टेकबहादुर पुन
देउखुरी,९जेठ । लमही नगरपालिका–३ मा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत तीन दिने वित्तीय साक्षरता सम्बन्धी तालिम सम्पन्न भएको छ ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम लमही नगरपालिका र ३ नम्बर वडा कार्यालयको सहकार्यमा तालिम सम्पन्न भएको हो । तालिममा २५ जना सहभागीले वित्तीय योजना, बचत, लगानी, ऋण व्यवस्थापन लगायतका विषयमा व्यवहारिक ज्ञान प्राप्त गरेका छन् । तालिमको समापन गर्दै ३ नम्बरका वडाध्यक्ष मनोज कुमार चौधरीले स्थानीयवासीलाई आर्थिक रूपमा सबल बनाउन यस्ता तालिमहरु अति आवश्यक रहेको बताए ।
‘अप्रवासनको चुनौतीसँग जुध्न र सुरक्षित वैदेशिक रोजगारीको वातावरण सिर्जना गर्न वित्तीय साक्षरता अनिवार्य छ’,उनले भने । तालिममा आफुले सिकेका सिपलाई ब्यबहारमा लागु गर्दै उद्यमी बन्नुपर्नेमा जोड दिए । उनले आर्थिक स्थितीमा सबल भएपछि परिवार र समाजसँग खुम्चिनुपर्ने बाध्यताको अन्त्य हुने बताए । कार्यक्रममा वडा सदस्य कृष्णा गिरीले महिलाहरुको आर्थिक सशक्तिकरणले मात्र समग्र समाजको विकास सम्भव हुने बताए ।
तीन दिनसम्म चलेको तालिममा सहभागीहरुलाई वित्तीय लक्ष्य कसरी निर्धारण गर्ने, पारिवारिक खर्च व्यवस्थापन कसरी गर्ने, ऋणको सही सदुपयोग, रोजगारीबाट आर्जन गरिएका रकमको सुरक्षित लगानीलगायतका विषयमा जानकारी गराईएको थियो । प्रशिक्षकले सहभागीलाई उदाहरणसहित कार्यशाला शैलीमा प्रशिक्षण दिएका थिए । कार्यक्रमकी सहभागी कुशलमाया शर्माले तालिमपछि आफूले पारिवारिक आर्थिक योजना बनाउन सक्ने आत्मविश्वास बढेको बताइन् । ‘अहिले लाग्यो, पैसा कमाउनु मात्र महत्वपूर्ण होइन, त्यसको व्यवस्थापन अझै महत्वपूर्ण रहेछ’, उनले भनिन् ।
सामी कार्यक्रमले वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु र उनीहरुको परिवारका सदस्यहरुलाई लक्षित गरी आर्थिक, सामाजिक र मनोसामाजिक पक्षमा सहयोग पु¥याउने उद्देश्यले यस्ता तालिमहरु आयोजना गर्दै आएको छ । सहभागीहरुलाई वित्तीय ज्ञान मात्र नभई आप्रवासनसँग सम्बन्धित जोखिम तथा त्यसको व्यवस्थापन सम्बन्धी जानकारी पनि दिईएको थियो । तालिमको प्रशिक्षिकाहरुमा बित्तिय साक्षरता सहजकर्ता मिना बस्नेत र मनो सामाजिक परामर्शकर्ता निमा भट्टराई रहेका थिए ।