वरिष्ठ पत्रकार पौडेलको निधनप्रति प्रेस युनियन लुम्बिनी प्रदेशद्वारा शोक व्यक्त

दाङ,७ बैशाख । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशले वरिष्ठ पत्रकार तथा प्रेस युनियन दाङ शाखाका संस्थापक सदस्य भेषराज पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।

पूर्व केन्द्रीय परामर्शदाता एवं स्वतन्त्रता सेनानी समेत रहेका ७५ वर्षीय पौडेलको २०८२ साल बैशाख २९ गते निधन भएको थियो। उनको निधनले प्रेस जगतमा अपूरणीय क्षति भएको युनियनले जनाएको छ।

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरिले बुधवार जारी गरेको शोक वक्तव्यमा स्वर्गीय पौडेलले पत्रकारिताको माध्यमबाट लोकतन्त्र र सामाजिक परिवर्तनमा पुर्‍याएको योगदान स्मरणीय रहेको उल्लेख गरिएको छ। उहाँले पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि सञ्चारक्षेत्रमार्फत खेलेको भूमिकालाई समेत युनियनले उच्च मूल्याङ्कन गरेको छ।

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशले स्वर्गीय पौडेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। मृतक पौडेल नेपाल प्रेस युनियन दाङका संस्थापक अध्यक्ष रामप्रसाद पौडेलका दाजु हुन् ।