मैले धेरै पढेकि छैन, तर धेरै परेकि महिला हुँ । महिला हुनुमा मलाई गर्व छ किनकि महिलाका समस्यालाई सहजीकरणको अभियानमा अझैपनि जोडिएकि छु । शैक्षिक योग्यताभन्दा पनि व्यवहारले मान्छेलाई परिपक्क बनाउँदो रहेछ । यस्तै परिवेशमा महिला दिदिबहिनीले चलाएको एउटा सहकारीमा जोडिएँ । मानपुर महिला साना किसान कृषि सहकारी संस्था संस्था लि. मा जोडिँदा मेरो सबैभन्दा खुसीको क्षण त्यही दिन थियो ।
प्युठानबाट बिहे भएर यहाँ आउँदा मैले देखेको र भोगेको समस्या भनेकै किसानलाई मल विउको समस्या र महिलालाई चुलोचौकोमा सीमित गर्ने अर्को प्रवृत्ति । त्यसैले पनि यी दुवै कुरालाई व्यवस्थापन गर्नुपर्ने छ भन्ने मलाई लाग्यो । त्यसमा मेरा श्रीमान्ले पनि हौस्याउनु भो । अनि म जोडिएँ २०६९ साल वैशाखमा म त्यो संस्थामा जोडिएँ । त्यो नै मेरो सबैभन्दा बढी खुसीको क्षण थियो, किनकि मैले त्यसमा केही हदसम्म सफलता पाएजस्तो लाग्यो । लेखिदिनुहोला मेरो खुसी मल विउमा सहजीकरण र संस्थागत सहुलियत ऋण पनि । त्यो दिन महिला र किसानको पाइला कोर्न सहास बटुलेकी थिएँ । म त्यो सहकारीमा जोडिनुमा सबैभन्दा पहिले छ मेरो घरपरिवारको आन्तिय मान्छे मेरो श्रीमान्लाई नै दिन चाहन्छु, । किनकि उहाँले नै मलाई यो अभियानमा जोडिन अहोरात्र हौसला दिइरहनुहुन्थ्यो । त्यसपछि मलाई यो सहकारीतामा जोडिन हरपल मलाई झक्झक्याउने अन्य अग्रजलाई पनि स्मरण गर्न चाहन्छु ।
म जोडिँदै गर्दा मल विउ पाइन्छ कि भनेर म त्यो संस्थामा जोडिनुको कारण थियो । कुनैबेला रासायनिक मलको अधिक्तम अभाव हुन्थ्यो । त्यहीबेला हामीहरू संस्थामार्फत् जागरुक भएका पनि थियौँ । हाम्रो
एउटै धेय थियो, कृषि प्रधान मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने अनि कृषिलाई व्यवसायीक पनि बनाउने र गुजारामुखी कृषिलाई निर्यातमुखी बनाउनेमा हाम्रो ध्यान थियो । लेखिदिनुहोला मेरो खुसी महिलालाई कृषि अभियानमा सहजीकरण । मैले पढेकि धेरै छैन, तर धेरै परेको छोरी बुहारी हँु म । महिलालाई स्वाभिमान बनाउनु मेरो दायित्व हो । त्यही भएर नै मैले मेरो खुसीमा मल र विउ अनि महिलालाई आत्मनिर्भरता पनि जोडेकि हँु ।
घोराहीको लक्ष्मीपुरमा जन्मिएकी शोभा बस्नेत अहिले तुलसीपुर उपमहानगरपालिका–१७ मंगरीमा स्थायी बसोबास गरेर मानपुरमा एउटा सहकारीको अध्यक्षको जिम्मेवारीमा पनि पुगेकी छिन् । भन्छिन्, खुसी भाग्यको खेल होइन, श्रमको र भिजनको प्रतिफल हो । त्यसैले मैले आम दिदिबहिनीलाई पनि यो भनिरहेकि छुकि काममा लाग प्रतिफल आउछ भनेर । शोभाले यो सहकारीको नेतृत्व गर्नुको प्रमुख कारण भनेको किसानमैत्री संस्थामार्फत् राज्यलाई दबाब दिनु थियो । त्यसैले उनी सामान्य शिक्षा लिएपनि कहिले कार्यसमिति सदस्य त कहिले पदाधिकारी हुँदै अहिले उक्त संस्थाको अध्यक्षको जिम्मेवारीमा छिन् ।
‘जब हामी यो सहकारीको नेतृत्वमा आयौँ, त्यो बेला हामीले किसान दिदिबहिनीकको घर–घरमा रासायनिक मलका बोरा झारिदिएका थियौँ’, त्यो बेला महिला किसानले पाउने खुसी नै मेरो खुसी हो, शोभाले भनिन् । किनकि किसानले मल नपाएर सिडिओ कार्यालयमा समेत धर्ना बस्नु पर्ने अवस्थ थियो त्यो बेला । अनि मल मात्र खुसी होइन । त्यो सहकारी संस्थाले सबैभन्दा बढी महिलालाई क्षित गरेर सहुलियत ऋण पनि प्रवाह गरेको छ । कसैलाई बेमौसमी तरकारी, कसैलाई बंगुर पालन त कसैलाई बाख्रापालनमा जोडेको छ । कुनैपनि शिर्षकमा भएको लगानी शंकास्पद ऋणको अवस्थामा नरहेको पनि उनले बताइन् । अहिले उनले नेतृत्व गरेको सहकारीमा कम्तिमा पनि ११ सय सदस्यहरू थिए ।
सबै लगानीकर्ता खुसी छन्प्रतिफल पाएर । कसैले कृषिमा लगानीको पूर्वाधार खोजिरहेका छन् । त्यसैले पनि मैले यो संस्थालाई चलायमान बनाउनका लागि अहिले पनि अहोरात्र खटिइरहेकि छु । यो भनाइ थियो शोभाको । शोभा बस्नेत एउटा सहकारी अभियन्ता मात्रै होइनन ् , सहकारीलाई उत्पादनमा जोड्दै ती उत्पादनलाई बजारीकरणमा पनि जोड्नुपर्ने उनका ध्येय रहेको छ । उनको खुसी भनेकै सहकारीमा आवद्ध एघार सय महिलाको खुसीसँग जोडिएको पनि छ । त्यो बेला मैले दिदिबहिनीको घर–घरमा मल पु¥याउदा कति खुसी हुन्थ्थे कति । अहिले मुलुकमा सहकारीको पैसा अपचलन भएकोमा उनी निकै गम्भीर छन् । उनको सहकारीमा रहेको ऋण कहिल्यै पनि शंकास्पद ऋण नहोस् भन्ने उनको चाहना छ ।
उनको सहकारीको उद्देश्य पनि महिलालाई आत्मनिर्भर बनाउँदै सहकारीतामार्फत् आयआर्जनमा जोड्नु पनि हो । तर कुनै बेला उनैले नेतृत्व गरेको किसान सहकारीले चाहिएको समयमा मल नपाउँदा कति कठिन यात्रा किसानले तय गर्नुपरेको थियो भन्ने शोभालाई थाहा छ तर अहिले भने त्यो समस्या छैन । आफ्ना सबै सदस्यलाई आवश्यक मल विउ उपलब्ध गराउन उनी तल्लीन पनि छिन् । शोभाको एउटै आकांक्षा भनेको देशमा कुनै न कुनै प्रकारको औद्योगिकरयाको विकाश पूर्वाधार हो । अहिले उनको परिवारले तुलसीपुर उपमहानगरपालिका–१७ मा गत्ता उद्योग पनि सञ्चालन गरेको छ । त्यसरी नै यहाँ गरिखाने उद्योग खोल्न शोभाको पनि सुझाव छ ।
नेपालभन्दा राम्रो कमाइ खाने अन्य मुलुक छैन, तर मेहनेत भने गर्न पर्छ भन्ने पनि शोभाको भनाइ थियो । शोभाले फेरि अर्को स्मरण गरिन् । खुसी भनेको त सबैभन्दा पहिले आत्मनिर्भर अनि स्वावलम्बन पनि । उनी भन्छिन्, ‘हाम्रो सहकार्य र सहकारीमा लागेका महिलाले श्रीमान्बाट दुई पैसा माग्नु पर्ने अवस्थाको अन्त भएको छ, यो आत्मनिर्भर्ताको कमाल हा’ शोभाले भनिन् ।
शोभाकै भनाइमा उनको अर्को खुसी भनेको उनका बलबहादुर बस्नेत हुन् रे । नाममै बलबहादुर, उनले श्रीमतीलाई सामाजिक अभियानमा जोड्न कहिल्यै अवरोध गरेनन्, सधै प्रोत्साहन गरिरहे । साथै शोभालाई यो सहकारीतामा जोडिनका लागि त्यो बेला महिला साना किसान सौडियार कर्मचारी रन्जु अधिकारी पनि हुन् । शोभा भन्छिन् रन्जु मेरो खुसी हुन् । उनले मलाई हौसला दिएर सहकारीको सञ्चालक समितिमा जानुस् भनेर प्रेरणा दिइन् ।
त्यसले मलाई आत्मबल पनि बढायो । त्यसैले त मैले मानपुर कृषि सहकारीको यो नेतृत्वमा छु । साथै शोभाले त्यही अभियानमा मलाई उत्साहित गर्ने पदमा आचार्यलाई पनि मैले स्मरण गर्न भुलिनन् । सहकारी भनेको सहकार्य हो, यसमा आवश्यक सल्लाह र सुझाव हरेक तह र तप्काबाट चाहिन्छ भन्ने पनि शोभालाई विश्वास छ । यो संस्थाको मुख्य उद्देश्य भनेको सिमान्तिृत समुदायलाई आयआर्जनमा लगाउने त्यो पनि कृषिमा लगाउने । उक्त सहकारीले नेपालको समृद्धि कृषिमा देखेको हो, त्यसपछि मात्रै औद्योगिकरण र पर्यटन हो तर पनि कृषिमा दाङ उर्वरभूमी हो ।
कृषिलाई अझैपनि उत्पादनशिल बनाएर कृषिमा आयात कम गर्न सकिन्छ भन्ने शोभाको सहकारीको एउटै ध्यय रहेको छ । लेखिदिनुहोला फेरि पनि मेरो खुसी कृषि र कृषिमा राष्ट्रलाई योगदान हो । त्यसैले त हामीले कृषिलाई शून्य व्याजमा र लघुउद्यमलाई सहुलियत व्याजमा लगानी गरेका छौँ ।
प्रस्तुती : खेमराज रिजाल