बाँकेमा कोरोना संक्रमितकोे संख्या १६ जना

बाँके,२२ बैशाख । बाँकेमा कोरोना संक्रमितको संख्या १६ जना पुगेकाके छ । शुक्रवार भेटिएका ६० वर्षीय कोरोना भाइरस (कोभिड–१९ं) संक्रमितको सम्पर्कमा रहेका थप १५ जनामा संक्रमणको पुष्टि भएपछि नेपालगंजमा कोरोना संक्रमितको संख्या १६ जना पुगेको हो ।

मस्जिद र मदरसामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजान गर्ने ६० वर्षको व्यक्तिमा वैशाख १९ गते संक्रमणको पुष्टि भएको थियो । उनी वडा नम्बर ७ डीएसपी रोडका बासिन्दा हुन्, र हरेक दिन वडा नम्बर ८ को महेन्द्रपार्क नजिकको अन्सारी मस्जिद पुग्थे ।

साथै मुस्लिम समुदायको घरघरमा गएर बालबालिकालाई उर्दू भाषा र नमाज पढ्न सिकाउँथे । भारत आउ–जाउ गरिरहने उनी पछिल्लो पटक लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत ठाउँमा गएका थिए ।

संक्रमण पुष्टि भएकाले कन्ट्याक ट्रेसिङका क्रममा परिवारका सदस्य, आफन्त र महेन्द्र पार्कको मुस्लिम बस्तीका ९० जनाको थ्रोट स्वाब संकलन गरी भेरी अस्पतालस्थित पीसीआर ल्याबमा परीक्षण गरिएको थियो । त्यसमध्ये ३० वटा नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको थियो ।

आइतबार साँझ नै थप ३० जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

आइतबार कोभिड संक्रमण पुष्टि भएकामध्ये ८ पुरुष र ७ महिला छन् । उनीहरु ७ देखि ६० वर्षसम्मका छन् । उनीहरू सबै शुक्रबार कोभिड–१९ पोजेटिभ पुष्टि भएका ६० वर्षीय मौजिनको सम्पर्कमा आएकाहरु भएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले जानकारी दिएका छन् ।

थपिएका संक्रमितहरुलाई बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेनमा राखिनेछ ।

अहिले डीएसपी रोड क्षेत्र र एकलैनी क्षेत्र सिल गरिएको छ । साथै संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गरी सम्पर्कमा रहेकाहरुको खोजी थालिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।