गोरक्ष समाचारदाता
दाङ, ८ जेठ । दाङकी महिला उद्यमी प्रेमकुमारी पुनलाई ‘विजनेश वम्यान’ पुरस्कार प्रदान गरिएको छ । २०८२ वैशाख २४ गते काठमाडौंमा उनलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत भएकी पुनले नगद ५१ हजारसँगै सम्मानपत्र, ट्रफी प्राप्त गरेकी हुन् । एक प्रदेशबाट एक जना छनोट गरिएकामा लुम्बिनीबाट पुन पुरस्कृत भएकी हुन् ।
पुन यस अघि सरकारी तथा सामाजिक संघसंस्थाबाट सम्मानीत भइसकेकी छिन् । उनीसहित देश भरका ७ जना महिला उद्यमीलाई पुरस्कृत गरिएको थियो । प्रेमकुमारी घोराही उपमहानरपालिका–१४ मा विगत लामो समयदेखि अल्लो उद्योगसँग जोडिँदै आएकी छिन् । लामो समय शिक्षण पेसा गरेकी उनी ०६० सालदेखि अल्लोको धागो उत्पादन, धागोबाट तयारी कपडा बनाउनेसँगै कपडाको बजारीकरण गर्ने व्यवसाय गदै आएकी छिन् ।
तत्कालीन माओवादी र सरकारबिचको १० वर्षीय सशस्त्र द्वन्द्वको समयमा शिक्षण पेसा छोडेर रुकुमबाट घोराही झरेकी हुन् । घोराहीमा चिनारी महिला साझेदारी अल्लो उद्योग सञ्चालन गर्दै आएको छ । पुर्खाको पेसाका रूपमा रहेको अल्लो धागो उत्पादन गर्ने कामलाई व्यवसायीकरण गर्दै उद्योग स्थापना गरेको उनको भनाइ छ । पुनलाई अल्लोले आम्दानीसँगै पहिचानसमेत बनाइदिएको छ ।
‘सशस्त्र द्वन्द्वको समयमा गाउँमा बस्ने अवस्था नभएपछि शिक्षण पेसा छोडेर परिवारसँगै ज्यान जोगाउन दाङ आएका थियौँ तर के गरी बस्ने योजना थिएन’, उनले भनिन्, ‘घोराही आएपछि केही समय त्यसै बसँे ।
पछि सोच बनाए, पुर्खाले गर्ने गरेको अल्लोको धागो उत्पादन गर्ने काम गर्ने । त्यही अनुसार घोराहीमा सुरुमा धागो उत्पादनको काम सुरु गरेका थियौँ ।’ सुरुमा अल्लोबाट धागो उत्पादन गर्ने काम गरेकी उनले केही समयपछि व्यवसाय विस्तार गर्दै गार्मेन्ट स्थापना गरेर घोराहीमै अल्लो धागोबाट कपडा बनाउन थालेको बताइन् । ‘सुरुमा अल्लो धागो उत्पादन गर्ने र बाहिर पठाउने मात्रै गरेका थियौँ । केही समयपछि कपडा पनि उत्पादन गर्न थाल्यौँ’, प्रेमकुमारीले भनिन्, ‘कपडा उत्पादन गर्न थालेपछि गार्मेन्ट स्थापना गरेर अल्लो धागोबाट विभिन्न प्रकारका तयारी पोसाक बनाउन थालेका थियौँ ।’
अल्लोबाट उनले विभिन्न तयारी पोसाक कोट, स्टकोट, विभिन्न प्रकारका टोपी, पछ्यौरा, मगर जातिका पोसाक, गलबन्दी, जुत्ता, ब्याग, सल लगायतका कपडाहरू उत्पादन गर्दै आएको बताउँछिन् । लामो सङ्घर्षपछि आपूm उद्यमीको रूपमा स्थापित भएकी हुन् । उद्योगसँगै विभिन्न समयमा हुने मेला, महोत्सवमा अल्लोको धागोबाट बनाइएका पोसाकको राम्रो व्यापार हुने गरेको उनी बताउँछिन् ।
कोभिडभन्दा पहिले राम्रो आम्दानी भए पनि पछिल्लो समय व्यापार घट्दै गएको हुनको भनाइ छ । व्यवसायमा धेरै चुनौती रहेको उनका श्रीमान् देवप्रसाद पुन बताउँछन् । राज्यको नीतिका कारणले समस्या भएको उनको भनाइ छ । जङ्गलमा खेर जाने अल्लोसमेत सहज रूपमा ल्याउन नपाइने अवस्था रहेको उनले बताए । उद्योगमा लगानीका लागि सहज रूपमा ऋण नपाउने गरेको उनी बताउँछन् ।
सरोकारवालासँग छलफल
उद्यमी प्रेमकुमारी पुनले सञ्चारकर्मी तथा घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख, घरेलु उद्योग महासंघका अध्यक्षसँग छलफल गरेकी छिन् । कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख नोखिराम वलीले राज्यले उद्यमीलाई सहयोग गर्ने बताए । यसका लागि उद्यमीहरू सहकार्य गर्नुपर्ने बताए । उद्यमीले उत्पादन गरेका वस्तु एकै स्थानमा राख्ने व्यवस्था गर्नसके बजारीकरणमा सहज हुने उनको भनाइ थियो । त्यस अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, जिल्ला अध्यक्ष सन्तोष सुवेदीलगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण लक्ष्मी आचार्यले गरेकी थिइन् ।