वडा तहमै समाधान गर्ने गरी मेलमिलापकर्ता उत्पादनसम्बन्धी आयोजना गरेको तालिममा सहभागी भएपछि विवाद समाधानका धेरै कुरा बुझ्ने अवसर प्राप्त भएको बताइन् ।

लमही बजारमा तरकारी पसल गरेर जीविकोपार्जन गर्दै आएकी लमही–१ सुनडबरी निवासी डालिका बिटालुले पनि मेलमिलापकर्ताको तालिम लिएपछि विवाद समाधानमा समन्वय गर्न सक्ने आँट पलाएको बताउँछिन् । पहिलो पटक विवाद मेलमिलापसम्बन्धी तालिम लिने अवसर मिलेको बताउँदै उनले तालिमले विवादलाई कसरी दुवै पक्षको चित्त बुझ्ने गरी मिलाउन सकिन्छ भनेर बुझ्ने अवसर मिलेको बताइन् ।

खेतबारीको सीमा मिचिँदा, विवादका कारण लामो समयसम्म छिमेकीले बोलीचाली बन्द गर्नेलगायतका घटना गाउँघरमा देखेको भन्दै उनले अब मेलमिलाका माध्यामबाट विवाद के, कसरी मिलाउने र कस्ता प्रकृतिका विवादमा मिलापत्र गराउन सकिन्छ भनेर बुझ्ने अवसर मिलेको बताइन् । तालिममा सहभागी लमही–९ निवासी श्रीराम दहितको अनुभव पनि उनीहरूको जस्तै छ । मेलमिलापकर्ताले कुन कुन विवाद छलफल गर्न पाउँछन्, क–कस्ता विवादमा मेलमिलापकर्ताले भाग लिन पाउँछन् भन्ने जस्ता जटिल विषयवस्तुबारे प्रस्ट भएको पत्रकार समेत रहेका दहितले बताए ।

मेलमिलापकर्ताको तालिम लिएको लामो समयपछि पुनः सहभागी हुन पाउँदा आफूलाई खुसी लागेको बताउँदै उनले अब स्थानीय सरकारले हरेक वडामा मेलमिलाप केन्द्र स्थापना गरेर वडाका विवाद वडामै समाधान गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । तालिम लिएपछि मेलमिलापकर्ताले पारिवारिक विवाद, पतिपत्नीबिचका झगडा, सम्बन्धविच्छेद, सम्पत्तिको बाँडफाँड, छरछिमेकबिचको झगडा, जातीय वा धार्मिक विवाद, ऋण–उधारोको झगडा, मालिक र कामदारबिचको झगडा, जमिन वा घरको सीमाना विवाद, सार्वजनिक सम्पत्तिको उपयोगसम्बन्धी विवादमा दुवै पक्षलाई छलफलमा बोलाएर दुवैलाई जितको महसुस हुने गरी मिलाउनुपर्ने सिकेको बताउँछन् ।

नगरमा अघिल्लो कार्यकालमा मेलमिलापकर्ता उत्पादन गरेर वडा तहमै विवाद मिलाउने प्रयास भएपछि जिम्मेवारी नदिँदा काम गर्न नपाएका मेलमिलाकर्तालाई पुनः एक हप्तासम्म मेलमिलापसम्बन्धी तालिम दिइएको हो ।

मेलमिलापकर्तालाई तालिम

लमहीमा आधारभूत मेलमिलापकर्ताका लागि आयोजना गरिएको आधारभूत मेलमिलापकर्ता तालिमको शुक्रवार समापन गरिएको छ । लमही नगरपालिका न्यायिक समितिको आयोजनामा भएको तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक लक्ष्मी योगीले मेलमिलापकर्ताको सक्रिय सहयोगले न्यायिक समितिमा दर्ता हुने विवाद समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

तालिमले मेलमिलापकर्तालाई व्यावहारिक ज्ञान, कानुनी बुझाइ र सहमतिको वातावरण निर्माण गर्ने सिप सिकाइएको उल्लेख गर्दै न्यायिक समितिले अब समुदायस्तरमै विवाद समाधानका प्रयास गर्ने बताइन् । न्यायिक समितिमा दिन प्रतिदिन विभिन्न प्रकृतिका विवाद आउने गरेको भन्दै न्यायिक समितिमा अब आउने विवाद वडामै मिल्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद शर्माले ग्रामीण क्षेत्रमा हुने झैझगडा मेलमिलापका माध्ययमबाट निरूपण गर्न तालिमको आयोजना गरिएको बताए । लमही नगरपालिकाका कानुनी सल्लाहकार तथा बरिष्ठ अधिवक्ता दीपककुमार रेग्मीले स्थानीयस्तरमै विवाद समाधान हुने वातावरण सिर्जना गर्न मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण रहेको बताए ।

तालिमले धेरै कुराको ज्ञान भएको र कानुनले दिएको क्षेत्रमा रहेर मेलमिलापकर्ताले मिलापको काम गर्न सक्ने बताए । २० जना सहभागी रहेको तालिमको प्रशिक्षकमा अधिवक्ता अर्जुनकुमार अधिकारी थिए ।