कविता : रात

यम रेग्मी

जब निस्पष्ट रात आउछ ।
तब निर्वत्ररूपमा एक हुल कीच कन्याहरू
मसानघरबाट एकाएक गरेर फुत्तफुत्त बाहिर निस्क्छ्न ।
रातभरि कोही बेढङ्गका गीतहरू गाउछन् ।
कोही बेढड्गका नित्यहरू देखाउँछन्।
कोही बेढङ्गले बाजाहरू ठटाउँछन्
कोही बेढङ्गले तालीहरू बजाउँछन् ।

अकाल पापको समुन्द्रमा डुबेर मरेका दुष्टआत्महरू
रमाइरमाइ हेर्छन् उनको घिन लाग्दो रत्यौली नाच ।
ध्यानपूर्वक सुन्छन् उनीहरूको अश्लिल संवाद र मख्ख पर्छन् ।

दिनमा लुकेर बसेका काला मनका काला चमेराहरू
आँखा खोल्छ्न र
अनेक प्रकारका काला व्यापार सुरुवाद गर्छन् ।
लाटाकोसेराहरूले नायक बनेर नाचमा सामेल हुन्छ्न ।
वाजहरूले परेवा माथि हमला गर्छन ।
स्यालहरू खित्का छोडेर हाँस्छन ।
जङ्गलका छाडा सिंहहरू सहर पस्छन् र क्षणभर भएरपनि
उत्पात मच्चाउछन् ।

यो सब देखेर पनि
यो सब बुझेर पनि
यो सब भोगेर पनि
खै किन होला ?

केही सभ्य मान्छेहरू यहाँ
रातकै पछि लागिरहेछन ।
रात नै भविष्य देखिरहेका छन् ।
रातकै जयजय गान गाइरहछन ।